दैलेखको गुराँस गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले विशेष अदालत भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य, आरके कन्स्ट्रक्सन सुर्खेत र कम्पनीका सञ्चालक सुवास कार्कीविरुद्ध मुद्दा दायर गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सनका सञ्चालक कार्कीको मिलेमतोमा आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली नदी र लोहरे खोला क्षेत्र तल्लो डुंगेश्वरबाट नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री–वितरण गर्ने कार्यमा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ।
सम्झौताबमोजिम कवोल गरेको रकम र नेपाल सरकारलाई नियमानुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर १३ प्रतिशतसमेत गरी जम्मा ३४ लाख ४६ हजार ५०० रुपैयाँ दाखिला गर्नुपर्नेमा सो नगरेको अख्तियारले जनाएको छ।
उनीहरूले ठेक्का कबाेल गरेको रकम किस्ता–किस्तामा दाखिला गर्दा हुने सर्त सम्झौतापत्रमा राखी बैंक जमानत रकमसमेत नलिई सम्झौता गरी १२ लाख २ हजार रुपैयाँ मात्र कार्यालयमा दाखिला गरेका बताइएको छ। उनीहरूले २२ लाख ४४ हजार ५०० रुपैयाँ हालसम्म पनि दाखिला नगरी गाउँपालिका र नेपाल सरकारलाई हानिनोक्सानी पुऱ्याएको आरोपपत्रमा उल्लेख छ।