बागमती प्रदेशमा आज ‘भाषा दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयनमा आएको दिनको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ। भाषा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका छन्। मुख्यमन्त्री बानियाँले भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएको उल्लेख गरेका छन्।
उनले बागमती प्रदेश बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विशेषता बोकेको प्रदेश भएकाले यहाँ बोलिने सबै भाषाको सम्मान र संरक्षण आवश्यक रहेको बताएका हुन्। ‘मातृभाषाको संरक्षण गर्नु भनेको आफ्नो इतिहास, संस्कृति र पहिचानको रक्षा गर्नु हो,’ शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन्, ‘प्रदेश सरकारले सरकारी कामकाजमा स्थानीय भाषाको प्रयोग र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था गर्दै आएको छ ।’
मुख्यमन्त्री बानियाँले संविधानले सुनिश्चित गरेको भाषिक अधिकारको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन्। भाषा दिवसले भाषिक विविधताको सम्मान गर्दै सामाजिक सदभाव र सहअस्तित्वलाई थप मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन्। बागमती प्रदेश सरकारले ‘सरकारी कामकाजी भाषा ऐन, २०७९’ कार्यान्वयनमा आएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज प्रदेशभरका सरकारी कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा रूपमा प्रयोगमा ल्याउने निर्णय गरेपछि भाषा दिवस मनाउन थालिएको हो। प्रदेशका विभिन्न जिल्लामा आज भाषा, साहित्य, संस्कृति तथा पहिचानसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गरिँदै छ।