सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा बागमती नदी तथा सहायक नदीकिनारमा रहेका सुकुमवासी बस्तीहरूको स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि सुरु गर्ने भएको छ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू स्थानान्तरण गरेको मन्त्रालयले दोस्रो चरणको काम शुक्रबारदेखि सुरु गर्ने जनाएको हो। यस प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार मन्त्रालयमा विभिन्न सरकारी निकायहरूको संयुक्त बैठक बसेको मन्त्री सुनील लम्सालको सचिवालयले जनाएको छ।
स्थानान्तरण कार्यलाई सहज बनाउन जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशाला पुर्याइने बताइएको छ। रंगशालामा तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन्। पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुमवासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन हुनेछ।
त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान (जस्तै दराज, टेबुल, खाट)को भण्डारण तथा सुरक्षाको काममा सुरक्षा निकायले सहयोग गर्नेछ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि बसको व्यवस्था गरिएको छ।
मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ। यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन्।
संकलित विवरणका आधारमा सुकुमवासीको पहिचान तथा प्रमाणीकरण हुनेछ। पहिचान हुन नसकेका व्यक्तिहरूलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइने मन्त्रालयले जनाएको छ। पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरी पुनर्स्थापनाका लागि थप प्रक्रिया अघि बढ्नेछ।
यसैबिच, विगतमा नदीकिनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरी दोषी ठहरिए कानुनी कारबाही गर्ने मन्त्रालयले प्रस्ट पारेको छ।