त्रिदेशीय लिंकका रूपमा रहेको जोगमुनी–खाँदबारी–किमाथांका सडकखण्डअन्तर्गत च्याम्ताङदेखि घोङगप्पासम्मको १०.८१ किमि सडकको चट्टान फोरेर उत्तर–दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरेको छ । उत्तर–दक्षिण कोशी सडक कार्यालय प्रमुख रामबहादुर गुरुङले नेपाली सेनालाई दिएको जिम्मेवारीअनुसार काम सम्पन्न गरी औपचारिक रूपमा सडक कार्यालयलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार २५ माघ ०७७ मा खाँदबारी–किमाथांका सडकखण्डको सबैभन्दा अप्ठ्यारो र चट्टान भएको ठाउँ च्याम्ताङदेखि घोङघोप्पासम्म ट्रयाक खोल्न सेनालाई जिम्मा दिइएको थियो । उक्त सडकखण्ड भर्खरै मात्रै सेनाले सम्पन्न गरेकाले सडक कार्यालयलाई सोमबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो । सेनालाई त्यतिवेला दुई ठाउँको चट्टान फोर्ने जिम्मेवारी दिइएको थियो । अझै एक ठाउँमा चट्टान फोर्न नसकिने अवस्था छ, त्यो पनि सेनालाई दिनेसम्बन्धी फाइल रक्षा मन्त्रालय हुँदै अघि बढेको छ । ‘सरकारले सेनालाई जिम्मा दिएको खण्ड पुनः सेना आएर चट्टान फोर्नेछ, नभए सेना अहिलेलाई यहाँबाट बिदा भएर जानेछ,’ कार्यालय प्रमुख गुरुङले भने ।
खाँदबारी–किमाथांका सडकखण्डअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पा क्षेत्रको चट्टान फोरेसँगै केही ठाउँमा स्तरोन्नति गरेपछि खाँदबारीदेखि किमाथांकासम्म यातायात सहज हुने उत्तर–दक्षिण कोशी सडक कार्यालयले जनाएको छ । भोटखोला गाउँपालिका– २, च्याम्ताङदेखि भोटखोला गाउँपालिका– १, घोङगप्पासम्मको १०.८१ किमि सडकखण्ड अत्यन्तै अप्ठ्यारो र चट्टानले ट्रयाक खोल्न समस्या भएको थियो । भौगोलिक रूपमा अति विकट र काम गर्न कठिन सो काम नेपाली सेनाले पूरा गरेको हो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २२ भदौ ०७६ को मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।
यो त्रिदेशीय लिंक भारत–नेपाल–चीन जोड्ने सबैभन्दा छोटो तीन सय ९० किमि र मानवबस्ती भएको बाह्रै महिना चल्न सक्ने राजमार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो सडकले संखुवासभाको उत्तरी क्षेत्रलाई जोड्छ । खाँदबारी–किमाथांका सडकखण्ड १४ माघ ०८१ मा ‘ब्रेक थ्रु’समेत भइसकेको छ । अब खाँदबारीदेखि किमाथांकासम्म बाह्रै महिना सजिलैसँग यातायात जोड्न लागिपरेको उत्तर–दक्षिण कोशी सडक कार्यालय संखुवासभाले जनाएको छ । ०६५ सालमा खाँदबारीमा कार्यालय स्थापना भई किमाथांका खोल्ने सडक निर्माणको काम थालेको हो ।
किमाथांका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार–व्यावसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ ।