शैक्षिक सत्र सुरु : एक करोड २९ लाख पाठ्यपुस्तक ढुवानी

६ प्रदेशमा पाठ्यपुस्तक पुग्दा मधेशमा आवश्यकताको आधा मात्र

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ शैक्षिक सत्रका लागि देशभरका अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष समयमै पुस्तक ढुवानी गरे पनि मधेश प्रदेशमा भने आधा मात्र पाठ्यपुस्तक पुगेको छ ।

मधेशबाहेक ६ प्रदेशमा ढुवानी सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनका अनुसार हालसम्म एक करोड २९ लाख ४६ हजार थान पाठ्यपुस्तक ढुवानी भएको छ । केन्द्रले हरेक वर्ष कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक प्रकाशन गरी सूचीकृत विक्रेतामार्फत विद्यालयसम्म पुर्‍याउँदै आएको छ ।

तर, मधेशमा कुल १६ लाख ७० हजार ७४१ थान पुस्तक आवश्यक पर्नेमा हालसम्म १० लाख थान मात्र पुगेको कुँवरले भने बताए । ‘हामीले पुस्तक पठाएका छौं, तर कतिपयले लैजानु भएकै छैन, त्यो उहाँहरूको कुरा हो, भर्ना अभियान ढिलो सुरु हुने भएकाले ढुवानीमा केही सुस्तता देखिएको हो,’ उनले भने, ‘केन्द्रबाट वितरणमा समस्या होइन, विद्यालयले लिन आउन ढिला चाहीँ गरेका हुन् ।’  त्यस्तै, कोशी प्रदेशको झापा र विराटनगरका केही क्षेत्रमा भने पुस्तक पुग्न बाँकी रहेको कुँवरले बताए । सरकारले यस वर्ष १५ वैशाखदेखि भर्ना अभियान र २१ वैशाखदेखि पठनपाठन गराउन भनेको छ ।

केन्द्रले हरेक वर्ष करिब एक करोड ७० लाख थान पुस्तक छाप्ने गरे पनि औसतमा ५० लाख थान पुस्तक मौज्दात (स्टक) रहने गरेको छ । सरकारले विद्यार्थीलाई निःशुल्क वितरण गर्ने पाठ्पुस्तकका लागि वार्षिक एक अर्ब ५० करोड रुपैयाँ खर्च गर्दै आएको छ । पुस्तकको रकम स्थानीय तहले विद्यालयलाई उपलब्ध गराउँछन् । र, विद्यालयले केन्द्रको खातामा रकम पठाएपछि पाठ्यपुस्तक प्राप्त गर्ने प्रक्रिया छ । केन्द्रले यस वर्ष १६ चैतदेखि १५ वैशाखसम्मलाई पाठ्यपुस्तक वितरण अभियानका रूपमा अघि बढाएको छ ।

सुझावित समाचार