नेपाल वायुसेवा निगमका अपरेसन विभागका निर्देशक क्याप्टेन सुवास रिजालको आफ्ना सम्धी रोशन कोइरालालाई चलखेल गरी तालिममा विदेश पठाउने प्रयास असफल भएको छ । उनको ठाउँमा स्वाभाविक रूपमा पालो पर्खिरहेका प्रचण्ड श्रेष्ठ जाने भएका छन् । साथै, कोपाइलटका रूपमा रविन केसी जानेछन् ।
कोइरालालाई एयरबस ३२० तालिमका लागि बुधबार पठाउने तयारी थियो । रिजालले पालो कुरिरहेका १९ पाइलटलाई ‘होल्ड’ गरेर आफ्ना सम्धी कोइरालालाई वैदेशिक तालिममा पठाउन चलखेल गरेको खुलेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो देखाएको थियो । सोही आधारमा निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले रिजालसँग सोधपुछ गरेका थिए । उनको तालिम विवादमा पर्ने देखिएपछि रोक्ने निर्णयमा निगम पुगेको एक अधिकारीले जानकारी दिए ।
करारका जागिरे कोइराललाई ५८ वर्षको उमेरहद पार गरिसकेपछि निर्देशक रिजालकै भाइ अपरेसन विभागकै तत्कालीन निर्देशक क्याप्टेन श्रवण रिजालले नियुक्ति दिएका थिए । तर, नियुक्तिपछि ५० लाख धरौटी बुझाउनुपर्ने अवस्थामा सम्पर्कमा नआई विदेश गएका थिए । पछि उनी फर्किएर पुनः प्रक्रिया अघि बढाइएको थियो ।
अहिले आफैँ उक्त विभागमा निर्देशकको भूमिकामा रहेका रिजालले ‘क्रु ट्रेनिङ’ डिभिजनलाई इमेल पठाएर ए–३२० ‘इनिसियल ए२’का उम्मेदवारहरूको लिखित परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । उक्त परीक्षा गत १७ फेब्रुअरीको दिउँसो दुई बजे निगमको केन्द्रीय कार्यालयमा राखिएको थियो । तर, प्रश्नपत्र भने अपरेसन डाइरेक्टरको कार्यालयबाटै उपलब्ध गराइने इमेलमा उल्लेख थियो ।