असार र साउनको रोपाइँमा करिब दुई लाख टन अनुदानबापतको रासायनिक मलको माग हुने गरेको छ । तर, कृषि सामग्री र साल्ट ट्रेडिङको गोदाममा अहिले एक लाख ४७ हजार टन मात्रै मौज्दात रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
गोदाममा रहेको मल अहिले नियमित रूपमा बिक्री भइरहेका कारण असार–साउनमा माग बढ्ने वेलामा आपूर्ति सहज गर्न कठिन हुने अवस्था छ । कृषि मन्त्रालयका अनुसार रोपाइँको समयमा एक लाख २० हजार टन युरिया र ८० हजार टन डिएपी आवश्यक पर्छ । सरकारको गोदामा अहिले ९५ हजार टन युरिया र ५२ हजार टन डिएपी मौज्दात रहेको छ ।
मन्त्रालयका अनुसार कृषि सामग्रीको गोदाममा ७७ हजार युरिया र २३ हजार डिएपी गरेर एक लाख टन मौज्दात छ । त्यस्तै, पोटास १४ हजार टन मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ। साल्ट ट्रेडिङसँग २९ हजार डिएपी र १८ हजार टन युरिया मौज्दात रहेको छ ।
नियमित रूपमा वितरण गरिरहनुपर्ने भएकाले अहिलेको मौज्दात असार–साउनमा घट्ने कृषि सामग्रीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । ‘नियमित वितरण गर्दा असार–साउनको माग धान्नलाई अहिलेको मौज्दात परिमाण केही कम हुन सक्छ,’ उनले भने, ‘त्यसैले जिटुजीमार्फत भारतबाट तत्काल मल ल्याउने निर्णय भएको हो । भारतबाट जतिसक्दो छिटो मल ल्याउन सबै संयन्त्र प्रयोग गर्नेछौँ ।’