पतञ्जली जग्गा घोटालाका योजनाकार शालिग्राम सिंहविरुद्ध थप दुई मुद्दा दायर, एक करोड १० लाख बिगो

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

पतञ्जली जग्गा घोटाला काण्डका योजनाकार शालिग्राम सिंहविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दायर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध दुई फरक कसुरमा कुल एक करोड १० लाख बिगो कायम गरेर मुद्दा दायर गरेको हो।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आर्थिक वर्ष ०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा रकम हिनामिना गरेको अख्तियारको दाबी छ। उक्त खरिद गर्दा सिंह परिषद्का अध्यक्ष थिए। ठेकेदारसँग मिलेमतो गरेर खरिदमा हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। सिंह पतञ्जली जग्गा खरिद काण्डका योजनाकार हुन्।

पतञ्जली योगपीठका लागि काभ्रेपलाञ्चोकमा हदबन्दीभन्दा बढी जग्गा खरिद, बिक्री र सट्टाभर्ना गरेर भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्धको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ। पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले गत २२ जेठमा मुद्दा दायर गरेकामा सिंह पनि प्रतिवादी थिए। पतञ्जलीको योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र कम्पनीको मुख्य भई कामकाज गर्ने सिंहलाई अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो र १० देखि १४ वर्षसम्म कैद सजायको दाबी गरेको छ।

आइतबार अख्तियारले दायर गरेको पहिलो मुद्दामा सिंहविरुद्ध ५५ लाख दुई हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दामा परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सुडी र इसिता ट्रेडर्स र त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठक प्रतिवादी छन्।

३३ लाख ५० हजार ९८६ रुपैयाँ रकम कायम गरी आपूर्तिकर्ता भारतीय कम्पनी ‘टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन’सँग खरिद प्रक्रिया अवलम्बन गरेको अवस्थामा इसिता ट्रेडससँग ५५ लाख दुई हजार ८५४ रुपैयाँमा सम्झौता गरिएको थियो। सार्वजनिक खरिद ऐनबमोजिम स्पेसिफिकेसन, लागत अनुमान र खरिद योजनासमेत तयार नगरी खरिद गरिएको अख्तियारको दाबी छ।

इसिता ट्रेडर्ससँग पूर्वसहमतिबमोजिम दररेट माग गरेकामा भारतीय कम्पनी ‘टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन’को झुट्टा र गलत अथोराइजेसन सर्टिफिकेटसमेत संलग्न गरी दररेट पेस गरेर बोलपत्र आह्वान नै नगरी इसिता ट्रेडर्ससँगै खरिद सम्झौता गरिएको थियो। भुक्तानीको ठुलो अंश भारतीय कम्पनी ‘टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन’लाई दिई इसिता ट्रेडर्सबाट मालसामान आपूर्ति नगरी भारतीय कम्पनीबाट सामान आपूर्ति गरेर हिनामिना गरेको दाबी अख्तियारको छ।

परिषद्ले नै सोही आवमा ५० थान पोर्टेबल शौचालय खरिद गर्दा हिनामिना गरेको आरोपमा अख्तियारले अर्को मुद्दा पनि दायर गरेको छ। ५५ लाख मूल्यको पोर्टेबल शौचालय अमानतमा खरिद गर्ने निर्णय गरेको, स्पेसिफिकेसन र लागत अनुमान नै तयारी नगरेको, गलत लिखत तयार गरेकोलगायतका आरोप अख्तियारले लगाएको छ। यस मुद्दामा अख्तियारले सिंहविरुद्ध ५४ लाख ९९ हजार ९९९ रुपैयाँ बिगो दाबी गरेको छ। मुद्दामा परिषद्का तत्कालीन कार्यकारी निर्देशक ठाकुर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढुंगाना, तत्कालीन लेखा अधिकृत गिरी र इसिता ट्रेडर्स र त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठकलाई अख्तियारले प्रतिवादी कायम गरेको छ।

सुझावित समाचार