- लामो समयदेखि कायम युद्धविरामले दुवै पक्ष पूर्ण रूपमा विकसित युद्धमा फर्कन उत्सुक छैनन् भन्ने संकेत गरेको छ
अमेरिका र इरानबिचको तनाव अर्को महत्वपूर्ण मोडमा पुगेको छ । कमजोर युद्धविराम कायमै रहँदा लगभग तीन साताको युद्धविरामलाई स्थायी सम्झौतामा रूपान्तरण गर्ने प्रयास रोकिएको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजदूतको भ्रमण रद्द गरेपछि सप्ताहान्तमा पाकिस्तानी राजधानी इस्लामाबादमा वार्ताको आशा टरेको छ किनभने इरान र अमेरिका दुवै आ–आफ्ना माग (विशेषगरी तेहरानको आणविक कार्यक्रम र हर्मुज जलमार्गको नियन्त्रणमा) मा अडिग छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार वार्ता असफल हुनुको दोष अमेरिकालाई दिएका छन् । ‘अमेरिकी दृष्टिकोणका कारण अघिल्लो चरणको वार्ता अत्यधिक मागका कारण लक्ष्यमा पुग्न असफल भयो,’ उनले रुस भ्रमणका क्रममा भने । तैपनि, विज्ञहरूले यो गतिरोधले वार्तामा आएको सुस्ततालाई प्रतिबिम्बित गरेको बताएका छन् । त्यसो भए वार्ता कहिले हुन्छ र अब के हुन सक्छ ?
वार्ताको हालको अवस्था : ट्रम्पले शनिबार फ्लोरिडामा पत्रकारहरूलाई भने कि उनले आफ्ना शीर्ष कूटनीतिक दूत स्टिव विटकफ र ज्वाइँ जारेड कुसनरको पाकिस्तान भ्रमण रद्द गरे, किनभने वार्तामा धेरै यात्रा र खर्च समावेश थियो । इरानीहरूको अपर्याप्त प्रस्तावलाई विचार गर्न नसकिने उनको भनाइ थियो । त्यसको भोलिपल्ट ट्रम्पले इरानले २८ फेब्रुअरीमा अमेरिका–इजरायली बमबारीबाट सुरु भएको युद्ध अन्त्यका लागि वार्ता चाहन्छ भने टेलिफोन गर्न सक्ने बताए । ‘इरानी पक्ष कुरा गर्न चाहन्छन् भने उनीहरू हामीकहाँ आउन सक्छन् वा हामीलाई फोन गर्न सक्छन् । तपाईंलाई थाहा छ, त्यहाँ टेलिफोन छ । हामीसँग राम्रा, सुरक्षित लाइन छन्,’ ट्रम्पले फक्स न्युजलाई भने । ‘तिनलाई थाहा छ, सम्झौतामा के हुनुपर्छ । यो धेरै सरल छ । उनीहरूसँगको आणविक हतियार हामीलाई मान्य छैन । अन्यथा, भेट्नुको कुनै कारण छैन ।’
इरानले पहिल्यै अमेरिकासँगको वार्तामा भाग लिन हिचकिचाएको संकेत गरिसकेको छ । तेहरानका अधिकारीले हाल प्रत्यक्ष वार्ता अर्थहीन भएको बताएका छन् । उनीहरूले हर्मुज जलमार्गमा गरिएको नौसेनाको नाकाबन्दीजस्ता अमेरिकी कार्यलाई युद्धविराम उल्लंघन र अर्थपूर्ण वार्तामा अवरोधका रूपमा उल्लेख गरेका छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफसँग फोनमा कुराकानी गर्दै आफ्नो देश धम्की वा नाकाबन्दीमा ‘लादिएको वार्ता’ मा प्रवेश नगर्ने स्पष्ट पारेका छन् ।
मार्चको सुरुवातदेखि इरानले हर्मुजको जलमार्गलाई बन्द गरेको छ, जहाँबाट विश्वको तेल र प्राकृतिक ग्यास आपूर्तिको पाँच भागको एक भाग प्रवाह हुन्थ्यो । यसैबिच, ८ अप्रिलमा युद्धविराम सुरु भएको केही दिनपछि वासिंटनले इरानी बन्दरगाह र जहाजमा नौसेनामार्फत नाकाबन्दी लगायो । यसले विश्वव्यापी तेल आपूर्तिमा बाधा पुग्नुका साथै मूल्य बढेको छ । विश्वभरका देश वैकल्पिक आपूर्ति खोज्न र आफ्नो अर्थतन्त्रलाई चलायमान राख्न मितव्ययिताका उपाय लागू गर्न बाध्य छन् ।
प्रत्यक्ष भेटघाटमा ब्रेकडाउन भए पनि अप्रत्यक्ष माध्यमबाट कूटनीति जारी छ । इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत अमेरिकालाई ‘लिखित सन्देश’ पठाएको छ, जसमा आणविक मुद्दा र हर्मुजको जलमार्गसहित आफ्नो रातो रेखा उल्लेख छ । यसै समयमा, विदेशमन्त्री अराघची विगत तीन दिनदेखि पाकिस्तान, ओमान र रुसको भ्रमण गर्दै क्षेत्रीय कूटनीतिको तीव्र चरणमा संलग्न छन् ।
कूटनीतिक असफलताको संकेत : तेहरान र वासिंटनको अडान अझै पनि फराकिलो छ । इरानले युरेनियम संवर्द्धनसहितको आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको छ । आणविक कार्यक्रमलाई उसले शान्तिपूर्ण उद्देश्यका लागि मात्र हो भनेर जोड दिँदै आएको छ । लामो समयदेखिका शत्रुबिचको युद्धविराम अझै पनि धेरै हदसम्म कायम छ, जसले संकेत गर्छ कि कुनै पनि पक्ष पूर्ण रूपमा विकसित युद्धमा फर्कन उत्सुक छैन ।
अस्ट्रेलिया इन्स्टिच्युटको अन्तर्राष्ट्रिय तथा सुरक्षा मामिला कार्यक्रमकी निर्देशक एम्मा सर्टिसले गतिरोधका बाबजुद ‘प्रगतिका लागि ठाउँ’ रहेको बताइन् । यद्यपि, उनले चेतावनी दिइन् कि यो सबै ‘अस्थिर नेताहरू’ को अधीनमा छ, जो ‘अन्तिम क्षणमा आफ्नो मन परिवर्तन गर्न’ माहिर छन् । ट्रम्पले सप्ताहन्तमा यो पनि संकेत गरे कि वार्ता रद्द गर्नुको अर्थ सक्रिय लडाइँमा फर्कनु होइन । आइतबार उनले एउटा नयाँ इरानी प्रस्तावलाई उल्लेख गरे, जसलाई उनले ‘धेरै राम्रो योजना’ भनेर वर्णन गरे, र त्यहाँ केही लचिलोपन हुन सक्ने संकेत देखिएको छ ।
(सिद्दिकी दोहास्थित अलजजिराका पत्रकार हुन्)
अलजजिराबाट