निजी क्षेत्रलाई रास्वपा सभापति रवि लामिछानेले भने–‘ढुक्क भएर उद्योग–व्यापार गर्नुहोस्, दुःख दिन चाहँदैनौँ’

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर आफ्ना उद्योग–व्यवसाय गर्न आग्रह गरेका छन् । सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति निजी क्षेत्र सशंकित भएको जस्तो देखिएको भन्दै नडराउन र नआत्तिन आग्रह गरेका हुन् । 

काठमाडौंमा निजी क्षेत्रका संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका प्रतिनिधिसँग आइतबार छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् । 

निजी क्षेत्रका प्रतिनिधिहरूको चासो सुनेपछि सभापति लामिछानेले भने, ‘निजी क्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने, आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।’ 

सभापति लामिछानेले केही व्यवसायीहरू तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको स्पष्ट पारे । ‘यसलाई वेलैमा नियन्त्रण गर्न आवश्यक छ, सरकारले अहिले यही गरेको हो,’ उनले भने, ‘धरपकडका विषयमा म तपाईंहरूलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौँ । यसमा केही असहज हुन सक्छ ।’ सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रास्वपाले बनाइसकेको पनि बताए ।

लामिछानेले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीले आफ्नो घर र पार्टी कार्यालय धाउनैनपर्ने पनि स्पष्ट पारे । ‘तपाईंले मलाई, मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला । तर, हामी तपाईंहरूलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौँ,’ उनले भने । 

पछिल्लो समय सम्पत्ति शुद्धीकरण, ठगीलगायतका कसुरमा केही उद्योगी–व्यवसायी पक्राउ परेपछि निजी क्षेत्रले व्यवसायीमाथि धरपकड नगर्न सरकारसँग माग गर्दै आइरहेको छ । छलफलमा सहभागी उद्योगी–व्यवसायीले सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न आवश्यक रहेको औँल्याए । उनीहरूले निजी क्षेत्रसँग संवाद र सहकार्य गर्न सुझावसमेत दिए । 

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएको बताउँदै निजी क्षत्रेलाई सहज रूपमा काम गर्न दिन आग्रह गरे । ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ, निजी क्षेत्र हरेक आन्दोलनको मुख्य निसानामा परिरहेको छ । यसो हुनुहुँदैन भन्ने हाम्रो माग हो,’ उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने जुन प्रयास गरिएको छ, त्यसले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे । आगामी बजेटमा यसबारे ध्यान दिन पनि उनले सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको वर्तमान रास्वपा सरकारसँग ठुलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए । निजी क्षेत्रलाई समेटेर जाने हो भने १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको पनि उनको भनाइ थियो ।

सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डिराज ढकालले सरकारको पछिल्लो गतिविधिले सशंकित बनाएको बताए । ‘निजी क्षेत्रलाई हतोसाहित गर्ने, थुन्ने, धरपकड गर्ने कार्य राम्रो भएको छैन । पहिला सुन्ने अनि थुन्ने नीतिमा सरकार अघि जाओस् भन्ने हाम्रो माग छ,’ उनले भने । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई थुन्ने अनि सुन्ने कानुनमा पुनर्विचार गर्न आवश्यक रहेको बताए ।

महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले अहिलेको सरकारसँग मिलेर काम गर्न तयार रहेको भन्दै उद्योगी–व्यवसायीलाई सरकारले साथमा लिनुपर्ने बताए । सरकारले आफ्ना समस्या, जटिलता बुझोस् र आवश्यक सहजीकरण गरोस् भन्ने स्वदेशी तथा विदेशी लगानीकर्ताले चाहेको उनले बताए ।

महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले उद्योगी–व्यवसायी भ्रष्टाचारको पक्षमा नभएको स्पष्ट पार्दै निजी व्यवसायीमाथिको धरपकडले भने चिन्तित तुल्याएको बताए । वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा आनन्दराज मुल्मी, पवन गोल्यान, गौरव पाण्डे, जुना माथेमा, शशिकान्त अग्रवाल, वरुण चौधरीलगायत उद्योगी–व्यवसायीको उपस्थिति थियो । 

उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्समा आबद्ध उद्योगीलाई भेला गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने–निजी क्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने, आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीलाई कुनै खालको दुःख दिन चाहँदैनौँ । यसलाई वेलैमा नियन्त्रण गर्न आवश्यक छ, सरकारले अहिले यही गरेको हो । धरपकडका विषयमा म तपाईंहरूलाई स्पष्ट भन्छु– हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौँ । यसमा केही असहज हुन सक्छ । तपाईंले मलाई, मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । 

सुझावित समाचार