- दोस्रो अधिवेशनको मुख्य बिजनेस आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नु भए पनि हालै जारी आठ अध्यादेश पेस हुने र ४५ विधेयक पनि आउने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बर्खे (बजेट) अधिवेशन आह्वान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २८ वैशाख दिउँसो २ बजे बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । यसअघि आह्वान भइसकेको अधिवेशन स्थगन गरेर सरकारले अध्यादेशहरू ल्याएको छ ।
२३ र २४ भदौको जेन–जी आन्दोलनपछि २१ फागुनबाट आएको प्रतिनिधिसभाको यो दोस्रो अधिवेशन हो । यसअघि १९ चैतमा सुरु भई पहिलो अधिवेशन २७ चैतमा अन्त्य भएको थियो । पहिलो अधिवेशनमा सभामुख, उपसभामुख, समिति सभापतिहरूको निर्वाचन, संसदीय दलको गठन र पदाधिकारी चयनका काम भएका थिए ।
संसद् सचिवालयका अनुसार दोस्रो अधिवेशनको मुख्य बिजनेस आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नु हो । सचिवालयका प्रवक्ता एकराम गिरीले बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमार्फत दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन हुने बताए । वाचन भएको सम्बोधन र नीति तथा कार्यक्रम दुवै सभामा छुट्टाछुट्टै टेबुल हुनेछ ।
यसैगरी, अधिवेशनमा सरकारले ल्याएका आठवटा अध्यादेश पनि पेस हुनेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू संसद्मा पेस गरिने बताइन् । उनका अनुसार सरकारले द्रुत गतिमा प्रभावकारी काम गर्न आठवटा अध्यादेश ल्याएको हो । जसमा सहकारी (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ रहेको छ । कानुन मन्त्रालयका अनुसार यो अधिवेशनमा ४५ वटा विधेयक ल्याउने तयारी छ । जसमा संविधान कार्यान्वयनदेखि सेवाप्रवाहसम्म अति जरुरी विधेयकहरू छन् । विधेयकहरू ल्याउन सम्बन्धित मन्त्रीहरूसँग परामर्श गरिरहेको कानुनमन्त्री गौतमले बताइन् ।