शनिबारदेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि आएको रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार रोशी खोलाको बाढीले राजमार्गको अस्थायी डाइभर्सन बगाएर सडक दुईतर्फी अवरुद्ध भएको छ ।
उनका अनुसार रोशी खोलाले बगाएका चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेँसी, बुलढुंगा तथा माम्तीमा गरी आठ स्थानको डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएपछि रोशी गाउँपालिका– ९, मंगलटारमा ८० भन्दा बढी सवारीसाधन रोकिएका छन् । रोशी गाउँपालिका– ७, घुमाउनेदेखि मंगलटारसम्म करिब सबै डाइभर्सन बगाएकाले बनाउन समय लाग्ने उनको भनाइ छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पहिलो चरणमा मंगलटारमा रोकिएका यात्रुलाई उद्धार गरिएको र डाइभर्सन बनाई सडक सुचारु गर्न पहल भइरहेको बताए । वर्षा रोकिएपछि डाइभर्सन बनाई जतिसक्दो छिटो सवारीसाधन सञ्चालनका लागि पहल भइरहेको उनको भनाइ छ । बिपी राजमार्ग रोशी खण्डको प्रयोग गर्दा प्रहरी प्रशासनसँग बुझेर मात्र प्रयोग गर्न र सुरक्षित यात्रा गर्न सबैलाई उनले आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी खोलाको शिर माथिल्लो रोशी भेग र पनौती क्षेत्रमा भारी वर्षापछि रोशी खोलाको बहाव बढ्न थालेपछि बिपी रजमार्गको सिन्धुलीको नेपालथोक र काभ्रेपलाञ्चोकको मंगलटारमा पर्वबाट आउने सवारीसाधन रोकेको थियो भने धुलिखेल र भकुन्डेमा पूर्वतर्फ जाने सवारीसाधन रोकेको थियो । जसले गर्दा जनधनको क्षति नभएको प्रहरीले जानकारी दिएका छन् ।
वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा रोशी गाउँपालिका– ९, मंगलटारमा अलपत्र परेका ६२७ यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले वर्षाका कारण शनिबार साँझदेखि बिपी राजमार्गअन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न स्थानको अस्थायी डाइभर्सन बगाएपछि शनिबार साँझदेखि मंगलटारमा अलपत्र परेका ६२७ यात्रुको आइतबार बिहान उद्धार गरिएको जानकारी दिए ।
राजमार्गमा अलपत्र परेका यात्रुलाई मंगलटारबाट झोलुंगे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुन्डेसम्म उद्धार गरिएको विष्टले बताए । बाढीका कारण डाइभर्सन बगाएका कारण मंगलटारमा रोकिएका सवारीसाधन काठमाडौं र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
डाइर्भसन बगाएर अलपत्र परेका सवारीसाधनलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ । रोशी– ९, मंगलटारमा रोकिएका करिब ८० सवारीका यात्रुलाई उद्धार गरिए पनि त्यसका सवारीचालक र सहचालक गरेर १२० देखि १२५ जना आफ्ना सवारी कुरेर बसेको प्रहरीले जानकारी दिएको छ ।
वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रु गन्तव्यतर्फ हिँडेर नमोबुद्ध नगरपालिका– ७, भकुण्डे बजारसम्म आइपुगेका यात्रुलाई स्थानीय होटेल व्यवसायी तथा नेपाल प्रहरीको सहयोगमा रोशी खोलामा फसेका यात्रुलाई फलफूल, चाउचाउ, पानीलगायत वितरण गरिएको छ ।