थरुहट नेता रेशम चौधरीलाई पक्राउ गर्न पत्र पठाएका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्ट दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले ११ महिनाअघि दायर मुद्दामा आइतबार कसुर ठहरको फैसला गरेको हो ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले यस मुद्दामा यो फैसला गरेको हो । ‘उहाँमाथि कसुर ठहर भएको छ । २५ दिनभित्र सजाय निर्धारण हुन्छ । कहिलेका लागि सजाय निर्धारण पेसी हो त्यो भोलि मात्र थाहा हुन्छ,’ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले भने ।
विष्ट लिखतसम्बन्धी कसुरमा दोषी पाइएका हुन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीसमेतको जाहेरीले नेपाल सरकार भएको यस मुद्दामा सजाय निर्धारणका लागि पेस गर्ने आदेश भएको हो । विष्टमाथि ५ जेठमा मुद्दा दायर भएको थियो । उनले अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरेको दाबीसहित मुद्दा दर्ता भएको थियो । सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको भन्दै उनीमाथि सात वर्ष कैद तथा ७० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरी माग गरिएको थियो ।
गत १७ वैशाखमा सर्वोच्चका अधिकृत विष्टले तोकिएको जिम्मेवारीभन्दा बहिर गई आफूखुसी कारागारलाई पत्राचार गरेका थिए । जसकारण रेशम चौधरी पक्राउ परेका थिए भने सर्वोच्च अदालत नै विवादमा तानिएको थियो । अधिकार नै नभएको र पूर्णपाठसमेत नआएको विषयमा फैसला कार्यान्वयनका लागि भनी अधिकृत विष्टले प्रहरीलाई आफैँ पत्र पुर्याउन गएका थिए ।
नेता चौधरी पक्राउ परेको जानकारी आएपछि अदालतले पत्राचार गरी प्रहरीलाई नै यस विषयमा अनुसन्धान गर्न भनेको थियो । त्यसपछि चौधरीले पनि जाहेरी दिएका थिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा विष्टले कारागार कार्यालय डिल्लीबजार काठमाडौंका नाममा कैदमा राख्न पत्र पठाएका थिए । पत्रमा ‘पाशविक किसिमले’ नौजनाको हत्या गरेको ‘जघन्यभन्दा पनि तल्लोस्तरको क्रूर अपराध गरेको’ भन्दै चौधरीलाई सजाय गरिएको भनिएको थियो ।
विष्टले आफैँ लेखेको पत्रमा पूर्ण फैसला तयार नभई अपराधलाई राजनीतीकरण हुने गरी राष्ट्रपतिबाट माफी दिइएको उल्लेख गरेका थिए भने विचाराधीन मुद्दामाथि शीघ्रातिशीघ्र फैसलाद्वारा आवश्यक कारबाही पछि हुने नै भए पनि तत्काल भारती शेर्पाविरुद्ध रिगल ढकालको नजिर टेकी कैदमा राख्न पत्र लेखेका थिए ।
उक्त मुद्दामा पछि न्यायिक कारबाही हुने नै र फैसलापछि कैलाली जिल्ला अदालतबाट पुनः कैदीपुर्जी जारी हुने नै हुँदा नियमानुसारको सिधा खर्च दिई कैदमा राख्न ०८० जेठ २ को फैसलाअनुसार अनुरोध गरिएको व्यहोराको पत्र प्रहरीलाई बुझाएका थिए । पत्रअनुसार प्रहरीले कमलादीबाटै पक्राउ गरी चौधरीलाई डिल्लीबजार पुर्याएको थियो । चौधरी केही घण्टा पक्राउ परे भने सर्वोच्चले वैधानिक पत्र पठाएपछि पुनः थुनामुक्त भएका थिए ।