शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन गर्ने

बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो ।

महाभियोग र दुईतिहाइको डरबाट मुक्त हुन मल्लको आह्वान

कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले  महाभियोग र दुईतिहाइको डरबाट मुक्त हुन सबैलाई आह्वान गरेकी छिन् ।

शनिबार कानून दिवसको अवसरका भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन  हुन नसक्ने जिकिर गरिन् ।

उनले जतिसुकै काम गरे पनि त्यो संविधानको विरुद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने दाबी गरिन् । 

सरकारद्वारा बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । 

आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो । 

यस पोर्टलका माध्यमबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीतिनिर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण रायसुझाव सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन्।

ताप्लेजुङमा बेमौसमी हिमपात, पाथीभरा सेताम्मे

हिमाली जिल्ला ताप्लेजुङमा बेमौसमी हिमपात भएको छ । शुक्रबार रातिदेखि परेको वर्षासँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि पाथीभरा क्षेत्रसहित विभिन्न स्थान सेताम्मे बनेका छन् ।

स्थानीयका अनुसार मिल्के जलजले, मिक्वा खोलाको तोक्पेगोला–लोदेन क्षेत्र तथा मानाभरालगायतका उच्च भेगमा हिमपात भएको हो। पछिल्ला केही सातादेखि निरन्तर वर्षा भइरहेको ताप्लेजुङमा वैशाख महिनामै हिमपात हुनु अस्वाभाविक मानिएको छ ।

क्रियाशील सदस्यता ‘अपडेट’को काम नगर्नेलार्ई जिम्मेवारीबाट हटाउँछौँ : सभापति थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिको काम अगाडि नबढाउने कमिटीका पदाधिकारीलाई जिम्मेवारी हटाइने बताएका छन् ।

धनगढीमा आज काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यता ‘अपटेड’को काम नरोकिने प्रष्ट पारे । पार्टी सदस्यले आफ्नो सभापति र सभापति सदस्यसँग जोड्न सकियोस् भनेर प्रत्येक सदस्यको डिजिटल पहिचान राख्न खोजिएको उनले बताए । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने क्रियाशील सदस्यता अद्यावधिप्रति असहमित जनाउँदै आएको छ ।

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ को प्रशिक्षण (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले आफ्ना सांसदहरूलाई सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित प्रशिक्षण कार्यक्रमको ‘सक्षम सांसद, सशक्त संसद्’ नाम दिइएको छ ।

संसदीय अभ्यास तथा नेतृत्व विकासका लागि आफ्ना सांसदहरूलाई प्रशिक्षण दिइएको रास्वपाले जनाएको छ ।  पार्टी उपसभापति स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । प्रशिक्षण कार्यक्रम आइतबारसम्म चल्नेछ । 

सरकारले हटाउनुअघि नै खाद्य कम्पनीका महाप्रबन्धक आचार्यद्वारा राजीनामा

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक रमेश आचार्यले राजीनामा दिएका छन् । उनले केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राजीनामा बुझाएको स्रोतले जानकारी दियो । उनी सातादेखि कार्यालय पनि गएका छैनन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञसदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञसदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन, २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञसदस्य पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो ।

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ ।

‘विस्थापन होइन, व्यवस्थापन गर, नागरिकको उठिबास बन्द गर’

सरकारले अतिक्रमित सरकारी जग्गामा बनेका संरचना खाली गरेसँगै देशभर तरंग पैदा भएको छ। कोही चुपचाप सरकारको काम हेरिरहेका छन् भने कोही सरकारको तीव्र आलोचना गरिरहेका छन्। देशभरका विभिन्न ठाउँमा सरकारविरुद्ध प्रदर्शन पनि भइरहेका छन् ।

शनिबार श्रम संस्कृति पार्टी बागमती प्रदेशले माइतीघरमण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ। विस्थापन होइन, व्यवस्थापन गर, नागरिकको उठिबास बन्द गर, भूमिहीनलाई भूमि दे, गास बास र कपास हाम्रो अधिकारलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीले नारा लगाइरहेका छन् । 

स्थानीय तहको प्राथमिकतामा नपर्दा बर्दियाका तीन पालिका दमकलविहीन

स्थानीय तहको प्राथमिकतामा नपर्दा बर्दियाका तीन पालिका दमकलविहीन अवस्थामा रहेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकाको  प्राथमिकतामा नगर्दा पालिका दमकलविहीन अवस्थामा रहेका हुन् ।

सुझावित समाचार