अफलाइन सेवा दिने विदेशी हवाई कम्पनीबाट उठ्यो झन्डै दुई अर्ब भ्याट

नेपालमा उडान नगर्ने, तर टिकट बेच्ने ६ एयरलाइन्स भ्याटमा दर्ता, सबैभन्दा बढी भ्याट तिर्नेमा इमिरेट्स

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

नेपालबाट सिधै उडान सञ्चालन नगरे पनि नेपालमा टिकट बिक्री गर्ने विदेशी एयरलाइन्स कम्पनीहरूबाट सरकारले ठुलो मात्रामा मूल्य अभिवृद्धि कर (भ्याट) संकलन गर्न थालेको छ । आर्थिक वर्ष ०८०/८१ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म अफलाइन हवाई यातायात सेवा प्रदान गर्ने विदेशी एयरलाइन्सबाट कुल एक अर्ब ९० करोड ६४ लाख रुपैयाँ भ्याट संकलन भएको ठुला करदाता कार्यालयको तथ्यांकले देखाएको छ ।

सरकारले हवाई सेवामा भ्याट लाग्ने कानुनी व्यवस्था गरेपछि इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा)ले नेपालबाट काटिने हवाई टिकटमा भ्याट लाग्ने प्रणाली बनाएको थियो । तर, नेपालमा रहेका अफलाइन एयरलाइन्सले भ्याट तिर्नुपर्ने–नपर्ने विषय भने स्पष्ट भएन । यस विषयमा आयटाले समेत नेपाल सरकारसँग स्पष्टता खोजेपछि सरकारले आर्थिक ऐन, २०८० मार्फत अफलाइन सेवा दिने विदेशी एयरलाइन्सले समेत भ्याट तिर्नुपर्ने व्यवस्था गर्‍यो ।

सरकारले लागू गरेको ‘गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने अफलाइन हवाई यातायात सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि, २०८१’ अनुसार नेपालबाट उडान सुरु नगर्ने, तर नेपालमा एजेन्ट, पार्टनर एयरलाइन्स, टिकट विक्रेता वा ग्लोबल डिस्ट्रिब्युसन सिस्टममार्फत टिकट बिक्री गरी यात्रुलाई सेवा प्रदान गर्ने विदेशी एयरलाइन्सलाई अफलाइन हवाई सेवाप्रदायक मानिन्छ । यस्ता सेवाप्रदायकले नेपालमा टिकट बिक्री गरेपछि त्यसबाट हुने कारोबारमा भ्याट तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

कार्यविधिअनुसार नेपालमा एक वर्षमा ३० लाख रुपैयाँभन्दा बढी कर लाग्ने अफलाइन हवाई सेवा कारोबार गर्ने विदेशी कम्पनीले भ्याटमा दर्ता हुनुपर्नेछ । त्यस्ता कम्पनीले १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गरी सरकारलाई बुझाउनुपर्नेछ । प्रत्येक कर अवधि समाप्त भएको २५ दिनभित्र अनलाइनमार्फत कर विवरण पेस गर्नुपर्ने र सोही अवधिमा कर दाखिला गर्नुपर्ने व्यवस्था छ । तोकिएको समयभित्र विवरण नबुझाए दैनिक जरिवाना लाग्ने र कर नबुझाए ब्याज तथा थप दस्तुर लाग्ने प्रावधान पनि छ ।

कर प्रशासन ठुला करदाता कार्यालयले गर्नेछ भने कार्यालयले आवश्यक परे अफलाइन एयरलाइन्सको कारोबार परीक्षण गरी कर निर्धारण गर्न सक्नेछ । यदि कुनै कम्पनीले वास्तविक कारोबारभन्दा कम देखाएर कर दायित्व घटाएको पाइएमा कानुनअनुसार जरिवाना र थप कर निर्धारण गर्ने व्यवस्था छ । सरकारले विदेशी कम्पनीबाट हुने टिकट कारोबारलाई कर दायरामा ल्याएपछि पछिल्ला वर्षमा यस क्षेत्रबाट राजस्व संकलन उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ ।

इमिरेट्सले बुझायो पौने दुई अर्ब भ्याट
कार्यालयका अनुसार अफलाइन एयरलाइन्समध्ये सबैभन्दा बढी भ्याट इमिरेट्सबाट संकलन भएको छ । इमिरेट्सले हालसम्म कुल एक अर्ब ७४ करोड रुपैयाँभन्दा बढी भ्याट बुझाएको छ । त्यसपछि एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले करिब आठ करोड ६७ लाख रुपैयाँ, डेल्टा एयर लाइन्सले करिब चार करोड ६८ लाख रुपैयाँ र केएलएम रोयल डच एयरलाइन्सले एक करोडभन्दा बढी भ्याट बुझाएका छन् । तर, स्पाइसजेटले भने हालसम्म भ्याट तिरेको छैन । 

तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा एकैपटक कुल ४८ करोड ४७ लाख रुपैयाँ भ्याट संकलन भएको देखिन्छ । त्यसपछि आर्थिक वर्ष ०८१/८२ मा भ्याट संकलन बढेर ८५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर वृद्धि हो । 

चालू आर्थिक वर्ष ०८२/८३ को फागुनसम्म मात्रै ५६ करोड ४९ लाख रुपैयाँ भ्याट संकलन भइसकेको छ । फागुनसम्मको तथ्यांकलाई हेर्दा यो वर्ष पनि भ्याट संकलन उल्लेख्य रहने देखिन्छ । 

नेपालमा अफलाइन हवाई टिकट बिक्रीमार्फत भ्याट तिर्ने विदेशी एयरलाइन्समध्ये सबैभन्दा ठुलो करदाता इमिरेट्स देखिएको हो । तथ्यांकअनुसार इमिरेट्सले आर्थिक वर्ष ०८०/८१ मा ४८ करोड ४७ लाख भ्याट तिरेको थियो भने आव ०८१/८२ मा यो रकम बढेर ७८ करोड ५० लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष ०८२/८३ को फागुनसम्म मात्रै ४७ करोड ६५ लाख रुपैयाँ भ्याट तिरिसकेको छ । कुल भ्याट योगदान मात्र हेर्दा पनि इमिरेट्स एक्लैले एक अर्ब ७४ करोड रुपैयाँभन्दा बढी भ्याट तिरेको छ ।

त्यस्तै, केएलएम रोयल डच एयरलाइन्सको भ्याट तिर्ने क्रम भने पछिल्ला वर्षमा मात्र सुरु भएको देखिन्छ । आर्थिक वर्ष ०८१/८२ मा करिब एक करोड १२ लाख रुपैयाँ भ्याट तिरेको केएलएमले आव ०८२/८३ मा पनि आठ लाख ७५ हजार नौ सय चार रुपैयाँ भ्याट तिरेको देखिन्छ । यसले पछिल्ला वर्षमा नेपालबाट केएलएमको टिकट बिक्री बढेको वा कर दायरामा आएको देखिन्छ ।

डेल्टा एयरलाइन्सले आर्थिक वर्ष ०८१/८२ मा मात्र करिब चार करोड ६८ लाख रुपैयाँ भ्याट तिरेको देखिन्छ । यस कम्पनीको अन्य वर्षमा भ्याट उल्लेख नभएकाले टिकट बिक्री सीमित वा एक वर्षमा मात्र ठुलो कारोबार भएको हुन सक्ने देखिन्छ ।

एयर इन्डिया एक्सप्रेसको भ्याट भने उल्लेख्य रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष ०८१/८२ मा करिब ७७ लाख भ्याट तिरेको एयर इन्डिया एक्सप्रेसले आर्थिक वर्ष ०८२/८३ मा भने सात करोड ८९ लाख रुपैयाँभन्दा बढी भ्याट तिरेको छ । यसले नेपालसँग यस एयरलाइन्सको टिकट कारोबार उल्लेख्य रूपमा बढेको देखाउँछ । 

त्यस्तै, स्पाइसजेटको नाम दर्तामा देखिए पनि हालसम्म भ्याट संकलन शून्य देखिएको छ । गत २७ जेठदेखि काठमाडौं–नयाँदिल्ली उडान सञ्चालनमा आएदेखि स्पाइसजेटले अफलाइन भ्याट नतिरेको पाइएको छ । स्पाइसजेटले सातामा सातवटै दिन दुईवटा जहाज उडानको अनुमति लिएको छ । ६ वर्ष लामो समय निलम्बनमा परेको स्पाइसजेटले हालै मात्रै नेपालमा प्रत्यक्ष उडान थालेको हो । 
 

See More On

सुझावित समाचार