उद्योग वाणिज्य महासंघमा बढ्यो चुनावी सरगर्मी

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्व चयन गर्ने गरी यही २९ चैतदेखि काठमाडौंमा सुरु हुने महासंघको ६०औँ वार्षिक साधारणसभा एवं निर्वाचनकेन्द्रित गतिविधि तीव्र बन्दै गएको छ । महासंघ निर्वाचन समितिले उम्मेदवारीको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । 

चुनाव प्यानलसहित दुई पक्षको प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दर्ता भएको छ । महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानअनुसार साधारणसभापछि स्वतः अध्यक्ष बन्नेछन् । अहिलेको प्रतिस्पर्धा उपाध्यक्ष र कार्यसमिति सदस्यका लागि हुनेछ । वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष भने निर्वाचित कार्यसमितिले चयन गर्नेछ । महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र सुरकृष्ण वैद्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनीहरू अहिले उम्मेदवार भने हुनुपर्दैन । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । वरिष्ठ उपाध्यक्षका आकांक्षी ढकाल र वैद्य प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । 

वैद्य प्यानलमा वस्तुगततर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला नगर उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा रहेका छन् । ढकाल प्यानलको वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र जिल्लानगर उपाध्यक्षद्वयमा उमेश डालमिया र कल्पना गैरे रहेका छन् । सञ्जीवबहादुर कोइरालाले जिल्ला नगर उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सम्मिलित उम्मेदवारीको दोस्रो सूची २६ चैतमा प्रकाशन गरिनेछ । चैत २७ मा दाबी विरोधको म्याद तोकिएको छ । २७ चैत बेलुकी उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले जानकारी दिए । 

सुझावित समाचार