केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) ल्याउने भएको छ । कम्पनीले आइपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो । यो चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालक पनि हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीले चितवनको सौराहामा कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।
केटिएम हस्पिटालिटी सुरुमा प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो । ०८१ असार २५ गते यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले आफ्नो परियोजनाको पुँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋणभार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आइपिओ जारी गर्न लागेको जनाएको छ । चितवनको राप्ती नदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठा छन् । रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याडजस्ता सुविधा छन् ।