नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्लाई केवल बहुमतका आधारमा निर्णय लिने थलो बनाउनु उचित नहुने बताए।
दुलालले नवयुवाहरूले वर्तमान व्यवस्थाका विरुद्ध नभई देशको विद्यमान अवस्था सुधार्न संघर्ष गरेको उल्लेख गरे। उनले देशमा बढ्दो भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध युवाहरूले नागरिक भावनाको प्रतिनिधित्व गर्दै आवाज उठाएको बताए।
उनले सरकारलाई संविधानको मर्मअनुसार समाजवादउन्मुख राज्य व्यवस्था निर्माणतर्फ ध्यान दिन आग्रह गर्दै भने, 'सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्।'
यसैगरी, उनले राज्यको समय अनावश्यक परीक्षण र देखावटी गतिविधिमा खर्च भएमा युवाहरूको अपेक्षा सम्बोधन गर्न कठिन हुने चेतावनी दिए।
बैठकमा उनले सरकार तथा सत्तारुढ दलले राज्यद्वारा विभेदमा परेका वर्गसँग आममाफी मागेको कदमलाई सकारात्मक सुरुवातका रूपमा स्वागत गरे। साथै, संविधान संशोधनदेखि लिएर निर्वाचनका क्रममा जनताले उठाएका गुनासाहरूसमेत उनले सदनमा प्रस्तुत गरेका थिए।