नेपाली कांग्रेसले सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा गत २१ फागुनमा सम्पन्न निर्वाचनमा भोग्नुपरेको अप्रत्याशित पराजयको समीक्षा गरेको छ । बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठकमा सहभागी उम्मेदवार तथा जिल्ला सभापतिहरूले हालैको निर्वाचनमा पार्टी पराजित हुनुका पछाडि संगठनात्मक कमजोरीदेखि बदलिँदो मतदाता मनोविज्ञानसम्मका विषयहरू प्रमुख रहेको बताएका छन् ।
प्रदेशका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रका उम्मेदवार तथा पार्टी नेतृत्वले आ–आफ्नो अनुभव सुनाउँदै चुनावमा विशेष महाधिवेशनपछिको कांग्रेस सहभागी भएकाले मात्रै प्रमुख प्रतिपक्ष हुने अवसर आएको बताए । उनीहरूले विशेष महाधिवेशन र निर्वाचनबिचको समयावधि छोटो हुनु पनि कांग्रेसका उम्मेदवारहरूको पराजयको प्रमुख करण भएको दाबी गरे । छलफलमा सहभागी अधिकांश उम्मेदवार र जिल्ला सभापतिहरूले पराजयका पछाडि विगतमा सत्ता प्राप्तिका लागि गरिएको गठबन्धनको राजनीति, त्यसबाट पार्टीका शुभेच्छुक तथा पार्टीका कार्यकर्तामा अन्य दलमा भोट हाल्ने प्रवृत्ति र पुराना दलका नेतृत्वका कारण वैकल्पिक शक्तिलाई समर्थन गर्नुपर्ने धारणासमेत बनेको उल्लेख गरे ।
यस्तै, निर्वाचनका वेला टिकट वितरणमा असन्तुष्टि, आकांक्षी उम्मेदवार तथा पुराना नेताबाट अपेक्षित सहयोग नपाउनु र विशेष महाधिवेशनपछि पार्टी पूर्ण रूपमा एकताबद्ध हुन नसकेको सन्देश मतदातामा जानु पनि पराजयका कारणका रूपमा औँल्याइएको छ । सहभागीहरूले सामाजिक सञ्जालमार्फत धारणा निर्माण हुने नयाँ प्रवृत्तिलाई समयमै बुझ्न नसक्दा कांग्रेस पछाडि परेको बताए। युवापुस्तामा ‘कांग्रेस पुरानो पार्टी’ भन्ने छवि बलियो बन्दै जानु, युवालाई पार्टीमा आकर्षित गर्न नसक्नु तथा नयाँ मतदाता पहिचान गर्न नसक्नु पनि कमजोरीका रूपमा उठाइएको थियो।
यसैगरी पार्टीभित्रका जिम्मेवार नेताबाट भएको अन्तर्घात, क्रियाशील सदस्यबाटै अपेक्षित मतदान नहुनु, विदेशमा रहेका आफन्तको प्रभावमा मत अन्यत्र जानुजस्ता कारण पनि औँल्याइएको थियो । कतिपय उम्मेदवारले आफ्नै परिवारभित्र नयाँ पुस्ता, महिला र ज्येष्ठ सदस्यहरूको मतसमेत सुनिश्चित गर्न नसकेको अनुभव सुनाएका थिए ।
सहभागीहरूले विशेष महाधिवेशनपछि शीर्ष नेतृत्वबाट पर्याप्त अभिभावकत्व नपाएको गुनासोसमेत गरेका छन् । ‘सँगै हिँडेकाले पनि अन्तै भोट हाल्ने अवस्था आयो,’ एक सहभागीले भने, ‘यसले संगठनभित्रको विश्वास कमजोर भएको देखाउँछ ।’ बैठकमा उठाइएका धारणाअनुसार पार्टीभित्रको एकता सुदृढ गर्ने, युवापुस्तालाई आकर्षित गर्ने, डिजिटल माध्यममार्फत सन्देश प्रवाह गर्ने र संगठनात्मक अनुशासन कायम गर्ने कार्य नगरे आगामी निर्वाचनमा झनै चुनौती थपिने निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन परिणामलाई गम्भीर रूपमा आत्मसात् गर्दै पार्टीभित्र ‘चिन्ता नभई, चिन्तन’ आवश्यक रहेको बताएका छन् । उनले देशको निम्ति कांग्रेसको पुनरुत्थान आवश्यक रहेको दाबी गरे । सभापति थापाले निर्वाचनमा पार्टीको हारको समीक्षा केवल कमजोरी खोज्नका लागि मात्र नभई आगामी राजनीतिक दिशा तय गर्नका लागि हुनुपर्ने धारणा राखे ।
उनले हालको परिस्थितिमा कांग्रेससँग दुई विकल्प रहेको उल्लेख गर्दै ‘चिन्ता’ले समस्या मात्र देखाउने, तर ‘चिन्तन’ले समाधानतर्फ डोर्याउने बताए । ‘कांग्रेसलाई अहिले चिन्ता होइन, चिन्तनको आवश्यकता छ,’ उनले भने । उनका अनुसार बदलिँदो सामाजिक र राजनीतिक परिवेशअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्न नसके भविष्य चुनौतीपूर्ण हुनेछ । विगतमा जस्तो स्थिर मतदाता आधार अहिले नरहेको उल्लेख गर्दै उनले कांग्रेसले आफ्नो एजेन्डा, सन्देश र संगठनात्मक शैली नयाँ पुस्ताअनुकूल बनाउनुपर्नेमा जोड दिए ।
यस्तै, महामन्त्री प्रदीप पौडेलले परिस्थितिको परिवर्तनसँगै कांग्रेस पनि बदलिनु अनिवार्य भएको उल्लेख गर्दै पुरानो अभ्यासले नयाँ पुस्ता र समाजलाई समेट्न नसक्ने बताए । ‘हामीले नेतृत्व खराब भएर होइन, परिस्थितिका कारण परिवर्तन आवश्यक भएको हो,’ उनले भने, ‘अब बदलिएको समाजअनुसार एजेन्डा र कार्यशैली विकास गर्नुपर्छ ।’
उनले वर्तमान समयमा क्रियाशील सदस्यहरूको भूमिका पनि बदलिएको उल्लेख गर्दै सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत पार्टीको धारणा निर्माण गर्नुपर्ने बताए । उनले नयाँ पुस्ताले नयाँ प्रविधि प्रयोग गरेर संगठन विस्तार र एजेन्डा निर्माण गरिरहेको उदाहरण दिँदै कांग्रेसले पनि त्यही शैली आत्मसात् गर्नुपर्ने बताए ।
सदस्यता अद्यावधिक अभियानलाई चुनावी तयारीको आधारका रूपमा प्रस्तुत गर्दै उनले सबै तहका नेताहरूलाई सक्रिय हुन आग्रह गरे ।
महामन्त्री पौडेलले वडा तहसम्म सदस्यता अद्यावधिक प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै युवाहरूलाई सहज रूपमा सदस्यता दिन आग्रह गरे । ३० वर्षमुनिका युवालाई विनाअवरोध सदस्यता प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।