कर्णाली प्रदेशभर ७९ स्थानीय तहका १८९ कर्मचारीको जिम्मेवारी हेरफेर

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वैशाख २४ गतेको निर्णयअनुसार प्रदेशभरका ७९ स्थानीय तहमा कार्यरत १८९ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा सूचीमा चौथो तहदेखि आठौँ तहसम्मका कर्मचारी समावेश छन्। प्रदेशका १० वटै जिल्लामा कार्यरत प्रशासन, इन्जिनियरिङ तथा शिक्षा सेवाका कर्मचारीलाई नयाँ कार्यस्थल तोकिएको जनाइएको छ।

प्रदेश सरकारले लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीको व्यवस्थापन, सेवा प्रवाहमा सुधार तथा जनशक्ति सन्तुलन कायम गर्ने उद्देश्यले सरुवा गरिएको जनाएको छ। सरुवा भएका कर्मचारीमध्ये धेरैजसो दुर्गम क्षेत्रमा लामो समयदेखि कार्यरत कर्मचारी सुगम क्षेत्रमा जान पाएका छन् भने केही कर्मचारीलाई पुनः दुर्गम पालिकामा खटाइएको छ।

आर्थिक वर्षको अन्तिम चरणमा गरिएको यो सरुवाले कतिपय स्थानीय तहको कार्यसम्पादनमा असर पार्ने अनुमान गरिएको छ। विशेषगरी प्राविधिक तथा प्रशासनिक जनशक्ति फेरबदल हुँदा विकास निर्माण, शिक्षा तथा दैनिक प्रशासनिक कामकाज प्रभावित हुन सक्ने स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। प्रदेश सरकारका अनुसार सरुवा प्रक्रिया कर्मचारी व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन गरिएको हो।

सुझावित समाचार