मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमले ०८० असार २ गते गएको भीषण पहिरोबाट विस्थापित ओदक क्षेत्रका बासिन्दाहरूको स्थायी पुनर्स्थापनाका लागि औपचारिक ध्यानाकर्षण गराएका छन्। मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी अध्यक्ष बनेमले गृहमन्त्रीसमक्ष बुझाएको पत्रमा वडा नं. ४ अन्तर्गत ओदक, एकबाँसे र ताम्राङ क्षेत्रका ६५ घरधुरी पहिरोको उच्च जोखिममा परेर विस्थापित भएको उल्लेख गरिएको छ। ती बस्तीलाई सुरक्षित स्थानमा स्थायी रूपमा स्थानान्तरण गर्न विस्तृत भू–प्राविधिक अध्ययन प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएको जनाउँदै सम्बन्धित निकायबाट स्वीकृति तथा कार्यान्वयनका लागि पहल गरिदिन अनुरोध गरिएको छ।
उक्त पत्रमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विषयलाई प्राथमिकताका साथ अघि बढाई ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति’मा प्रस्ताव पेस गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। साथै ‘विपत् प्रभावित निजी आवास पुनर्निर्माण, पुनर्स्थापना तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७९’ अनुसार लाभग्राहीलाई पुनर्स्थापनाका लागि जग्गा उपलब्ध गराउने वा उपलब्ध हुन नसकेमा प्रतिपरिवार तीन लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ।
पत्रमा हिमाली जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै प्रतिपरिवार न्यूनतम एक रोपनी जग्गा सुनिश्चित गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याइएको छ। साथै पुनर्स्थापनासँगै जीविकोपार्जनका लागि कृषि, पशुपालन, सामुदायिक पूर्वाधार विकास तथा पर्यटकीय सम्भावनासँग जोडिएको एकीकृत बस्ती विकासको अवधारणा अघि सारिएको छ। अध्यक्ष बनेमले पीडितहरू लामो समयदेखि अस्थायी बसोबासमा कठिन जीवन बिताइरहेको र नीतिगत जटिलताका कारण पुनर्स्थापनाको काम अघि बढ्न नसकेको अवस्थाबारे जानकारी गराउँदै तत्काल समाधानका लागि आग्रह गरेका थिए ।
भेटका क्रममा गृहमन्त्री गुरुङले विषयलाई गम्भीरतापूर्वक लिँदै सचिवमार्फत सम्बन्धित निकायलाई आवश्यक तयारी गरी प्रस्ताव कार्यकारी समितिमा पेस गर्न निर्देशन दिएको जनाइएको छ। स्थानीय तहको सक्रिय पहल र संघीय सरकारको चासोसँगै ओदकका पहिरोपीडितहरूले छिट्टै सुरक्षित तथा स्थायी वासस्थान पाउने अपेक्षा गरिएको छ। विपतकाे यस संवेदनशील घडीमा पीडितहरूको समस्या समाधानका लागि सबै पक्षबिच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।