उदयपुरमा प्याराग्लाइडिङ एक्युरेसी सुरु

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका– ८ स्थित बोप्ताङडाँडामा पहिलोपटक कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता सुरु भएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोककुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

प्रतियोगितामा चार विदेशीसहित ३५ जना पाइलट सहभागी छन् । बिहीबार भएको पहिलो चरणमा २८ जना पाइलटले समान तीन राउन्ड टेकअफ गरेका छन् । बाँकी प्रतिस्पर्धीले शुक्रबार प्रतिस्पर्धा गर्ने ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरका अध्यक्ष ईश्वरमान राईले जानकारी दिए । उदयपुरका सचिव जितु रोइलाका अनुसार एक्युरेसी विधामा निर्धारित ‘पिन प्वाइन्ट’नजिक अवतरण गर्ने पाइलटलाई कम अंक दिने प्रणाली लागू गरिएको छ । सबैभन्दा कम अंक प्राप्त गर्ने प्रतियोगीलाई विजेता घोषित गरिनेछ । 

‘मौसमले साथ दिएमा शुक्रबार प्रतिस्पर्धा सकिनेछ,’ उनले भने । प्रतियोगिताका निर्णायकमा भारत (सिक्किम)का राजु राईसहित नेपालका सुरेन गुरुङ, विमल अधिकारी र भूपाल राउत रहेका छन् । ‘बोप्ताङडाँडाबाट सुरु भएको प्याराग्लाइडिङ पर्यटनको भविष्य अझ उज्यालो बनाउने अपेक्षा गरिएको छ,’ नगरपालिकाका मेयर अशोक कार्कीले भने, ‘उदयपुरका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेकाले सरोकारवालाको ध्यान जानु जरुरी छ ।’  

सुझावित समाचार