बाराको परवानीपुर गाउँपालिका– ३ परवानीपुर बजारमा ट्याक्टरबाट माटो खसाउने क्रममा एक युवकको माटोले च्यापिएर मृत्यु भएको थियो । प्रहरीले उक्त ट्याक्टरका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना.५ त ३०११ ट्याक्टर चालक वीरगन्ज महानगरपालिका-२१ का ५० वर्षीय काशी महतो तत्मा रहेको बारा प्रहरीले जनाएको छ।
गत आइतबार स्थानीय रामबाबु रौनियारको जग्गामा ट्याक्टरले रातिको समयमा माटो खसाउने क्रममा माटोले पुरिएर प्लाष्टिक टिप्ने युवकको मृत्यु भएको थियो ।प्रहरीका अनुसार आइतबार रातिको समयमा खाली जग्गामा माटो खसाउने क्रममा प्लाष्टिक टिपेर जीविकोपार्जन गर्ने बाराको परवानीपुर गाउँपालिका-५ नौतन निवासी ३८ वर्षीय दु:खी महतो बिनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्याक्टरबाट माटाे खसाउने क्रममा माटाेले च्यापेर महताेकाे मृत्यु भएको जस्तो देखिएकाले सिसिटिभीको मद्दतले अनुसन्धान प्रक्रिया अगाडि बढेपछी ट्याक्टर चालक तत्मा पक्राउ परेका हुन् ।
मृतक युवक भेटिएको घटनास्थलमा पुगेको प्रहरी टोलीले ट्याक्टरका चालक तत्मालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया पनि अगाडि बढाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार मृतक युवक च्यापिएपछि घटनास्थलबाट केही अगाडि शवलाई राखिएकाले घटनामा अन्यको पनि संलग्नता रहेको भन्दै अनुसन्धान प्रक्रिया बढेको छ ।