- धेरै अभिभावकले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुन लागू भएदेखि १६ वर्षमुनिका सन्तानमा सकारात्मक र व्यावहारिक परिवर्तन देखेका थिए
१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने अस्ट्रेलियाको कानुन (यससम्बन्धी विश्वकै पहिलो राष्ट्रिय कानुन) तीन महिनादेखि कार्यान्वयनमा छ । प्रतिबन्धपछि यसको प्रभावबारे देशव्यापी बहस हुन थालेको छ । झन्डै ११ सय अस्ट्रेलियाली वयस्कमाथि गरिएका सर्वेक्षणबाट प्राप्त नयाँ तथ्यांकले केही सकारात्मक प्रभाव रहेको प्रमाण दिन्छ । ‘युगोभ सर्वेक्षण’ले पत्ता लगायो कि धेरै अभिभावकले डिसेम्बर १०, २०२५ मा कानुन लागू भएदेखि १६ वर्षमुनिका आफ्ना बालबालिकामा सकारात्मक र व्यावहारिक परिवर्तन देखेका थिए । यद्यपि, यो विश्वव्यापी थिएन, केही अभिभावकले आफ्ना बालबालिकाको व्यवहारमा नकारात्मक परिवर्तन आएको पनि रिपोर्ट गरे ।
यो तथ्यांकले अस्ट्रेलियाको अनलाइन सुरक्षा संशोधन (सामाजिक सञ्जाल प्रयोगमा न्यूनतम उमेर) ऐनको प्रभावलाई उजागर गर्छ । तर, यसका केही प्रमुख सीमितता पनि छन् । त्यसोभए सर्वेक्षणको नतिजाले वास्तवमा के देखाउँछ र त्यसलाई कसरी व्याख्या गर्नुपर्छ ?
पहिलो कदम : बालबालिकामा अनलाइन हानि रोक्न लागू गरिएको कानुनको प्रभाव मूल्यांकन गर्नुअघि हामीले प्रतिबन्धले काम गरिरहेको छ कि छैन भनेर जान्न आवश्यक छ । अस्ट्रेलियाको ‘ई–सेफ्टी आयोग’ले संकलन गरेको प्रारम्भिक तथ्यांकले गत डिसेम्बरमा सामाजिक सञ्जाल प्लाटफर्मले १६ वर्षमुनिका बालबालिकाका ४७ लाख खाता हटाएको संकेत गरेको छ । यो तथ्यांकमा धेरै निष्क्रिय र डुप्लिकेट खाता पनि समावेश भएको बताइएको छ । फलस्वरूप, यसले प्रभावित बालबालिकाको वास्तविक संख्याको सही प्रतिनिधित्व नगर्न सक्छ ।
केही हदसम्म लक्षित समूहले उमेर प्रमाणीकरण प्रतिबन्ध पनि छलिरहेका छन्, भनिएको छ । र, अभिभावकीय नियन्त्रण कम्पनी ‘क्वस्टोडियो’को नयाँ तथ्यांकमा आधारित ‘क्रिकी’को प्रतिवेदनले प्रतिबन्धको पहिलो तीन महिनामा १६ वर्षमुनिका बालबालिकामा सामाजिक सञ्जालको प्रयोग थोरै मात्र घटेको देखाएको छ ।
अभिभावक देख्दै छन् केही सकरात्मक प्रभाव : युगोभले यस वर्षको जनवरी १२ देखि १४ मा अनलाइन सर्वेक्षण गरेको थियो । अर्थात् सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लागू भएको एक महिनाभन्दा बढी समयपछि सर्वेक्षण गरिएको थियो । १६ वर्षमुनिका बालबालिकाका अभिभावकमध्ये ६१ प्रतिशतले दुई–चारवटा सकारात्मक प्रभाव अवलोकन गरे । लगभग ४३ प्रतिशत अभिझावकले सामाजिक अन्तर्त्रियालाई जोड दिए भने ३८ प्रतिशतले आफ्ना बालबालिका अन्तर्त्रियाको समयमा बढी उपस्थित हुने गरेको बताए । त्यस्तै, ३८ प्रतिशतले प्रतिबन्धले अभिभावक र बालबालिकाबिचको सम्बन्धमा सुधार आएको रिपोर्ट गरे । तर, यी अभिभावकले नकारात्मक प्रभाव पनि रिपोर्ट गरे । लगभग २७ प्रतिशतले बालबालिकाहरू वैकल्पिक वा कम नियमन गरिएका प्लाटफर्ममा सरेको उल्लेख गरे । र, २५ प्रतिशतले सामाजिक सम्बन्ध, रचनात्मकता वा अनलाइनमार्फत साथीबाट प्राप्त हुने सहयोगमा कमी आएको धारणा राखे ।
यस सर्वेक्षणमा दुईतिहाइ वयस्कले अभिभावकको बढी संलग्नताले प्रतिबन्धलाई अझ प्रभावकारी बनाउन सक्ने विश्वास गरे । र, ५६ प्रतिशतले कडा कार्यान्वयन र उमेर प्रमाणीकरणले यसको प्रभावकारितामा सुधार ल्याउनेमा सहमति जनाए ।
सर्वेक्षणका सीमा : निराशाजनक के छ भने युगोभ सर्वेक्षणमा अभिभावकको अनुपात रिपोर्ट गरिएको छैन, न त उनीहरूका बच्चाहरूको वास्तविक उमेर नै । सर्वेक्षण गर्मी बिदाबिच भएकाले यसले के योगदान पुर्याएको हुन सक्छ भनेर जान्न गाह्रो छ, किनकि त्यतिवेला सामाजिक सञ्जालको प्रयोग सामान्यतया घट्छ । सामाजिक सञ्जाल खाताबाट ‘निकालिएका’ बालबालिकामा व्यावहारिक परिवर्तन अवलोकन गरिएको थियो कि थिएन भन्नेबारेमा हामीलाई थाहा छैन । महŒवपूर्ण कुरा, युगोभ सर्वेक्षणले युवाको आवाज समेट्न सकेको छैन ।
जारी छ अनुसन्धान : हामी अहिले सामाजिक सञ्जालमा उमेर प्रतिबन्धको प्रभावको मूल्यांकन गर्ने एक अध्ययनमा संलग्न छौँ । यो अध्ययनले युवाले निष्क्रिय ‘सेन्सिङ’ प्रविधि प्रयोग गरेर विभिन्न सामाजिक सञ्जाल एपमा वास्तवमा कति समय बिताउँछन् भन्ने मापन गर्छ । १७१ युवाबाट संकलन गरिएको हाम्रो आधारभूत तथ्यांक (नयाँ नियम लागू हुनुअघि संकलन गरिएको)ले ‘सबै किशोर–किशोरी सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध छन्’ भन्ने प्रचलित कथ्यको विरोध गर्छ ।
वास्तवमा, १३ देखि १६ वर्षका ४० प्रतिशत बालबालिकाले कानुनको समर्थन गरेका कारण थप सूक्ष्म परीक्षण आवश्यक रहेको सुझाव दिइएको थियो । युवाले सामाजिक सञ्जाल प्रयोग गर्ने आफ्नै अनुभवमा पनि अन्तर्दृष्टि देखाए । छोटो भिडियो हेर्नु सबैभन्दा धेरै रिपोर्ट गरिएको गतिविधि थियो । तर, केवल १६ प्रतिशतले यो आफ्नो समयको उचित सदुपयोग हो भन्ने सोचेका थिए । अस्ट्रेलियाकी ई–सुरक्षा आयुक्त जुली इनम्यान ग्रान्ट पनि बालबालिकामा सामाजिक सञ्जाल प्रतिबन्धको प्रभावबारे व्यापक मूल्यांकन गर्न प्रतिबद्ध छिन् । ई–सुरक्षा आयोगले स्ट्यानफोर्ड विश्वविद्यालयको सामाजिक सञ्जाल प्रयोगशाला (प्रमुख शैक्षिक साझेदार) र ११ सदस्यीय शैक्षिक सल्लाहकार समूहबिचको सहकार्यमा प्रतिबन्धको प्रभावबारे जाँच गर्ने लक्ष्य राखेको छ ।
सामाजिक सञ्जालमा पहुँचको आनन्द लिइसकेका बालबालिकामा तत्काल फाइदाको अपेक्षा गर्नुको सट्टा, हामी अर्को पुस्ताका बालबालिकामा बलियो प्रभाव देख्न सक्छौँ, जसका आमाबाबुले उनीहरूलाई सामाजिक सञ्जालको पहुँचमा रोक लगाएका छन् ।
(सवेयर मेलबर्न विश्वविद्यालयको किशोर स्वास्थ्यकी प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट