१९.३ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा

४९ अर्ब २१ करोड कुल नाफामध्ये वितरणयोग्य नाफा ११ अर्ब ६३ करोड १४ लाख

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को नौ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १९.३ प्रतिशतले बढेको छ । २० वाणिज्य बैंकले मंगलबारसम्म सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले खुद नाफा बढेको देखाएको हो । चालू आवको नौ महिनामा बैंकहरूले ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांक छ । गत आवको नौ महिनामा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका थिए । 

तथ्यांकअनुसार चालू आवको चैतसम्म बैंकहरूको वितरणयोग्य नाफा ११ अर्ब ६३ करोड १४ लाख रुपैयाँ मात्रै छ । बैंकहरूले असुल नभएको ब्याज, नियामकीय प्रोभिजनलगायतका कोषमा रकम छुट्याउँदा वितरणयोग्य नाफा भने कम देखिएको हो । व्यवसाय बढेर नाफा बढेको अवस्था नभएको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बताए । ‘अहिले नाफा बढ्यो भनेर खुसी हुनुपर्ने अवस्था छैन । जेन–जी आन्दोलनलगायतका कारण केही ऋण असुली प्रभावित भएको थियो । त्यस्ता ऋणलाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा राष्ट्र बैंकले दियो । त्यसले गर्दा प्रोभिजन पनि कम भयो । यी यस्ता कारण नाफा बढेको हो,’ उनले भने, ‘व्यवसाय नै बढेर नाफा बढेको अवस्था भने होइन । अझै पनि कर्जाको माग न्यून छ । मध्यपूर्वको तनावको असर पनि देखिन थालेको छ । यी यस्ता कारण अहिले नै ढुक्क हुने स्थिति छैन ।’

समीक्षा अवधिमा नाफा कमाउने मामिलामा नबिल बैंक पहिलो नम्बरमा छ । उक्त बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले चार अर्ब ४० करोड ११ लाख ७८ हजार नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको कुमारी बैंकले भने चार अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । तथ्यांकअनुसार एभरेष्ट बैंकले तीन अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले तीन अर्ब आठ करोड ९३ लाख ३५ हजार रुपैयाँ र नेपाल बैंकले दुई अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । 

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ, एनएमबि बैंकले दुई अर्ब ६८ करोड ७७ लाख ८५ हजार रुपैयाँ, सानिमा बैंकले दुई अर्ब ३५ करोड दुई लाख दुई हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब आठ करोड १६ लाख २१ हजार रुपैयाँ, लक्ष्मी सन्राइज बैंकले दुई अर्ब तीन करोड ८१ लाख ८४ हजार रुपैयाँ र सिद्धार्थ बैंकले दुई अर्ब एक करोड ४८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएका छन् । 

यस्तै, माछापुच्छ्रे बैंकले एक अर्ब ६५ करोड ८६ लाख ५९ हजार, नेपाल एसबिआई बैंकले एक अर्ब ४६ करोड १७ लाख ८५ हजार, कृषि विकास बैंकले एक अर्ब ३९ करोड ३९ लाख ७३ हजार र सिटिजन बैंकले एक अर्ब ३० करोड ६४ लाख, प्रभु बैंकले ८५ करोड १५ लाख २३ हजार, हिमालयन बैंकले ७६ करोड २५ लाख ३६ हजार र एनआइसी एसिया बैंकले १४ करोड तीन लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

निष्क्रिय कर्जा बढेर ५.२५% पुग्यो 
चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.२५ प्रतिशत देखिएको छ । गत आवको चैत मसान्तसम्म २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा ४.८२ प्रतिशत थियो । चालू आवको चैत मसान्तसम्म आउँदा त्यो बढेर ५.२५ प्रतिशत पुगेको हो । पछिल्लो समय कर्जा असुली राम्रो नहुँदा यस्तो अनुपात बढ्दो क्रममा छ । तथ्यांकअनुसार एनआइसी एसियाको ८.८५ प्रतिशत, प्रभुको ८.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ८.४१ प्रतिशत, हिमालयन बैंकको ७.९८ प्रतिशत, कुमारीको ६.९४ प्रतिशत, सिटिजनको ६.८२ प्रतिशत, प्राइम कमर्सियलको ६.३९ र लक्ष्मी सन्राइजको ५.२९ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यस्तै, कृषि विकासको ५.०६ प्रतिशत, ग्लोबल आइएमईको ४.९७ प्रतिशत, नेपाल बैंकको ४.९६ प्रतिशत, एनएमबिको ४.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत, नबिलको ४.३७ प्रतिशत र माछापुच्छ्रेको ४.०१ प्रतिशत, सानिमाको ३.९९ प्रतिशत, सिद्धार्थको ३.७१ प्रतिशत, नेपाल एसबिआईको २.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको १.८१ प्रतिशत र एभरेष्टको ०.६१ प्रतिशत निष्क्रिय कर्जा छ ।

See More On

सुझावित समाचार