किन खोजिँदै छ ओलीको विकल्प ?

महाधिवेशनको प्रतिनिधि निवेदनपत्र मस्यौदामा के छ ?

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

गत ३ पुसमा ११औँ महाधिवेशनबाट भारी महतसहित अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी ओलीको तीन महिनामै एमालेभित्र विकल्प खोज्न थालिएको छ ।

जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको र त्यसले प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई ठुलो धक्का पुर्याएको ठहरसहित संस्थापन पक्षकै नेता पनि ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

यो चुनावमा एमालेले प्रत्यक्षतर्फ नौ सिट (५.५%) र समानुपातिकतर्फ १३.४३% मात्र मत प्राप्त गर्यो, जुन इतिहासकै सबैभन्दा कमजोर नतिजा भएको इतर पक्षको भनाइ छ ।

यस्तै, ओलीको शैलीकै कारण उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा एमालेका उम्मेदवारको जमानत जफत भएको दाबी पनि विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर संकलन गर्न तयार पारिएको मस्यौदामा उल्लेख छ ।

महाधिवेशनको प्रतिनिधि निवेदनपत्र मस्यौदामा के छ ? 
विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर संकलनका लागि बनाइएको मस्यौदामा निर्वाचन पराजयलाई मुख्य कारण देखाइएको छ । ‘संसदीय राजनीतिमा ०४८ देखि ०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम प्रत्यक्ष १६५ सिटमा नौ सिट (५.४५ प्रतिशत) र समानुपातिकमा १३.४३ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास गरेको अवस्था हो,’ निवेदनमा भनिएको छ, ‘राजधानी रहेको काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनुले गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ ।’ 

मस्यौदामा हस्ताक्षर भने कसैले गरेका छैनन् । तर, दुई–चार दिनभित्रै हस्क्षार अभियान नै अघि बढाएर औपचारिक रूप दिने गरी तयारी भइरहेको निवेदनपत्र तयार पार्ने जनसंगठनका नेताहरूले बताए । ‘गुटकै नेताहरूको पनि भर छैन, अहिलेलाई दबाबका लागि हाम्रो स्वतःस्फूर्त अभियान हो भन्ने नै बुझ्नुस्, यसलाई अलिकति औपचारिक रूप दिएपछि धेरै कुरा बाहिर आउँछ,’ ती नेताले भने । 

हस्ताक्षर संकलन महाधिवेशनको प्रक्रिया सुरु गर्ने पहिलो कदमका रूपमा हेरिएको छ । एमालेको विधानको धारा ७३ अनुसार बहुमत प्रतिनिधि वा दुईतिहाइ जिल्ला कमिटीको माग भएमा केन्द्रीय कमिटीले विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । ‘विशेष महाधिवेशन/अधिवेशनले महाधिवेशन/अधिवेशनका लागि यस निर्वाचनका विभिन्न धारामा तोकिएको सम्पूर्ण अधिकार र कर्तव्य पालना गर्न सक्नेछ,’ विधानको धारा ७३ (घ) मा लेखिएको छ ।

इतर पक्षको अंकगणित 
गत ३ पुसमा सम्पन्न एघारौँ महाधिवेशनमा एमाले केन्द्रीय कमिटीको १९ सदस्यीय पदाधिकारीमा दुईजना मात्र इतर प्यानलबाट निर्वाचित भएका थिए । इतरबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका थिए । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एक दर्जन केन्द्रीय सदस्यले मात्र जितेका छन् ।

See More On

सुझावित समाचार