नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८६औँपटक रक्तदान गरेका छन् । उनले शनिबार हेलम्बु गाउँपालिका– ३ स्थित पाल्चोकी भगवती मन्दिरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् ।
विभिन्न जिल्ला गएर रक्तदान गर्नुको कारण युवाहरूमा मानवीय जीवन बचाउन रक्तदान गर्नुपर्छ भन्ने भावना जागृत गराउनु रहेको उनले बताए । ‘युवाहरूलाई रक्तदान गर्न प्रेरणा मिलोस् भनेर रक्तदान गर्दै आएका छौँ, तर सरकार भने दानमा दिइएको रगतमा शुल्क लिइरहेको छ । अब हामी नयाँ सरकारलाई पनि दानमा दिइएको रगत बिरामीले निःशुल्क पाउनुपर्छ भनी झकझक्याउनेछौँ,’ कर्माचार्यले भने ।
कार्यक्रममा महिला तथा पुरुष गरी १७ ले रक्तदान गरेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य धनबहादुर पाण्डेको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ ।