मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ लावतीका अग्निपिडित एक विपन्न चेपाङ परिवारलाई श्रम संस्कृति पार्टीले नयाँ घर निर्माण गरिदिएको छ। श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले स्थानीय निशा माया चेपाङको परिवारका लागि श्रमदान र आर्थिक सहयोग जुटाएर घर बनाइदिएको हो। उक्त घर शुक्रबार हस्तान्तरण समेत गरिएको छ।
पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तान र गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले घरको चाबी चेपाङ परिवारलाई हस्तान्तरण गरेको हो। गत चैत ४ गते भएको आगलागीमा निशा माया चेपाङको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। करिब १० धुर ऐलानी जग्गामध्ये साढे ३ धुर क्षेत्रमा एक तले दुई कोठे घर निर्माण गरिएको अध्यक्ष सिङ्तानले जानकारी दिए। उनका अनुसार करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको निर्माण कार्य श्रमदान र विभिन्न सहयोगबाट जम्मा दुई लाख पाँच हजार रुपैयाँमै सम्पन्न गरिएको हो ।
घर निर्माणमा स्थानीय व्यक्ति तथा व्यवसायीहरूले सिमेन्ट, बालुवा, गिट्टी र ढुवानीमा सहयोग गरेका थिए । यसअघि आगलागीपछि पार्टीले पीडित परिवारलाई खाद्यान्न तथा कपडासमेत सहयोग गरेको थियो । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले श्रमदानमार्फत पीडितलाई राहत उपलब्ध गराएकोमा प्रशंसा गर्दै शौचालय निर्माणका लागि गाउँपालिकाबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, नागरिकता अभावका कारण सेवा सुविधाबाट वञ्चित रहेको परिवारलाई नागरिकता दिलाउन पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तानले पीडामा परेका नागरिकका पक्षमा पार्टी सधैं उभिने र आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।