प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका अर्याल को हुन् ?

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा अर्यालको मात्र उम्मेदवारीको प्रस्ताव परेकाले आइतबार उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित भएसँगै अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन् ।

को हुन् अर्याल ? 
धादिङनिवासी अर्याल २१ फागुनको निर्वाचनमा काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनलाई पार्टीको दुईतिहाइ बहुमतको बलमा निर्विरोध सभामुख निर्वाचित हुने अवसर मिलेको छ । उनले विभिन्न व्यवसाय गर्दै आएका छन् । सभापति रवि लामिछानेको चिनजानका आधारमा अर्याल ७ असार ०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुँदा औपचारिक रूपमा राजनीतिमा होमिएका हुन् ।

पार्टीमा उनी लामिछानेपछि दोस्रो वरीयतामा उपसभापति थिए । सभापति लामिछाने जेल पर्दा अर्यालले कार्यवाहक भएर पार्टी सम्हालेका थिए । ०७९ मंसिरको निर्वाचनमा रास्वपाले २० सिट प्राप्त गर्दा अर्याल खस–आर्यबाट समानुपातिक सांसद बनेका थिए । उनी दुईपटक श्रममन्त्री बनेर काम गरेको अनुभव छ । 

उपसभामुखमा विपक्षी दलहरूको दाबी 
सभामुख निर्वाचित भएसँगै भावी उपसभामुखका लागि छलफल सुरु भएको छ । संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित भइसक्नुपर्ने र दुवै पद फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ । सभामुख रास्वपाबाट पुरुष भएकाले अब उपसभामुख विपक्षी दलबाट महिला हुनुपर्छ । उपसभामुखमा हालसम्म नेकपा, श्रम संस्कृति र राप्रपाले दाबी गर्दै रास्वपासँग माग गरेका छन् । तर, यस विषयमा औपचारिक छलफल भइनसकेको रास्वपाले जनाएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा अब छलफल अगाडि बढ्ने बताए । ‘छलफल बिस्तारै अगाडि बढ्छ । दलहरूले हामीलाई उपसभामुख दिनुस् । एजेन्डामा सघाउँछौँ भन्नुभएको छ । कसैलाई दिने कुरै भएको छैन । औपचारिक रूपमा पार्टीभित्र छलफल प्रवेश गरेको छैन,’ उनले भने ।

सुझावित समाचार