फागुन र चैतको हावाहुरी र असिनापानीले झापामा कृषिबालीमा एक अर्ब ७२ करोड बढी क्षति भएको छ । हावाहुरी र असिनापानी मकै, तरकारी, केरा, फापर, गहुँमा क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । यस वर्ष झापामा ११ हजार ७३५ दशमलव ५३ हेक्टर क्षेत्रफलमा हिउँदेबालीमा पूर्ण रूपमा क्षति भएको उनको भनाइ छ । यस्तै, चार हजार ४७६ दशमलव ५५ हेक्टर क्षेत्रफलमा लगाइएको हिउँदे बालीमा आंशिक क्षति भएको उनले बताए । ‘पूर्ण क्षति भएको बाली अब काम लाग्ने अवस्थामा छैन,’ उनले भने, ‘आंशिक क्षति भएको बालीमा उत्पादन त हुन्छ । तर, कम मात्रामा हुने देखिन्छ ।’
सबैभन्दा धेरै मकै खेतीमा क्षति भएको छ । झापामा यस वर्ष ४६ हजार हेक्टरमा मकैखेती लगाएको थियो । विगत वर्षलाई हेर्दा झापामा १३ अर्बको मकै फल्दै आएको विष्टले बताए । तर, यसपटक हावाहुरी र असिनापानीले १५ प्रतिशत कम हुने अनुमान गरिएको उनको भनाइ छ ।
विष्टका अनुसार सबैभन्दा धेरै झापा गाउँपालिकामा लगाइएको हिउँदेबालीमा क्षति भएको छ । झापा गाउँपालिकामा लगाइएको ४५ करोड ८९ लाख ५१ हजार ६ सय रुपैयाँ मूल्यबराबरको हिउँदे बालीमा क्षति भएको उनले बताए । झापाको झापा गाउँपालिका र हल्दिबारी गाउँपालिकामा सबैभन्दा धेरै मकैखेती हुँदै आएको छ । बाह्रदशी गाउँपालिकामा २७ करोड २७ लाख ३० हजार तीन सय, कचनकवल गाउँपालिकामा ६ करोड ३७ लाख ५० हजार, बिर्तामोड नगरपालिकामा एक करोड ३५ लाख १२ हजार, दमक नगरपालिकामा १६ करोड ३५ लाख, गौरादह नगरपालिकामा एक करोड ७७ लाख, हल्दिबारी गाउँपालिकामा ४ करोड ५५ लाख १० हजार, कमल गाउँपालिकामा ३४ करोड ९० लाख ५९ हजार ९ सय, कन्काई नगरपालिकामा पाँच लाख ३२ हजार ८ सय, शिवसताक्षी नगरपालिकामा १२ करोड ९१ लाख १० हजार र भद्रपुर नगरपालिकामा १६ करोड पाँच लाख १८ हजार मूल्यबराबरको कृषिबालीमा क्षति पुगेको प्रमुख विष्टले बताए । यो तथ्यांक कृषि ज्ञान केन्द्र झापाले स्थानीय तहको कृषि शाखामार्फत संकलन गरेको हो । यो तथ्यांक कोशी प्रदेशको उद्योग, कृषि तथा सहरकारी मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापामा पठाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख विष्टले बताए ।
ठुलो मात्रमा कृषि बालीमा क्षति पुग्दा पनि कृषकले सरकारी निकायबाट राहत पाउँदैनन् । गत असोजमा आएको बाढीका कारण झापामा मात्र सात करोड ६० लाख २८ हजारबराबरको क्षति भएको थियो । तर, त्यसवेलाको क्षतिको पनि किसानले राहत पाउन नसकेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
यसपटकको हावाहुरी र असिनाले कृषकलाई ठुलो मर्कामा परेको कचनकवल गाउँपालिका– ७ मा मकैखेती गर्दै आएका किसान अभिकेशर काफ्लेले बताए । ‘एक बिघामा मकैखेती लगाएको थिएँ, सबै सखाप भयो,’ उनले भने, ‘असिनाले कुटेर मकै कामै नलाग्ने भयो । यसपटक हामी किसान मर्कामा परेका छौँ ।’ गाउँसम्म कृषि बिमाको बारेमा सचेतना नहुँदा कृषिमा ठुलो क्षति हुँदा पनि कृषकले राहत पाउँदैनन् । ‘हामीलाई पशु बिमाबारे थाहा थियो । कृषि बिमाबारे जानकारी थिएन,’ उनले भने, ‘अहिले क्षति भएपछि जानकारी पाएका छौँ । हामीलाई पालिकाले पनि कृषि बिमाको बारेमा जानकारी गराएन ।’
कचनकवल– ७ की किसान इन्दिरा पौडेलका अनुसार एक बिघा मकैखेती गर्न करिब ४० हजार रुपैयाँ खर्च हुन्छ । तर, यसपटकको हावाहुरी र असिनाले मकैखेती पूर्ण रूपमा काम नलाग्ने भएको उनी बताउँछिन् । यसपटक नयाँ सरकार पनि आएका कारण किसानले राहत पाउनेमा उनी आशावादी छिन् । सरकारले कृषि क्षेत्रलाई बेवास्ता गरेको कचनकवल–७ का किसान सन्तोष भट्टराई बताउँछन् । ‘सधैँजसो कृषि क्षेत्रमा यसरी नै क्षति हुन्छ । कहीँ कतैबाट राहत पाइँदैन । यतिका क्षति हुँदा स्थानीय तहका जनप्रतिनिधिसम्म पनि हेर्न आउँदैनन्,’ उनले भने, ‘भोट माग्न आउँदा किसानका मुद्दा प्राथमिकतामा पर्छन् । तर, चुनाव सकिएपछि हाम्रो मुद्दा ओझेलमा पर्छ । केही गर्छन् भन्ने आशाचाहिँ छैन । तर, कृषिक्षेत्र बचाइरहने भए किसानलाई सरकारले राहत उपलब्ध गराउनुपर्छ ।’