देउवा पक्षको बागमती प्रदेशस्तरीय भेला : एकताको वातावरण बिग्रँदै गएको निष्कर्ष

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशन पक्षधर (देउवा समूह)ले आन्तरिक एकताको वातावरण बिग्रँदै गएको निष्कर्ष निकालेको छ । समूहगत परामर्शविना प्रतिनिधित्वको नाममा केन्द्रीय समितिमा गरिएको मनोनयनले पार्टीको बृहत् एकताको वातावरण बिगार्ने काम गरेको भेलाको निष्कर्ष छ । सभापति गगन थापाले १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि इतर पक्ष रुष्ट बनेको छ ।

‘पार्टीमा विभिन्न विचार समूह छन् । समूहगत परामर्शविना प्रतिनिधित्वको नाममा केन्द्रीय समितिमा गरिएको मनोनयनले पार्टीको बृहत् एकताको वातावरण बिगार्ने काम गरेको छ । यस्ता गतिविधि तत्काल रोक्दै संवाद, सहमति र सहकार्यका आधारमा पार्टीको बृहत् एकता कायम गर्नु आजको आवश्यकता रहेको हाम्रो ठहर छ,’ देउवा समूहको बुधबार काठमाडौंमा आयोजित भेलाको निष्कर्ष छ ।

मंगलबार कोशीमा प्रदेशस्तरीय भेला गरेको १४औँ महाधिवेशन पक्षधरले बुधबार बागमती भेला गरेको हो । सातै प्रदेशमा भेला गर्न सो पक्षले नेताहरूलाई जिम्मेवारी दिएको छ । पार्टी सदस्यता अद्यावधिक गर्ने नाममा पहिले नै टुंगो लागिसकेका सदस्यतालाई पुनः विवादित बनाउनु पार्टीको हितमा हुन नसक्ने निष्कर्ष पनि भेलाले निकालेको छ । विधान संशोधन गरिएकोमा पनि देउवा पक्षले आपत्ति जनाएको छ । ‘विधान संशोधनको पार्टीमा स्थापित पद्धति छ । मनोमानी ढंगले विधान संशोधन कदापि स्वीकार्य विषय हुन सक्दैन,’ भेलाले भनेको छ । 

गत २३ र २४ को जेन–जी आन्दोलनपछि पार्टीभित्र वैचारिक स्पष्टता, सांगठनिक सक्रियता, आन्तरिक लोकतन्त्र, संगठनात्मक कार्यदिशा, नेतृत्व र कार्यकर्ताबिच गहिरो विश्वासको संकट पैदा भएको पनि दाबी गरेको छ । ‘आमनिर्वाचनमा हाम्रो पक्षमा राम्रो नतिजा नआएको तथा विशेष महाधिवेशनमा बहुसंख्यक प्रतिनिधिको सहभागिता नरहेको परिप्रेक्ष्यमा पार्टीभित्र देखिएका वैचारिक, सांगठनिक र नेतृत्वगत विषयहरूलाई खुला, लोकतान्त्रिक, पारदर्शी र संस्थागत छलफलमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप सशक्त, एकताबद्ध, समयसापेक्ष र जनअपेक्षाअनुकूल बनाउनु अपरिहार्य छ,’ भेलाले भनेको छ, ‘यसका लागि पूर्ण महासमितिको बैठक आयोजना गरी पार्टीको भावी दिशा, संगठनात्मक अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे साझा दृष्टिकोण निर्माण गर्नु आवश्यक छ ।’

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र र पूर्वमहासमिति बैठक माग 
देउवा पक्षको भेलाले १५औँ महाधिवेशनका लागि साझा संयन्त्र निर्माण गर्न माग गरेको छ । महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सहमतिको साझा संयन्त्र निर्माण गर्नु अपरिहार्य रहेको बागमती प्रदेशस्तरीय भेलाको निष्कर्ष छ । बागमती भेलाले पूर्वमहासमिति बैठक बोलाउन पनि माग गरेको छ । पार्टीको बृहत् एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्णमहासमितिको बैठक आयोजना गर्नु आवश्यक छ,’ भेलाको निष्कर्ष छ । भेलाले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गर्नुको कारण, प्रक्रिया र औचित्य पारदर्शी रूपमा स्पष्ट गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । ‘पार्टीभित्रका कुनै पनि निर्णय संस्थागत प्रक्रिया, पारदर्शिता, राजनीतिक आवश्यकता र सामूहिक हितका आधारमा हुनुपर्नेमा भेलाले जोड दिएको छ । प्रतिशोधको भावनाबाट प्रेरित देखिने निर्णयहरूले पार्टीको बृहत् एकता, आपसी विश्वास र सहकार्यमा समस्या सिर्जना गर्न सक्ने भएकाले त्यस्ता प्रवृत्तिबाट बच्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशमानको आरोप– फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजियो
कांग्रेस नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनका प्रतिनिधिको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी उनले दिए । ‘कांग्रेसको विधान–नियमअनुसार गर्नुपर्नेमा विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य भयो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? पार्टीमार्फत मुलुकको हितका लागि अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन,’ उनले भने । नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पक्षधरले पार्टीलाई एकताबद्ध बनाउने प्रयास नगरेको आरोप लगाए । उनले सबै पक्षको सहभागिताविना भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वले एकताबद्ध बनाउन नसक्ने दाबी गरे । महतले राजनीतिक रूपमा पार्टीलाई मिलाएर लैजानुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि साझा संयन्त्र बनाएर जानुपर्नेमा उनले जोड दिए । उनले कांग्रेसमा चुनौती थपिएको पनि बताए । नेता मोहन बस्नेतले सभापति गगन थापाले ‘हाइज्याक’ गरेर पार्टी कब्जा गरेको आरोप लगाए । थापासँग कुनै पनि हालतमा लत्रेर नजाने उनले बताए । ‘गगन थापा हाइज्याक गरेर पार्टी कब्जा गराइएको एउटा पात्र हुन् । त्यसकारण गलत तरिकाले लत्रेर, झुकेर, सबै साथीभाइको सहमति नभईकन जान्नँ । तपाईंहरूको साथमा सधैँभरि लड्नेछु, जसरी हिजो लडेको हुँ, त्योभन्दा बढी लड्नेछु,’ बस्नेतले भने । 

सुझावित समाचार