इरान युद्धले बढ्दै छ औषधिको मूल्य

कच्चा पदार्थको भाउ बढेसँगै औषधिको मूल्यमा उच्च वृद्धि भएको छ

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

इरानमाथि अमेरिका र इजरायलको युद्धले विश्वव्यापी रूपमा लगभग सबै चिजको मूल्यवृद्धि गरेको छ । युद्धको सुरुवाती दिनमा तेल, ग्यास र मलको आपूर्ति यस संकटको मुख्य सिकार बन्यो । तथापि, पछिल्ला दिनमा युद्धको परिणामस्वरूप औषधि र कन्डमजस्ता गर्भनिरोधकको मूल्यमा तीव्र वृद्धि भएको औषधि व्यवसायीले उल्लेख गरेका छन् । उदाहरणका लागि, संयुक्त अधिराज्यमा फार्मेसीले ‘ओभर–द–काउन्टर’ औषधि (प्रेसक्रिप्सनविना पनि किन्न सकिने औषधि)को लागि २० देखि ३० प्रतिशत बढी शुल्क लिइरहेका छन् । 

सामान्य दुखाइ निवारक पारासिटामोलको मूल्यसमेत चार गुणाभन्दा धेरैले बढेको छ । भारतमा, रसायनविज्ञले सामान्य दुखाइ निवारकको मूल्य ९६ प्रतिशतसम्म बढेको बताइरहेका छन् । हामी मूल्यवृद्धिको पछाडिको कारण र यसले विश्वका विभिन्न देशलाई कति नराम्रो असर पार्नेछ भनेर यहाँ विश्लेषण गर्ने प्रयास गरिरहेका छौँ ।

किन बढ्यो औषधिको मूल्य ?
युद्धको सुरुवाती दिनदेखि नै इरानले अन्तर्राष्ट्रिय पारवहनको प्रमुख जलमार्ग हर्मुज अवरुद्ध गरेको छ, जसबाट विश्वको २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति शान्तिकालमा ढुवानी गरिन्थ्यो । यसले तेल आपूर्तिमा निर्भर औषधि आपूर्ति शृंखलालाई पनि अवरुद्ध गरेको विज्ञहरू बताउँछन् । हर्मुज अवरोधको विरोधमा अमेरिकी नौसेनाले इरानी बन्दरगाहमाथि नाकाबन्दी लगाएको छ । जवाफमा इरानले खोलिसकेको सो समुद्री मार्ग फेरि बन्द गरेपछि अवस्था पेचिलो बनेको छ । यद्यपि, पछिल्ला दिनमा अमेरिकाले प्रतिबन्ध हटाएमा उक्त जलमार्ग खोल्न सकिने संकेत इरानले गरेको छ ।

‘औषधिहरू दुवै पेट्रोकेमिकल (पेट्रोलियम वा प्राकृतिक ग्यासबाट प्राप्त कुनै पनि यौगिक) फिडस्टक (आपूर्ति गरिएका कच्चा वा प्रशोधित सामग्री)सँग जोडिएका छन्, जसको ठुलो हिस्सा फारसी खाडीबाट प्राप्त हुन्छ,’ मिडलइस्ट काउन्सिल अन ग्लोबल अफेयर्सका गैरआवासीय वरिष्ठ व्याख्यता फ्रेडरिक स्नाइडरले भने ।

यसबाहेक, औषधि उत्पादनका लागि केही रसद मार्ग (पूर्वी एसिया र युरोपबिचको मार्ग) खाडीमा विशेषगरी दुबईमा महत्वपूर्ण समुद्री र हवाई ट्रान्ससिपमेन्ट (ढुवानीका लागि एक सवारी साधनबाट अर्को सवारी साधनमा स्थानान्तरण) स्टप छन् । औषधि उत्पादनलाई अटुट कोल्ड चेन र विशेष ह्यान्डलिङ चाहिन्छ, तर युद्धको कारणले गर्दा दुवै अवस्था अवरुद्ध छन् ।

औषधि आपूर्ति शृंखला तत्काल खतरामा नभए पनि औषधि हवाई रसदको अत्यधिक जोखिममा रहेका बेल्जियमको एन्टवर्प विश्वविद्यालयका प्राध्यापक तथा औषधि रसदका विज्ञ वाउटर डेउल्फले चेतावनी दिए । इरानमाथिको अमेरिका–इजरायल युद्धले एयरलाइन्सका लागि गम्भीर अवरोध निम्त्याएको छ, जसमा व्यापक रूपमा हवाई रद्द, हवाई क्षेत्र बन्द र जेट इन्धन संकटलगायत छन् ।

‘३५ प्रतिशत औषधि हवाई मार्गबाट ओसारपसार हुन्छन् र लगभग ९० प्रतिशत महत्वपूर्ण वा जीवन बचाउने औषधि र खोप सोही मार्गबाट एक देशबाट अर्को देश/क्षेत्रमा लगिन्छ । मेरो अनुमान छ कि विश्वव्यापी हवाई कार्गो प्रवाहको २२ प्रतिशत सामग्रीले मध्यपूर्व अवरोधको सामना गर्नुपरेको छ,’ डेउल्फले भने, ‘त्यसैले अहिलेको लागि मुख्य विश्वव्यापी प्रभाव औषधिको विश्वव्यापी भौतिक अभावको सट्टा ढिलाइ, पुनः मार्ग (रिरुट) र उच्च लागत हो ।’

विशेषगरी, पूर्वपश्चिम कोरिडोरमा हवाई कार्गो भाडामा वृद्धि भएको कारणले औषधिमा केही सामान्य मूल्यवृद्धि हुन सक्छ । नगण्य मार्जिन भएका औषधिको मूल्यमा सापेक्षिक वृद्धि बढी हुन सक्छ ।

बेलायत र भारतका औषधि पसलले टाउको दुखाइ र फ्लुको उपचार गर्न सामान्यतया प्रयोग गरिने प्यारासिटामोलको मूल्यमा वृद्धि भएको उल्लेख गरेका छन् । ‘प्यारासिटामोल लगभग ९६ प्रतिशतले बढिरहेको छ,’ भारतको विशाखा केमिस्ट एसोसिएसनका एक पूर्वबोर्ड सदस्यले अप्रिल १७ मा इकोनोमिक टाइम्सलाई भनेका थिए ।

औषधि बनाउन प्रयोग हुने कच्चापदार्थको मूल्यमा भएको वृद्धिसँगै औषधिको मूल्यमा पनि वृद्धि भएको र पारासिटामोलको मूल्य ३० देखि ४० प्रतिशतले बढ्न सक्ने बताए । बेलायतमा पनि पारासिटामोलको मूल्य बढेको छ । राष्ट्रिय फार्मेसी संघ (एनपिए) का अध्यक्ष ओलिभियर पिकार्डले द गार्जियन अखबारलाई बताएअनुसार १०० र ५०० मिलिग्राम प्यारासिटामोल ट्याब्लेटको प्याकेटका लागि थोक विक्रेतालाई तिर्ने मूल्य मार्च महिनाको अन्त्यसम्ममा ४१ पेन्स (५५ सेन्ट) ले बढेर १.९९ पाउन्ड (२.६९ डलर) पुगेको थियो ।

कुन देश सबैभन्दा बढी प्रभावित ?
स्नाइडरका अनुसार केही देशमा औषधिको मूल्य बढ्न थालेको भए पनि विश्वभर यसको प्रभाव धेरै तŒवमा निर्भर हुनेछ । ‘अमेरिकासँग घरेलु हाइड्रोकार्बन र पेट्रोकेमिकल आपूर्ति छ । चीनले यसको अधिकांश माग अन्यत्रबाट प्राप्त गर्न सक्छ । यद्यपि, भारत औषधिको एक प्रमुख उत्पादक हो र ऊ खाडीबाट हुने आपूर्तिमा निर्भर छ । खाडी देश विश्वव्यापी औषधि आपूर्ति सञ्जालमा एक प्रमुख अवरोध हो,’ उनले भने । स्नाइडरको भनाइमा अहिले अभाव हुनुको अर्को महत्वपूर्ण कारक रणनीतिक भण्डारण हो ।

‘इयूसँग एकता संयन्त्र छ । इयूले हालैको भण्डारण रणनीतिमा औषधि पनि समावेश छ । बेलायतजस्ता केही विकसित देशले खतराको महसुस गरेका छन् र आगामी साता अभाव महसुस हुनसक्ने चेतावनी दिइरहेका छन्,’ उनले उल्लेख गरे ।

अहिले विकासोन्मुखका देश र विशेषगरी सब–सहारा अफ्रिकाका लागि बढी गम्भीर छ, जहाँ थोरै वा केही पनि भण्डार छैन र आपूर्ति संकटका कारण मूल्यवृद्धिलाई वहन गर्न पर्याप्त वित्तीय भार छैन । हाल सुडान, यमन र प्यालेस्टाइनजस्ता मानवीय संकटको सामना गरिरहेका देशमा यस्तो समस्या देखिन्छ । ‘खाडी सहकार्य परिषद् अर्थात् जिसिसीको अवस्था स्थिर देखिन्छ । सरकारले उनीहरूको आपूर्ति सुरक्षित छ भनी आश्वासन दिएका छन्, तर यदि परिस्थिति फेरि खराब भयो भने त्यो परिवर्तन हुन सक्छ,’ स्नाइडरले अगाडि थपे ।

द्वन्द्व र क्षेत्रीय अवरोधबाट प्रत्यक्ष रूपमा प्रभावित देश सबैभन्दा बढी पीडित हुने सम्भावना रहेको औषधि रसदका विज्ञ डेउल्फ बताउँछन् । ‘औषधिको वास्तविक जोखिम विश्वव्यापी बजारमा भन्दा लेबनान, प्यालेस्टाइन र इरानमा छ,’ उनले भने, ‘म प्रभावित दोस्रो समूह पनि थप्नेछु, कमजोर, सहायतामा निर्भर देश जुन यो युद्धअघि नै गम्भीर दबाबमा थिए ।’ विशेषगरी कोल्ड–चेन र क्यान्सर औषधिका लागि बढी जोखिम समूह भनेको आयातमा निर्भर खाडी बजार हो । दुबई, अबुधाबी र दोहाजस्ता प्रमुख केन्द्र हवाई हमलाबाट प्रभावित हुँदा त्यहाँ पुनः रुटमार्फत औषधि पुगेको थियो ।

(शंकर भारतीय स्वतन्त्र पत्रकार हुन् )
(अलजजिराबाट)

सुझावित समाचार