संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग युद्धविराम बढाउने घोषणा गरेको केही घण्टापछि इरानले स्ट्रेट अफ हर्मुजमा दुई विदेशी व्यावसायिक जहाज कब्जामा लिएको छ । कब्जा गरिएको जहाजलाई इरानले आफ्नो तटमा लगेको छ । इरानी सरकारी मिडियाका अनुसार इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)’ले ती जहाजले समुद्री नियम उल्लंघन गर्दै समन्वयविना रणनीतिक जलमार्गमा प्रवेश गरेको आरोप लगाएको छ ।
ओमानको सागरमा अमेरिकाले इरानी व्यावसायिक जहाज कब्जा गरेपछि आइआरजिसीले चेतावनी दिएको केही समयपछि उसले पनि विदेशी जहाज कब्जामा लिएको हो । यसअघि इरानी समाचार एजेन्सी आइआरएनएले वासिंटनमाथि युद्धविराम उल्लंघन गरेको र इरानी जहाजमाथि गोली हानेर यसको ‘नेभिगेसन प्रणाली’ बन्द गरेको आरोप लगाएको छ ।
ट्रम्पले युद्धविराम अवधि बढाए
उता ट्रम्पले इरानसँग युद्धविरामको समय थपेका छन् । दुई साताको युद्धविरामको समयसीमा बुधबार सकिँदै थियो । यसअघि ट्रम्पले युद्धविरामको समय नथप्ने र अमेरिकी सेना ‘अघि बढ्न तयार रहेको’ बताए । तर, अन्तिम समयमा आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ एकाउन्टमा लेख्दै ट्रम्पले इरानको सरकार अहिले ‘गम्भीर रूपमा विभाजित’ रहेको र एकीकृत अडान प्रस्ताव गर्न समय चाहिने भएकाले यो निर्णय गरिएको बताए । ‘हामीलाई इरानको देशमाथि हाम्रो आक्रमण त्यतिवेलासम्म रोक्न भनिएको छ, जबसम्म उनीहरूका नेता र प्रतिनिधि एकीकृत प्रस्ताव ल्याउन सक्दैनन्,’ उनले लेखे । इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाले लागू गरेको नाकाबन्दी भने नहट्ने ट्रम्पले बताए ।