बेलायतको संसद्ले १ जनवरी २००९ मा वा त्यसपछि जन्मेका नागरिकलाई जीवनभर सुर्तीजन्य पदार्थ किन्न नपाउने विधेयक पारित गरेको छ । अर्को साता शाही स्वीकृति प्राप्त भएपछि विधेयक कानुन बन्नेछ । कानुन लागू भएपछि मन्त्रीले सुर्तीजन्य पदार्थ, भेपिङ र निकोटिनजन्य उत्पादनको स्वाद र प्याकेजिङमाथि थप नियमन गर्न पाउनेछन् । विशेषतः बेलायतभर धूम्रपानमुक्त क्षेत्र विस्तार गर्न खेल मैदान, स्कुल र अस्पतालबाहिर भ्यापिङ निषेध गरिने योजना रहेको बताइएको छ । यसलाई बेलायतमा ‘धूम्रपानमुक्त पुस्ता’ सिर्जना गर्ने वर्षौं लामो प्रयासको एक अंश बताइएको छ ।
स्वास्थ्य तथा सामाजिक हेरचाह राज्यमन्त्री वेस स्ट्रिटिङले सन् २०२४ मा देशको तल्लो सदन ‘हाउस अफ कमन्स’मा ‘सुर्तीजन्य पदार्थ र भेप विधेयक’ प्रस्तुत गरेका थिए, जसको उद्देश्य जनस्वास्थ्यको रक्षा गर्नु र धूम्रपानबाट हुने हानि कम गर्नु रहेको बताइएको छ । ‘सुर्तीजन्य पदार्थ र भेप विधेयकले संसद्बाट अनुमोदन हुनु राष्ट्रको स्वास्थ्यका लागि ऐतिहासिक क्षण हो,’ मन्त्री स्ट्रिटिङले भने, ‘रोकथाम उपचारभन्दा राम्रो हो । यो सुधारले जीवन बचाउनेछ । देशको स्वास्थ्य प्रणालीमाथि दबाब कम गर्नेछ र स्वस्थ बेलायत निर्माण गर्नेछ । अब हाम्रा बालबालिका पहिलो धूम्रपानमुक्त पुस्ताको हिस्सा हुनेछन् । उनीहरू जीवनभर लत र हानिबाट सुरक्षित रहनेछन् ।’
‘धूम्रपान प्रतिबन्ध’सम्बन्धी कानुन पहिलोपटक सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ सरकारले लागू गर्ने प्रयास गरेको थियो । सुनकको सरकारले सुर्तीजन्य पदार्थ किन्ने वैधानिक उमेर हरेक वर्ष एक वर्ष बढाउँदै लगेमा भविष्यमा कसैले किन्न नपाउने दिन आउने योजना अघि सारेका थिए । तथापि, सो योजना सन् २०२४ को आमचुनावको सन्दर्भमा पछिका लागि सारिएको थियो ।
उता विधेयकलाई ‘स्पष्ट मूर्खतापूर्ण’ भन्दै उग्र दक्षिणपन्थी दल ‘रिफर्म युके पार्टी’का नेता निगेल फराजले आगामी आमनिर्वाचन जितेमा आफूले धूम्रपान प्रतिबन्ध खारेज गर्ने वाचा गरेका छन् । तथापि, विधेयकलाई बेलायतभरिका स्वास्थ्य परोपकारी संस्था तथा अभियन्ताले प्रशंसा गरेका छन् ।