एकै दिन दुई नगरपालिकामा पूर्ण खोप सुनिश्चितता घोषणा, कपिलवस्तुमा जनस्वास्थ्यको ऐतिहासिक उपलब्धि

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

कपिलवस्तुमा जनस्वास्थ्यका दृष्टिले ऐतिहासिक उपलब्धि हासिल भएको छ । जिल्लाका वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकालाई एकै दिन पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । पाँच वर्षमुनिका सबै बालबालिकामा १३ प्रकारका खोपको पहुँच सुनिश्चित भएपछि यी दुई नगरपालिकाले यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेका हुन् ।

जिल्ला खोप समन्वय समिति तथा नगर खोप समन्वय समितिको आयोजनामा बुधबार सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा बाबुराम आचार्यले दुवै नगरपालिकाका प्रमुखहरू चक्रपाणि अर्याल र केशवकुमार श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक आचार्यले वाणगंगा नगरपालिकाले हासिल गरेको उपलब्धि जिल्लाकै लागि उदाहरणीय भएको उल्लेख गर्दै भने, ‘पूर्ण खोप सुनिश्चितता केवल औपचारिक घोषणा होइन, यो जनस्वास्थ्यप्रतिको गहिरो प्रतिबद्धताको प्रतिबिम्ब हो।’ अब चुनौती भनेको यसको दिगोपन कायम राख्नु रहेको उनले बताए। 

वाणगंगामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वास्थ्य क्षेत्रको यस्तो उपलब्धि राज्य र समुदायबिचको सहकार्यको उत्कृष्ट नमुना भएको बताए । ‘खोप कार्यक्रमको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबिचको समन्वय अझ बलियो हुनुपर्ने बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले पूर्ण खोप सुनिश्चिततासँगै अभिलेख व्यवस्थापन, नियमित अनुगमन र गुणस्तरीय सेवा प्रवाहलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए । ‘हामीले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चितता गर्नुपर्छ,’ उनले भने ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जनचेतना अभिवृद्धिमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै खोप अभियानलाई दिगो बनाउन सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । ‘सही सूचना र जनचेतनाले मात्रै खोपप्रतिको विश्वास अझ मजबुत हुन्छ,’ उनले स्पष्ट पारे ।

उता बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा संयोजक आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई विशेष रूपमा प्रशंसा गर्दै गर्भवती महिला, संस्थागत प्रसूति, पोषण र सरसफाइसँग जोडिएका कार्यक्रमलाई सशक्त बनाउन आग्रह गरे । नगरप्रमुख श्रेष्ठले सामूहिक प्रयासकै परिणामस्वरूप पालिकाले यो उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका छन् । ‘यो सफलता सबैको साझा मिहिनेतको परिणाम हो, अब यसको दिगोपन हाम्रो प्रमुख जिम्मेवारी हो,’ उनले भने।

कार्यक्रमहरूमा जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दिगो बनाउन सबै पक्षको निरन्तर सक्रियता अपरिहार्य रहेकोमा बताएका छन्।  यस घोषणासँगै कपिलवस्तु जिल्लाले बालस्वास्थ्य सुधार र रोग नियन्त्रणतर्फ महत्त्वपूर्ण फड्को मारेको सरोकारवालाहरूको विश्वास रहेको छ।
 

सुझावित समाचार