उदयपुरमा चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा चार सय एक वटा सडक दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्यंक अनुसार जिल्लाका विभिन्न सडकमा भएका सवारी दुर्घटनामा परी ४१ जनाले ज्यान गुमाएका हुन् ।
कार्यालयका अनुसार उक्त दुर्घटनामा परी एक सय ३५ जना गम्भीर घाइते भएका छन् भने ६ सय ५ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख वरिष्ठ सई रमेश धमलाका अनुसार गत वैशाख २४ गतेसम्म २८ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना गम्भीर घाइते र ६२ जना सामान्य घाइते भएका छन्।
यस्तै, गएको चैत महिनामा २५ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, पाँच जना गम्भीर घाइते र ३८ जना सामान्य घाइते भएका छन् । फागुनमा ५४ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २१ जना गम्भीर घाइते र ९१ जना सामान्य घाइते भएका छन्।यसैगरी माघमा ३२ वटा दुर्घटनामा पाँच जनाको मृत्यु, १४ जना गम्भीर घाइते र ३३ जना सामान्य घाइते भएका छन्। पुस महिनामा ४१ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १७ जना गम्भीर घाइते र ६० जना सामान्य घाइते भएका छन् ।
मंसिरमा ५३ वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १९ जना गम्भीर घाइते र ५८ जना सामान्य घाइते भएका छन् ।कात्तिकमा ४५ वटा दुर्घटनामा पाँच जनाको मृत्यु, १७ जना गम्भीर घाइते र ७५ जना सामान्य घाइते भएका छन्। असोजमा ५४ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १७ जना गम्भीर घाइते र ९३ जना सामान्य घाइते भएका छन्। भदौमा ३२ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १२ जना गम्भीर घाइते र ५७ जना सामान्य घाइते भएका छन्। ट्राफिक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको सुरुवाती महिना साउनमा ३७ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ जना गम्भीर घाइते र ५७ जना सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लामा हुने कुल सवारी दुर्घटनामध्ये करिब ७८ प्रतिशत दुर्घटना मदन भण्डारी लोकमार्गमै हुने गरेका छन् । निमित्त प्रमुख धमला भन्छन्, ‘प्रत्येक वर्ष जिल्लामा हुने कुल दुर्घटनाको तथ्यांक हेर्दा ७५ देखि ७८ प्रतिशतसम्म दुर्घटना मदन भण्डारी लोकमार्गमै हुने गरेको छ ।’ गत आर्थिक वर्ष २०८१/०८२ मा उदयपुरमा ३ सय वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा ८७ जना गम्भीर घाइते र ५ सय ५२ जना सामान्य घाइते भएका थिए ।