उद्योग वाणिज्य महासंघको चुनाव २२ वैशाखमा

स्थगन भएकै विन्दुबाट निर्वाचनको प्रक्रिया अघि बढ्ने, २१ गते साधारणसभा उद्घाटन

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा अधिवेशन वैशाख तेस्रो साता हुने निश्चित भएको छ । महासंघले आइतबार सूचना सार्वजनिक गर्दै आगामी २१–२२ वैशाखका लागि साधारणसभा तथा अधिवेशनको मिति तोकेको हो । २१ वैशाखमा ग्वार्कोस्थित होटेल रोयल टुलिपमा साधारणसभा उद्घाट हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचन हुने सूचनामा उल्लेख छ । 

यसअघि महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशन गत २९ र ३० चैतका लागि तोकिएको थियो । तर, पेट्रोलियम ढुवानी व्यवसायी महासंघसमेत सातवटा संस्थाले साधारणसभाविरुद्ध २२ चैतमा दायर मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनले साधारणसभा तत्काल नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले २६ चैतमा अन्तरिम आदेश जारी गर्दै ०८१ फागुन १६ गते अदालतले जारी गरेको परमादेशअनुसार आवश्यक निर्णय गरेर मात्रै साधारणसभा गर्न आदेश दिएका थिए । आदलतको आदेशअनुसार नै सबै निर्णय गरी साधारणसभाको आवश्यक प्रक्रिया अघि बढाइएको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘गत वैशाख ९ गतेको कार्यसमिति बैठकले यस विवादको गाँठो फुकाएको छ, हामी करिब नौ घण्टा बसेर, छलफल गरेर यस विवादको समाधान गर्न सफल भयौँ,’ उनले भने । 

शेखर गोल्छा नेतृत्वको महासंघको अघिल्लो कार्यसमितिले १८ वटा वस्तुगत संघलाई सदस्यता दिने निर्णय गरेको थियो । तर, सदस्यता सिफारिस समितिको सिफारिसविनै ती संघलाई सदस्यता दिइएको भन्दै त्यसविरुद्ध मुद्दा परेको थियो । १८ वटा वस्तुगत संघलाई सदस्यता दिने वा नदिने भन्ने विवादलाई ‘विन–विन’ हुने गरी टुंग्याइएको अध्यक्ष ढकालले बताए । ‘सबै १८ वटै वस्तुगत संघलाई सदस्यता दिने, तर यसपटक भोटिङ राइट नदिने र अदालतमा परेका मुद्दाहरू फिर्ता लिने सहमति भएको जानकारी अदालतलाई समेत दिइनेछ,’ उनले भने । 

सुझावित समाचार