अघि बढ्दै महिला उद्यमी

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण
  • महिला उद्यमीहरूले धेरै युवालाई रोजगारी दिएर समाजमा उदाहरणीय काम गरिरहेका छन्

नेपालको सन्दर्भमा महिलाहरूले व्यवसाय सुरु गर्दा पुँजी, सामाजिक दबाब र अवसरजस्ता चुनौती सामना गर्छन् । तर, यिनै बाधालाई पार गर्दै सहरमा केही महिला उद्यमशीलताको खुड्किलो उक्लिरहेका छन् । आत्मनिर्भर बनेर समाजमा नयाँ भाष्य निर्माण गरिरहेका छन् । आफू मात्रै होइन, अन्य धेरै युवालाई रोजगारी दिएर समाजमा उदाहरणीय काम गरिरहेका छन् । पछिल्लो समय महिला स्वामित्वका व्यवसायको संख्यामा वृद्धि हुन थालेको छ । अझै पनि कुल उद्यममध्ये सानो हिस्सा मात्र महिलाहरूले नेतृत्व गरिरहेका छन् । 

यस्तैमध्ये हुन्, काठमाडौं बौद्धकी उद्यमी शर्मिला स्याङ्तान । उनको बौद्ध, फुलबारीमा इपिक क्याफे छ । सगरमाथा, मनास्लु, अन्नपूर्ण, ल्होत्से हिमालसमेत आरोहण गरेर आरोहीका रूपमा स्थापित शर्मिलाले केही समय ट्रेकिङ गाइडका रूपमा काम गरिन् । कोरोनाकालमा ट्रेकिङ अर्थात् पर्यटन क्षेत्रसमेत धराशयी भयो । त्यसपछि उनले व्यवसायतर्फ हात हाल्ने सोच बनाइन् । कफी बनाउने तालिम लिइन् । कोरोनाकै समयमा उनले करिब ६ वर्षअघि क्याफे खोलेर जोखिम लिइन् । कोरोनाकालमै जोखिम मोल्दा केही समय क्याफेको भाडा तिर्नसमेत उनलाई मुस्किल भयो ।

‘हस्पिटालिटी क्षेत्रमा अझै पनि गाह्रै छ । त्यसमाथि महिलाले चलाएको व्यवसाय भएकाले मलाई सुरुवाती दिनमा केही अप्ठ्यारो भयो,’ उनी भन्छिन्, ‘हस्पिटालिटीका कुरा भन्दा व्यक्तिगत कुरामा चासो राख्नेजस्ता अवस्था झेल्नुपर्यो । महिलाले चलाएको व्यवसाय भएकाले पुरुषहरूले नकारात्मक तरिकाले हेर्नेसमेत भयो । तर, अहिले यो क्षेत्रमा पनि परिवर्तन आउँदै छ ।’ उनले अहिले क्याफेमार्फत तीनजनालाई रोजगारी दिएकी छिन् । ३० जनाभन्दा धेरै युवा महिलालाई कफी बनाउने तालिम दिएर दक्षसमेत बनाएकी छिन् । कपनमा खाना र खाना खाने ठाउँ ‘लन्ज हव’समेत खोलेकी छिन् । यही व्यवसायबाट घरपरिवार चलाउन सहज भएको छ । उनी आत्मनिर्भर भएकी छिन् । राजनीतिक रूपमा देश स्थिर नहुँदा उनीजस्ता उद्यमीले धेरै समस्या झेल्नुपरेको छ, उनको अनुभवले भन्छ । ‘समस्या आउँछ । समाधान पनि हुन्छ । त्यसलाई जटिल रूपमा लिन्न । तर, पछिल्लो समय जेन–जी आन्दोलन, सरकार स्थायी नहुँदा मान्छेहरू बाहिर खान निस्किँदैनन् । त्यसले अलि गाह्रो बनाउँछ,’ उनले भनिन् ।

आफ्नो क्याफेको ग्राहक मध्यमवर्गका मानिस भएकाले राजनीतिक रूपमा स्थिर सरकार भएमा आफूजस्ता उद्यमीलाई सहज हुने उनी बताउँछिन् । कान्छी डोल्मा ह्योल्मो पनि सगरमाथा आरोही हुन् । आरोहीका रूपमा पहिचान बनाएकी ह्योल्मोले पनि कफी बनाउन सिकाउने बारिष्टा स्कुल सञ्चालनमा ल्याएकी छिन् । उनको ‘ह्योल्मो बारिष्टा ब्रिअ एकेडेमी’ काठमाडौंको ढल्लोमा रहेको छ । एकेडेमीले कफी बनाउने तालिम प्रदान गर्दै आएको छ ।

दुई वर्षअघि सञ्चालनमा आएको यो एकेडेमीले अहिलेसम्म एक सय ५० जनालाई तालिम दिइसकेको छ । उनीसहित तीनजनाले एकेडेमीमा तालिम दिइरहेका छन् । ‘पहिलादेखि नै क्याफे खोल्न मन थियो । क्याफेसम्बन्धी काम गर्न मन थियो । त्यही भएर यो एकेडेमी खोलेकी हुँ,’ उनले भनिन्, ‘एकेडेमी खोल्नकै लागि मैले सिटिइभिटीबाट तालिमसमेत लिएँ ।’

उनको एकेडेमीमा धेरैजसो वैदेशिक रोजगारमा जान र आफैँ केही गरौँ भन्ने हुटहुटी भएका युवा तालिम लिन आउँछन् । उनले सस्तो र गुणस्तरीय तालिम प्रदान गर्नका लागि शुल्क पनि त्यहीअनुसार राखेकी छिन् । उनको एकेडेमीले सुरुका दिनमा १० हजार शुल्क लिएर तालिम प्रदान गर्थ्यो । महँगी बढेसँगै उनले शुल्क रकम १५ हजार पुर्याएकी छिन् । ‘सुरुवाती दिनमा सबैतिर आफैँ दौडधुप गर्नुपरेकाले केही चुनौती देखिएको थियो । तर, जस्तो अवस्था आए पनि गर्छु भन्ने भएकाले हरेस नखाई अगाडि बढेँ,’ उनी भन्छिन्, ‘अब अर्को ठाउँमा पनि यस्तै तालिम केन्द्र खोल्ने योजना बनाएकी छु ।’

अर्ग्यानिक खानेकुरा अनलाइनबाट बिक्री गर्न थालेकी इन्दिरा राईले अरू चारजनासँग मिलेर ललितपुरको सातदोबाटोमा ‘गाउँ–सहर सामूहिक महिला उद्यम पसल’ खोलेकी छिन् । पाँचजनाको दश लाख पुँजीबाट सुरु भएको यो पसल गत साउनबाट सुरु भएको हो । उनीहरूको यो पसलमा गाउँघरका अर्ग्यानिक खाद्यान्न, स्थानीय उत्पादन पाइन्छ । उनीहरूको यो पसलमा कर्णालीको जुम्ला, सुदूरपश्चिमको दार्जुलालगायत धेरै जिल्लामा उत्पादन हुने रैथाने खाद्यान्न उपलब्ध हुन्छ । उनीहरूले गेडागुडी, खाद्यान्नलगायत सामग्री विभिन्न जिल्लाका महिला समूह, कृषक समूह, सहकारीसँग सहकार्य गरेर ल्याउँछन् । ती सामानमा करिब दश प्रतिशतजति मुनाफा राखेर बिक्री गरिरहेका छन् । यसबाहेक उनीहरूको समूहले टिमुरको अचार, छोप, मस्यौरा, हर्बल साबुन पनि बनाएर बिक्री गर्छ । 

उनीहरूको टोलीले १४ जनालाई रोजगारी दिएको छ । यही व्यवसायलाई फैलाउन उनी नयाँ ढंगले काम पनि गरिरहेका छन् । ‘हामी अहिले नाफाभन्दा व्यवसाय स्थापित गर्नतर्फ लागेका छौँ,’ उनी भन्छिन्, ‘बिस्तारै व्यवसायमा विविधीकरण गर्ने, रैथाने उत्पादन थप्दै जाने, रैथाने बालीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेका छौँ ।’ मुख्य सडकभन्दा भित्र उनीहरूको पसल भएकाले सोचेजस्तो व्यापार गर्न नसकिएको बताउँछिन् । ‘सातदोबाटोबाट केही भित्र भएकाले सोचेजस्तो व्यापार चलेको छैन । मुख्य सडकमै पसल राख्न पनि भाडा महँगो छ । पछिल्लो समय विषादीरहित अर्ग्यानिक खाद्यान्नको खोजी हुने क्रम बढेकाले एकपटक आउने उपभोक्ता पटक–पटक आउन थालेका छन् ।’

कलेज पढाउँदै क्याफे चलाउँदै 
उर्मिला जधारीले भूकम्पलगत्तै कफी सप सुरु गरिन् । प्लस टु पढ्दै गर्दा नै ट्रेकिङ कम्पनीमा काम गर्न थालेकी उनले पढ्दै काम थालिन् । ट्रेकिङ कम्पनीमा काम गर्दै गर्दा उनलाई लाग्यो, अब आफैँ केही गर्नुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । रोजगारी सिर्जना गर्ने हुटहुटीका कारण उनले भक्तपुर दरबार क्षेत्रभित्र ‘कफी इन स्टाइल’ नामको कफी सप खोलिन् । 

सुरुवाती दिनमा पर्यटकलाई केन्द्रमा राखेर कफी सप खोलेकी उनलाई भूकम्प, कोरोनाका कारण टिक्नै मुस्किल भयो । तर, हार खाइनन् । अहिले उनी बिस्तारै अघि बढ्न थालेकी छिन् । बिहान कलेजमा प्लस टुका विद्यार्थीलाई पढाउँछिन् । दिनभर यही कफी सपमा आफैँ पनि काम गर्छिन् । चारजना महिला युवालाई रोजगारी दिएकी छिन् । कफी सपको भाडा तिरेर घर परिवार चलाइरहेकी छिन् । थोरै पुँजीबाट सुरु भएको उनको कफी सपमा अहिलेसम्म ३० लाख लगानी भइसकेको छ । उनले कफी सपमा विभिन्न फास्ट फुड पनि बेच्न थालेकी छिन् । ट्राभल एजेन्सी पनि सँगै चलाइरहेकी छिन् । 

‘रोजगार सिर्जना गर्नका लागि नै मैले यो कफी सप खोलेकी हुँ,’ उनले भनिन्, ‘भूकम्प, कोरोनाले गर्दा बिचमा टिक्नै गाह्रो भयो । म पूर्ण तयारीका साथ व्यवसायमा लागेकाले धेरै गाह्रो भएन ।’ उनका अनुसार भक्तपुर दरबार क्षेत्रको भित्री भागमा रहेकाले व्यवसाय सोचेजस्तो चल्न सकेको छैन । तैपनि, उनलाई यही व्यवसाय फैलाउन मन छ । ‘केटीकेटी भएकाले राति आठ बजे नै कफी सप बन्द गर्नुपर्छ । मेरो आफ्नै कफी सप भए पनि काम गर्ने बहिनीहरूसँगै काम गर्छु,’ उनले भनिन् । 

थुप्रै व्यवसायमा हात हालेर सफल भएकी सुकुमाया मोक्तानले होटेल व्यवसाय सुरु गरेकी छिन् । उनी तामाङ चलचित्र क्षेत्रको कुनै समयकी चर्चित अभिनेत्री र निर्माता पनि हुन् । उनले बौद्धको नयाँ बस्तीमा ‘होटेल क्लाउड नाइन गार्डेन’ सञ्चालनमा ल्याएकी छिन् । गत वर्ष मात्र सञ्चालनमा आएको यो होटेलले हाल २३ जनालाई रोजगारी दिएको छ । यो होटेलमा उनले एक करोड ६० लाख लगानी गरेकी छिन् । 

‘धेरै क्षेत्रमा काम गरे पनि पहिलेदेखि नै हस्पिटालिटी सेक्टरमा काम गर्ने इच्छा थियो,’ उनी भन्छिन्, ‘त्यही वेला एकजना साथीले होटेल बेच्ने भनेपछि किनेर चलाउन थालेँ ।’ घाटामा रहेको यो होटेललाई उनले नाफामा लगिसकेकी छिन् । अरू ठाउँमा पनि होटेल खोल्ने योजना बनाउन थालेकी छिन् । ‘सुरुवाती दिनमा छोरी मान्छेको होटेल भनेर होटेलको बारमा धेरै समय बसिदिने, उधारो खाइदिनेजस्ता समस्या भयो । तर, अहिले मलाई यहाँका स्थानीयले सहयोग गर्न थाल्नुभएको छ । व्यवसाय पनि राम्रो भइरहेको छ,’ उनले भनिन् ।

काठमाडौं उपत्यकाका यी पाँच महिला उद्यमी समाजका उदाहरण हुन् । विभिन्न समस्याका बाबजुद उनीहरू अघि बढिरहेका छन् । उनीहरू एक्लै अघि बढिरहेका छैनन्, अन्य कैयन्लाई रोजगार पनि दिइरहेका छन् । 

सुझावित समाचार