होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै, छात्रावासमा बस्न ३० जना इच्छुक

शिक्षा विभागले विद्यार्थी र अभिभावकसँग परामर्श गरेर शैक्षिक क्रियाकलापको निरन्तरता सम्बन्धी कार्यक्रम बनाउँदै

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले  विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय बालबालिका रहेको ठाउँबाट पैदल दूरीमा छ ।

नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा बसेका छन् । उनीहरूमध्ये अपांगता भएका एकजनासहित ६२ जना पुरुष, तीनजना सुत्केरी र दुईजना गर्भवतीसहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक छन् ।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका छन्  । चारजनाले यस वर्ष एसइई दिएका छन् । उनीहरू कम्प्युटर, सिलाइबुनाइजस्ता सिप सिक्न चाहन्छन् । काठमाडाैं महानगरपालिकाले उनीहरूले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए । 

छात्रावासमा बस्न ३० जना इच्छुक

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्रावासमा राखेर पढाउने चाहना राखेका छन् । अभिभावकको चाहना बुझ्न भराइएको फाराममा पाँचजना छात्रा र ६ जना छात्रले छात्रावासमा बस्न अनिच्छा व्यक्त गरेका छन् । अन्य अभिभावकबाट स्पष्ट धारणा प्राप्त हुन सकेको छैन । शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्रावास बस्न इच्छुकहरूमा ११ जना छात्रा र १९ जना छात्र छन् । सुवेदीका अनुसार विद्यार्थीहरूलाई आवश्यक पर्ने पोसाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्यकतासमेत माग गरिएको छ ।

छात्रावासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरेका छौँ । महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्रावासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यहीअनुरूप व्यवस्थापनको प्रयास गरिरहेका छौँ । निजी तथा संस्थागत विद्यालयहरूबाट खबर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्रावास पठाउँछौँ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एन प्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।

उनको आग्रहपछि बैठक बसेर हाइयर इन्स्टिच्युसन्स एन्ड सेकेन्डरी स्कुल्स एसाेसिएसन (हिसान), प्राइभेट एन्ड बाेर्डिङ स्कुल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (एनप्याब्सन) र एसाेसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (एपेन)ले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुमवासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन, सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका छन् ।

यसरी जारी गरिएको विज्ञप्तिमा संस्थाका अध्यक्षहरू क्रमशः युवराज शर्मा, कृष्णप्रसाद अधिकारी, सुवास न्यौपाने र बद्रीप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । 

सुझावित समाचार