अमेरिकामा शनिबार साँझ एक कार्यक्रममा एउटा भयभीत दृश्य देखियो । राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, मन्त्रिपरिषद्का सदस्यहरू र दर्जनौँ पत्रकार सहभागी एक कार्यक्रमनजिकै पाँच–सात राउन्ड गोली चल्यो । फिल्मी शैलीमा सुरक्षा जाँच तोड्दै एक आक्रमणकारीले गोली हानेपछि राष्ट्रपतिलगायतका केही विशिष्ट व्यक्ति आफ्नो ज्यान जोगाउन कोही टेबुलमुनि त कोही टेबुलपछाडि लुक्न बाध्य भए ।
राष्ट्रपति भवन ह्वाइटहाउसका संवाददाताहरूको वार्षिक रात्रिभोज कार्यक्रमनजिकै गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो । गोली चलेपछि ट्रम्पलाई स्टेजबाट हतारमा उद्धार गरिएको थियो । उक्त अवसरमा प्रथम महिला मेलानिया ट्रम्पलगायत विशिष्ट अधिकारीहरूको सहभागिता थियो । रात्रिभोज कार्यक्रम आयोजना गरेको वासिंटन हिल्टनमा होटेल ह्वाइटहाउसबाट करिब डेढ माइल टाढाको दूरीमा पर्छ ।
धेरै हतियार बोकेका एक व्यक्तिले सुरक्षा जाँच विन्दु पार गरेर आक्रमण गरेको उक्त घटनापछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बताए । आक्रमणपछि सार्वजनिक भएको एक भिडियोमा एक व्यक्ति बन्दुक बोकेर सुरक्षा जाँच विन्दु पार गर्दै दौडिएको र पछ्याइरहेका सुरक्षा अधिकारीहरूसँग गोली हानाहान भएको देख्न सकिन्छ । उक्त घटनामा कम्तीमा पाँचदेखि आठपटक गोली चलेको अमेरिकी सञ्चारमाध्यम सिबिएसले जनाएको छ । अलजजिराका निर्माता क्रिस सेरिडनले आफूले बलरुमबाहिर करिब पाँच राउन्ड गोली चलेको सुनेको बताएका छन् ।
गोली चलेपछि ट्रम्प र अन्य सहभागीहरू टेबुलपछाडि लुकेर बसेका देखिन्छन् । आक्रमणको त्रासदीबिच मानिसहरूले ‘तल झर्नुहोस्’ र ‘तलै बस्नुहोस्’ भन्दै कराइरहेका थिए । लगत्तै सुरक्षामा रहेको सेक्रेट सर्भिसले उनलाई त्यहाँबाट निकालेको थियो । केही सेकेन्डमै सेक्रेट सर्भिसले आक्रमणकारीलाई बलरुमसम्म पुग्न नदिँदै नियन्त्रणमा लियो । भारी हतियारसहितका सुरक्षाकर्मीले सो स्थानलाई घेरेका थिए ।
के भने ट्रम्पले ?
ट्रम्पले संदिग्ध व्यक्तिलाई ‘धेरै बिरामी व्यक्ति’ र अमेरिकी संविधानमाथि आक्रमण गर्ने ‘ठग’ भनेर वर्णन गरे । आक्रमणमा एक गोप्य सेवा अधिकारीलाई गोली लागेको थियो, तर उनी आफ्नो बुलेटप्रुफ भेस्टका कारण बचेका थिए । ‘तपाईंलाई थाहा छ, विगत केही वर्षमा हाम्रो गणतन्त्रमा हत्यारा बन्न खोज्ने व्यक्तिले आक्रमण गरेको यो पहिलोपटक होइन,’ राष्ट्रपतिले अगाडि भने, ‘आज साँझका घटनालाई ध्यानमा राख्दै, म सबै अमेरिकीहरूलाई हाम्रा मतभेदलाई शान्तिपूर्ण रूपमा समाधान गर्न आफ्नो हृदयदेखि नै प्रतिबद्ध हुन आग्रह गर्दछु ।’ आक्रमणको निसाना आफूमाथि भएको उनले बताए ।
ट्रम्पले अमेरिकी गोप्य सेवा र स्थानीय कानुन कार्यान्वयन निकायका कार्यको प्रशंसा गरेका छन् । ‘उनीहरूले छिटो र बहादुरीपूर्वक काम गरे,’ उनले भनेका छन् । यसअघि सन् २०२४ को जुलाईमा ट्रम्प पेन्सिलभेनियामा एक चुनावी र्यालीमा भाषण दिने क्रममा हत्या प्रयासबाट बच्न सफल भएका थिए । ह्यालीमा गोली चल्दा ट्रम्पको दाहिने कानमा चोट लागेको थियो ।
को हुन् आक्रमणकारी ?
संदिग्ध हमलाकारी क्यालिफोर्निया राज्यको टोरेन्सका ३१ वर्षका कोल टोमस एलेन रहेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । वासिंटन डिसीका प्रहरी प्रमख जेफ्री डब्लु क्यारोलका अनुसार संदिग्ध हमलाकारी उक्त कार्यक्रम भइरहेको होटेलका पाहुना थिए । उनी बसेको कोठालाई सिलबन्दी गरी अनुसन्धान गरिएको छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन पूरा गरेका उनी शिक्षकका रूपमा कार्यरत रहेको सिबिएसले जनाएको छ । एलेनबाट बन्दुक र छुरी बरामद गरिएको भनिएको छ ।