अमेरिकाका विदेशमन्त्री मार्को रुबियो पोप लियो चौधौँलाई भेट्न भ्याटिकन पुगेका छन् । रुबियोको भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको बारम्बार आलोचना गरेपछि भ्याटिकनसँग बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासका रूपमा हेरिएको छ । पोप र रुबियोबिच बिहीबार लगभग आधा घण्टा गोप्य भेटवार्ता भयो । त्यसपछि रुबियोले आफ्ना भ्याटिकनका विदेश मामिला हेर्ने कार्डिनल पिएट्रो पारोलिनलाई भेटे ।
रुबियो र पोपबिचको भेट भ्याटिकन प्रमुख र ट्रम्प सरकारका अधिकारीबिच एक वर्षपछिको पहिलो ज्ञात भेट हो । पारोलिनका अनुसार यो बैठक अमेरिकाको अनुरोधमा भएको हो । तथापि, पोप लियोले रुबियोका कुरा ध्यानपूर्वक सुनेका थिए । पछिल्लो केही समययता ट्रम्प र पोप लियोबिचको सम्बन्ध तीव्र गतिमा बिग्रिएको देखियो ।
पोपले इरानमाथिको अमेरका–इजरायल युद्धको खुलेर आलोचना गरेपछि ट्रम्पले पोपमाथि सार्वजनिक आलोचना गरे । तथापि, ट्रम्पको आलोचनाले अमेरिकी क्रिस्चियन मतदाताको एक हिस्सा रुष्ट भएको आशंका गरिएको छ । यसले नजिकिँदै गरेको मध्यावधि चुनावमा असर पर्ने चिन्ताका कारण ह्वाइट हाउसले क्षति व्यवस्थापन गर्ने प्रयास सुरु गरेको छ ।
ट्रम्पको पोपविरुद्धको सबैभन्दा पछिल्लो आलोचना सोमबार भयो, जब उनले पोपमाथि इरान युद्धको विरोध गरेर ‘कैयन क्याथोलिकलाई खतरामा पारेको’ आरोप लगाउँदै पोपले इरानसँग आणविक हतियार भए पनि केही नहुने भनेको बताए । तथापि, पोप लियोले क्याथोलिक चर्चले सबै आणविक हतियारलाई अनैतिक मान्ने भन्दै ट्रम्पको आरोप अस्वीकार गरे । ‘चर्चको मिसन सुसमाचार प्रचार गर्नु हो, शान्ति प्रचार गर्नु,’ पोपले भने, ‘चर्चले वर्षौंदेखि सबै खालको आणविक हतियारको विरुद्धमा बोल्दै आएको छ ।’