नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई पत्र पठाउँदै अर्को सूचना जारी नभएसम्मका लागि समीक्षा कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन् ।
प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम ५ वैशाखमा कैलालीमा गर्ने तय भएकाे थियो । नेताहरूका अनुसार पार्टी सभापति गगन थापासहित पदाधिकारी समीक्षा कार्यक्रममा आउने भनिएको थियो । तर, दुई दिनअघि ३ वैशाखमा पत्र पठाएर कार्यक्रम स्थगित गरिएको जनाइएको छ। कांग्रेस प्रदेश समितिका प्रवक्ता सुरत रावतले केन्द्रबाट कार्यक्रम स्थगित भएको पत्र आएको जानकारी दिए ।
कांग्रेसको १० र ११ चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालयले सातवटै प्रदेशमा चुनावी समीक्षा कार्यक्रम गर्न प्रदेश समितिहरूलाई परिपत्र गरेको थियो। सुदूरपश्चिममा कार्यक्रमको संयोजनको जिम्मेवारी सहमहामन्त्री प्रकाश स्नेहीलाई दिइएको थियो।
केन्द्रले प्रदेश सभापतिलाई सम्बोधन गरेर पठाएको पत्रमा विशेष कारणवश कार्यक्रम स्थगित गरिएको उल्लेख गरिए पनि कारण खुलाइएको छैन। तर, यहाँ निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष तयार नभएपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ ।
गृहजिल्ला सुदूरपश्चिममा प्रदेश कार्यसमितिसहित जिल्ला कार्यसमितिहरूमा देउवा पक्षको बलियो पकड छ । प्रदेश सभापति वीरबहादुर बलायरसहित प्रदेशका अधिकांश पदाधिकारी देउवा पक्षका छन् । सुदूरपश्चिमका नौमध्ये ६ जिल्लाका पार्टी सभापतिले विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ति नै जारी गरेका थिए ।
‘हामी विशेष महाधिवेशनको विपक्षमा थियौँ र विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्विकार गरेको स्थिति छैन,’ कांग्रेस प्रदेश समितिका एक पदाधिकारीले भने, ‘चुनावी समीक्षा कार्यक्रमका लागि केन्द्रले परिपत्र गरे पनि हाम्रोतर्फबाट कुनै तयारी पनि थिएन ।’ सुदूरपश्चिमभरि पार्टी संरचनामा करिब दुईतिहाइ पकड रहेको पक्ष सहभागी नहुने देखेर केन्द्रले कार्यक्रम स्थगित गरेको उनले बताए ।
देउवा पक्षको असहमतिका कारण कांग्रेसले यसअघि सुदूरपश्चिममा प्रदेशस्तरीय चुनावी सभा गर्न सकेको थिएन । गएको चुनावका वेला कैलालीको धनगढी वा अत्तरियामा गर्ने भनिएको चुनावी सभाका लागि प्रदेश सभापति बलायर र कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाह तयार भएनन् ।
सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये २१ फागुनमा भएको चुनावमा कांग्रेसले तीन सिट जितेको थियो । सुदूरपश्चिममा टिकट वितरणमा देउवा पक्ष उपेक्षामा पर्दा संस्थापन पक्ष हाबी भएकाे थियो ।