नेपाल आयल निगमका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. चण्डिकाप्रसाद भट्टले दुई वर्ष दुई महिनामा गरेका कामको फेहरिस्त सार्वजनिक गरेर बिदा लिएका छन्। भट्टले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा एक दर्जन कार्यसम्पादन भएका विवरण समावेश गरेका छन्।
उनले विगतको सञ्चित मुनाफा र मूल्यस्थिरीकरण कोषमा जम्मा भएको रकमबाट अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन नदिई उपभोक्तालाई राहत दिएको दाबी गरेका छन्। तर, उनकै कार्यकालमा पेट्रोलियम पदार्थको भाउ इतिहासमै सबैभन्दा महँगो भएको छ।
त्यस्तै, अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम सम्पन्न गरी पेट्रोलसमेत आयात नियमित भएको जानकारी दिएका छन्। असोज, ०८१ बाट पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टीतेल आउन थालेको हो।
भारतीय सहयोगमा निर्माण हुने गरी सम्झौता अघि बढेको अमलेखगन्ज–चितवन र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा भण्डारण टर्मिनलको काम सुरु भएको उनको प्रगति विवरणमा उल्लेख छ। झापामा जग्गा सम्याउने कार्य भर्खर सुरु भएको छ भने चितवनको लोथरमा जग्गा सम्याउने टेन्डर खुलेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ इन्धन डिपो स्थापना भएको छ। ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि हवाई इन्धन डिपो निर्माण नभएको कमजोर अवस्थामा मैले द्रुत गतिमा एभिएसन टर्बाइन फ्युल डिपो निर्माण गरी सञ्चालनमा ल्याउन सफल भएको छु,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।
धनगढी विमानस्थलमा हवाई इन्धन डिपो विस्तारको काम भर्खर सुरु भएको छ भने सुर्खेतमा इन्धन भण्डारण गृह निर्माणका लागि टेन्डर सम्झौता भएको छ। उनकै कार्यकालमा पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश जारी भएको छ।
कर्मचारीलाई विभिन्न विषयमा तालिम दिने, मध्यपूर्व युद्धका बाबजुद इन्धन आपूर्ति सहज बनाएको, डिजिटल प्रविधिलाई अवलम्बन गरेकोलगायत एक दर्जन उपलब्धि उनले सार्वजनिक गरेका छन्।
उनको कार्यकालमा ठुला परियोजनाको निर्माणले भने गति लिन सकेन। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिका तथा काठमाडौंको सिनामंगलमा नयाँ इन्धन डिपो बनाउन एक वर्षअघि नै डिपिआर तयार भए पनि काम नै सुरु भएको छैन। आगामी दसैँअघि नै झापा र चितवनको जग्गा तयार गरेर इन्डियन आयल कर्पोरेसनलाई ग्रिन फिल्ड टर्मिनल निर्माणको जिम्मेवारी दिनुपर्ने समझदारी भए पनि समयमै काम सुरु भएको छैन।
डिजिटल प्रविधिबाटै सबै भुक्तानी सुरु गर्ने योजना पनि रोकिएको छ भने मूल्यवृद्धिअघि ठुलो परिमाणमा इन्धन बिक्री गरेर आर्थिक लाभ लिएको विषय सार्वजनिक भइसकेको छ। त्यस्तै, पाइपलाइन भएको रुटमा समेत ट्यांकरबाट तेल ओसारेर संस्थालाई आर्थिक नोक्सानीमा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहितका उच्चपदस्थ कर्मचारीविरुद्ध छानबिन गरिरहेको छ।
उनले सरुवामा समेत बदनामी कमाएका छन्। कर्मचारी प्रशासन विनियमावलीअनुसार साना डिपोमा दरबन्दीअनुसार सरुवा गरेका उनले ठुला डिपोमा भने दरबन्दीअनुसार कर्मचारी खटाउन सकेनन्। त्यस्तै, हवाई इन्धन डिपोमा कर्मचारी सरुवा गर्दा दरबन्दी लागू गरेको दाबी गरे पनि आफ्नो सचिवालयका कर्मचारीलाई भने दरबन्दीविपरीत सरुवा गरेको सूची सार्वजनिक गरेका थिए।
उनले चैत दोस्रो साता सार्वजनिक बिदाको दिन चलाएको गाडी कलंकी चोकको डिभाइडरमा लगेर ठोकेका थिए। उक्त गाडीको मर्मत खर्चबापत ३० लाख रुपैयाँभन्दा बढीको बिल आएको निगम स्रोतले जानकारी दिएको छ।