सुदूरपश्चिम सरकारले ६ वर्षअघि निर्माण प्रक्रिया अघि बढाएको प्रदेश गौरवका नौवटै सडक योजना अझै अधुरा छन् । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत प्रदेशका नौवटै जिल्लाका एउटा–एउटा सडकलाई प्रदेश गौरवको योजनाका रूपमा अगाडि बढाइएको थियो । तीमध्ये कुनै पनि योजना सम्पन्न भएका छैनन् ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेश गौरवका सडकका नौवटै सडकको कुल लम्बाइ ९२२ किलोमिटर (किमि) हो । तर, हालसम्म प्रदेश सरकारले १५२ किमि सडक कालोपत्रे गरेको छ । यद्यपि, प्रदेशले गौरवका घोषणा गरे पनि संघको क्षेत्राधिकारमा रहेको डोटीमा ५० किमि सडक संघीय सरकारले कालोपत्रे गरेको छ । प्रदेश सरकारले घोषणा गरेका सडक निर्माणको लागत ३७ अर्ब हो । तर, नौ सडकमा १८ वटा खण्डको ठेक्का सम्झौता भने चार अर्ब ७७ करोड हो । योमध्ये तीन अर्ब १६ करोड खर्च भइसकेको छ । भुक्तानी भने ६७ करोड मात्र भएको छ । बाँकी खण्डमा ठेक्का लागेको छैन ।
अछामलाई कैलाली र बाजुरासँग जोड्ने चिसापानी–जंगलघाट–बडीमालिका २०३ किमि दूरी सडक कमलबजार–बाँसकाँडा खण्ड (२३ किमि) मात्र कालोपत्रे भएको छ भने बाजुरामा खप्तड–मार्तडी ६५ किमि सडकको मार्तडी खण्डमा ६ किमि मात्र कालोपत्रे सकिएको छ ।
बझाङमा भने ९५ किमि लामो पातीहाल्ना–तलकोट–साइपाल–हुम्ला सडकमध्ये एक किमि पनि कालोपत्रे भएको छैन । बझाङमा २४ किमि मात्र ग्राभेल भएको छ भने सडकको ट्रयाक खोल्न पनि बाँकी छ ।
बैतडीमा सतबाँझ–श्रीभावर–हाट–दार्चुला जोड्ने ८२ किमि सडकको ६ किमि मात्र कालोपत्रे भएको छ । त्यस्तै, दार्चुलामा खलंगा–खार–देथला–परीबगर सडकको ९५ मध्ये २३ किमि मात्र कालोपत्रे भएको छ ।
डडेल्धुरामा ११५ किमिको दैजी–जोडबुडा–सलौन–चिरकट्टे–पोखरा–बझाङ सडक योजनाअन्तर्गत हालसम्म २५ किमि सडक कालोपत्रे भएको छ । १६ किमि निर्माणाधीन छ ।
सहजपुर–बोगटान–दिपायल सडक पनि अधुरै
डोटीमा दिपायल–बोगटान–सहजपुर (कैलाली) १६० किमिमध्ये दिपायल–केआइसिंह खण्डमा ४० किमि मात्र कालोपत्रे भएको छ । वासुदेवी–मटघर खण्डमा ठेक्का लागेको २०.३८ किमि सडकमध्ये साढे सात किमि कालोपत्रे हुन बाँकी छ ।
त्यस्तै, कञ्चनपुरमा बेलौरी–कलुवापुर–नाइल–बुडर ४७ किमि दूरीको सडकको १८ किमि मात्र कालोपत्रे भएको छ । सात किमि सडक निर्माणाधीन छ भने बाँकी खण्ड निर्माणको ठेक्का नै लागेको छैन ।
कैलालीमा भने ६० किमि दूरीको भजनी–छोटी भन्सार–खिमडी–ठुलीगाड सडकखण्ड प्रदेश गौरवमा राखिएको छ । तर, निर्माण गर्न बाँकी रहेको क्षेत्र सेती लोकमार्गसमेत पर्ने भएकाले सडक योजना पुनर्विचार गर्नेबारे छलफल भइरहेको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख दीपक नेगीले बताए ।
एक जिल्लालाई अर्को जिल्ला तथा ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने प्रदेश गौरवका योजना सरकारको प्राथमिकतामा नपर्दा काम सुस्त भएको हो । कतिपय खण्डमा ट्रयाक खोल्ने कामसमेत भएको छैन । आवश्यकताअनुसार बजेट विनियोजन गरेर प्रदेश गौरवका योजना अगाडि बढाउनुको साटो प्रदेशमा बजेटैपिच्छे सडकका नयाँ योजना थपिँदै आएका छन् । प्रदेश गौरवका योजनाअन्तर्गत ठेक्का भएको धेरैजसो खण्डमा ठेकेदारको लापरबाहीले पनि काम हुन सकेको छैन ।
सुदूरपश्चिम योजना आयोगका निवर्तमान उपाध्यक्ष गणेश बिकेले प्रदेश सरकारको प्राथमिकतामा नपर्नुले प्रदेश गौरवका सडकको प्रगति दयनीय रहेको बताए । तत्कालीन सरकारले केही बजेट विनियोजन गरे पनि ०७९ को निर्वाचनपछिका सरकारले प्रदेश गौरवका योजनालाई बेवास्ता गरेको उनले बताए । ‘यसबिचमा सरकार फेरबदल भइरहे । नयाँले पुराना योजनामा बजेट राखेनन् । भएका योजना सम्पन्न गर्नुको साटो सरकारैपिच्छे नयाँ योजना आए । आफ्नो क्षेत्रमा कसले कति योजना हाल्ने भन्ने होडबाजी देखियो,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल बजेट विनियोजन गर्दा प्रदेश गौरवका सडक सरकारको प्राथमिकतामा पर्न नसकेको स्वीकार गर्छन् । बजेट अभावसँगै ठेकेदारको बदमासीले पनि प्रदेश गौरवका सडकको प्रगति न्यून रहेको उनले बताए । ‘पहिलो बदमासी ठेकेदारको देखिन्छ । ठेक्का भएको खण्डमा काम नहुँदा नयाँ ठेक्का लगाउन सकिँदैन,’ उनले भने, ‘बजेट विनियोजन गर्ने सवालमा सरकारको पनि कमजोरी छ ।’
प्रदेश गौरवका सडकमा बढी बजेट दिनेभन्दा नयाँ योजना थप्ने प्रवृत्ति रहेको उनले बताए । ‘बहुवर्षीय योजनालाई बजेटमा प्राथमिकता दिनुपर्ने हो, तर पहिलेका योजनामा बढी बजेट दिनेभन्दा पनि नयाँ योजना थप्ने प्रवृत्ति छ,’ मन्त्री पालले भने, ‘हामीले पनि विनियोजन गर्ने सवालमा प्रदेश गौरवका योजना प्राथमिकतामा परेनन् । अब प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ भनेर छलफल सुरु गरेका छौँ ।’ उनले आगामी बजेटमा सडकका नयाँ योजनाभन्दा भइरहेका सडकलाई प्राथमिकता दिने बताए ।
कुन आयोजनाको अवस्था के छ?
अछामलाई कैलालीसँग जोड्ने २०३ किमि सडक, २३ किमि मात्रै कालोपत्रे
अछामलाई कैलाली र बाजुरासँग जोड्ने जंगलघाट–बडीमालिका–चिसापानी २०३ किमि सडकमध्ये कमलबजार–बाँसकाँडा खण्ड (२३ किमि) मात्र कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय, अछामका अनुसार थप साढे १२ किमि सडक कालोपत्रे तथा ३४.८ किमि कच्ची सडकमा ‘अपग्रेडिङ’को काम भइरहेको छ । अन्य खण्ड निर्माणको ठेक्का नै लागेको छैन । यो खण्ड कालोपत्रे गर्न ६९ करोड ४३ लाख रुपैयाँ लागतमा पिके निर्माण सेवासँग ०८० असारमा सम्झौता गरिएको थियो ।
०७७ जेठमै ठेक्का लागेको जंगलघाट–तुर्माखाँद–बाँसकाँडा खण्डको २३.८ किमि कच्ची सडक अपग्रेडिङको काम अझै बाँकी छ । सुरुको सम्झौताअनुसार ०७८ असारमा सम्पन्न हुनुपर्ने यो खण्डको भौतिक प्रगति अहिले ९० प्रतिशत छ । बानियाँ कन्स्ट्रक्सनसँग नौ करोढ ४७ लाखमा ठेक्का सम्झौता भएको थियो ।
गौरीटाँड–कालागाउँ–दर्ना खण्डमा पनि ११ किमि सडक अपग्रेड गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर देवी उपाध्यायले बताए । १७ करोड ४४ लाख रुपैयाँ लागतमा शनिदेव निर्माण सेवाले अपग्रेडिङको काम गरिरहेको छ । ०७९ असारमा भएको सम्झौताअनुसार ०८१ असारभित्र काम सकिनुपर्ने हो, तर अहिलेसम्म करिब ८० प्रतिशत मात्र काम पूरा भएको छ ।
इन्जिनियर उपाध्यायका अनुसार प्रदेश गौरवअन्तर्गत जयगड–माझेठाना–रामारोशन खण्डको साढे १२ किमि सडक कालोपत्रेको काम भइरहेको छ । वज्रगुरु कन्स्ट्रक्सन प्रालिले २४ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको यो खण्डको भौतिक प्रगति अहिले ७५ प्रतिशत छ । ०७६ कात्तिकमा भएको सम्झौताअनुसार ०७९ असारसम्म काम पूरा भइसक्नुपर्थ्यो ।
खप्तड–मार्तडी ६५ किमि सडक, ६ किमि मात्र कालोपत्रे
बाजुरामा प्रदेश गौरवको खप्तड–मार्तडी ६५ किमिसडकको मार्तडी खण्डमा ६ किमि मात्र कालोपत्रे भएको छ । यसअन्तर्गत भौनेरा–आटीचौर खण्डको १९.५ किमि सडक कालोपत्रेको ठेक्का भएको पूर्वाधार कार्यालय अछामले जनाएको छ । केएस–एमकेबिसी जेभीसँग ३७ करोड ८२ लाखमा ०७८ चैतमा सम्झौता भएको थियो । ०८१ भदौमा निर्माण अवधि सकिएकामा म्याद थप गरेर गत कात्तिकसम्म पुर्याइएको थियो । तर, अहिलेसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
बाजुरामा प्रदेश गौरवअन्तर्गत दोगडी–गौरीखाँद–काँडा खण्डमा ३० किमि कच्ची सडक अपग्रेडिङ भइरहेको छ । केएस–एमकेबिसी जेभीले नै ०८० चैतभित्र सक्ने गरी ०७८ चैतमा ठेक्का लिएको थियो । १७ करोड ६४ लाख रुपैयाँ लागतको यो खण्डको भौतिक प्रगति अहिले ७५ प्रतिशत छ ।
बझाङमा २४ किमि मात्र ग्राभेल, ट्रयाक पनि खोल्न बाँकी
बझाङमा प्रदेश गौरवको योजनाबाट एक किमि सडक पनि कालोपत्रे भएको छैन । सरकारले डोटीदेखि हुम्लाको सिमाना जोड्ने ९५ किमि लामो पातीहाल्ना–तलकोट–साइपाल–हुम्ला सडकलाई प्रदेश गौरवको योजनामा राखेको छ । तर, हालसम्म २४ किमि सडक ग्राभेल भएको पूर्वाधार विकास कार्यालय बझाङका सूचना अधिकारी इन्जिनियर जनक रोकायाले बताए ।
उनका अनुसार तमेल–पानकोट खण्डको १२ किमि सडक ग्राभेल गत वर्ष गरिएको थियो भने थलारा–जडाल खण्डको १२ किमिमा ग्राभेलको काम अहिले सकिएर ‘स्ट्रक्चर’को काम भइरहेको छ ।
तमेल–पानकोट खण्डको १२ किमि सडक आगामी वर्ष कालोपत्रेको ठेक्का लगाउन प्रदेश सरकारसँग ३५ करोड बजेट माग गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
तलकोट, मस्टातिर ट्रयाक खोल्ने कामसमेत नभएको पूर्वाधार विकास कार्यालय बझाङका कार्यालय प्रमुख हेमराज भट्टले बताए । सडक लम्बाइ ९५ किमि भए पनि कार्यालयले अहिले ५६ किमि मात्र हेरिरहेको जानकारी दिँदै भट्टले केही खण्ड सेती लोकमार्गमा पनि पर्ने बताए ।
बैतडीमा ८२ किमिमध्ये १४ किमि मात्र कालोपत्रे
बैतडीमा सतबाँझ–श्रीभावर–हाट–दार्चुला जोड्ने ८२ किमि सडकलाई प्रदेश गौरवको आयोजनामा राखेको छ । तर, ६ किमि मात्र कालोपत्रे भएको छ । १३ किमि सडक कालोपत्रे सम्पन्न हुने चरणमा छ । थप १४ किमि कालोपत्रे र २० किमि ‘अपग्रेडिङ’को काम जारी रहेको भौतिक पूर्वाधार विकास कार्यालय, बैतडीले जनाएको छ । अन्य खण्डमा ठेक्का लाग्न सकेको छैन ।
श्रीभावर–हाट खण्डअन्तर्गत कालोपत्रेका दुईवटा ठेक्काको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर नृपराज जोशीले बताए । साढे सात किमि कालोपत्रेको ठेक्कामा भौतिक प्रगति करिब ९० प्रतिशत छ । कालोपत्रेको काम लगभग पूरा भएर अन्य काम भइरहेको कार्यालयले जनाएको छ । १३ करोड ७७ लाख रुपैयाँ लागतमा सिएबी–ग्वाल्लेक जेभीसँग ०७७ असारमा भएको सम्झौताअनुसार ०८० असारमै काम सकिनुपर्ने भए पनि नसकिएपछि म्याद थप गरिएको थियो ।
यही खण्डको साढे पाँच किमि सडक कालोपत्रेको अर्को ठेक्काको भौतिक प्रगति करिब ९६ प्रतिशत रहेको जोशीले बताए । यो ठेक्कामा पनि कालोपत्रे सकेर सडक सुरक्षाका अन्य काम भइरहेका उनले बताए । २० करोड ८२ लाख रुपैयाँ लागतमा जगदम्बा बिल्डर्सले काम गरिरहेको छ । ०७९ असारमा भएको सम्झौताअनुसार यो ठेक्काको काम पनि ०८१ असारभित्रै सकिनुपर्ने हो ।
सतबाँझ खण्डमा २० किमि सडक अपग्रेडिङको काम भइरहेको छ । १४ करोड ७६ लाख रुपैयाँ लागतमा भइरहेको अपग्रेडिङको भौतिक प्रगति ९२ प्रतिशत पुगेको कार्यालयले जनाएको छ । जागृति–मुनाल–टक्सार जेभीसँग ०८० असारमा भएको सम्झौताअनुसार गत पुसमा सकिएको म्याद थपको प्रक्रियामा छ ।
प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–ढोल्यामोड खण्डमा १४ किमि कालोपत्रेको ठेक्कामा सम्झौता अवधि सकिने वेलासम्म भौतिक प्रगति २० प्रतिशत मात्र छ । यो खण्ड कालोपत्रे गर्न ४८ करोड ८२ लाख रुपैयाँ लागतमा सिद्धबाबा कन्स्ट्रक्सनसँग ०८० असोजमा पूर्वाधार विकास कार्यालय, बैतडीले सम्झौता गरेको थियो । २१ चैतमा सकिन लागेको निर्माण अवधि थपको प्रक्रिया अगाडि बढाइएको इन्जिनियर जोशीले बताए । यस खण्डमा ६ किमि सडक कालोपत्रे यसअघि सम्पन्न भइसकेको छ ।
दार्चुलामा ९५ मध्ये २३ किमि मात्रै कालोपत्रे
दार्चुलामा खलंगा–खार–देथला–परीबगर प्रदेश गौरवको सडक निर्माणको प्रगति पनि सुस्त छ । दार्चुलासमेत हेर्दै आएको पूर्वाधार विकास कार्यालय, बैतडीका अनुसार ९५ किमि यो सडकमध्ये शैल्यशिखर र नौगाडको बिचमा २३ किमि कालोपत्रे भएको छ । साढे आठ किमिमा कालोपत्रेको काम भइरहेको छ । बाँकी खण्डमा ठेक्का लागेको छैन ।
खलंगा–दल्लेक खण्डको निर्माणाधीन साढे आठ किमि ठेक्काको भौतिक प्रगति ४० प्रतिशत रहेको कार्यालयले जनाएको छ । क्याब–ग्वाल्लेक जेभीसँग १६ करोड ६६ लाख रुपैयाँ लागतमा ०७७ असारमा सम्झौता भएको थियो । निर्धारित अवधि ०८० असारसम्म काम पूरा नभएपछि आगामी असारसम्म म्याद थप गरिएको छ ।
सहजपुर–बोगटान–दिपायल सडक पनि अधुरै
डोटीमा प्रदेश गौरवको योजना दिपायल–बोगटान–सहजपुर (कैलाली) सडक कालोपत्रको काम पनि अधुरै छ । पूर्वाधार कार्यालय, डडेल्धुराका अनुसार १६० किमिमध्ये दिपायल–केआइसिंह खण्डमा ४० किमि मात्र कालोपत्रे भएको छ । वासुदेवी–मटघर खण्डमा ठेक्का लागेको २०.३८ किमि सडकमध्ये साढे सात किमि कालोपत्रे हुन बाँकी छ ।
६९ करोड ५५ लाख रुपैयाँ लागतमा ०८० असारमा दुनिला–मणिलेक–राजेन्द्र जेभीले ठेक्का लिएको यो खण्डको भौतिक प्रगति हालसम्म ९० प्रतिशत छ । प्रदेश गौरवको योजनाअन्तर्गत राखिएको कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किमि सडक संघीय सरकारले कालोपत्रे गरिसकेको छ । बजेट नआएकाले बाँकी खण्डको ठेक्का लाग्न नसकेको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले बताए ।
डडेल्धुरामा २५ किमि कालोपत्रे, १६ किमि निर्माणाधीन
कञ्चनपुर, डडेल्धुरा र अछामलाई जोड्ने ११५ किमिको दैजी–जोडबुडा–सलौन–चिरकट्टे–पोखरा–बझाङ सडक योजनाअन्तर्गत हालसम्म २५ किमि सडक कालोपत्रे भएको छ । १६ किमि निर्माणाधीन छ ।
पूर्वाधार विकास कार्यालय, डडेल्धुराका अनुसार ०७७ असारमै ठेक्का लागेको परशुराम नगरपालिकाअन्तर्गत १२ किमि लामो गाईबाधे–लिप्ना खण्ड अझै कालोपत्रे भएको छैन । शर्मा–राजेन्द्र जेभीले २१ करोड ३६ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यो खण्डको प्रगति अहिले ६५ प्रतिशत पुगेको छ ।
पोखरा–बेलापुर खण्डको चार किमि सडक कालोपत्रे गर्न ०८० असारमा ठेक्का सम्झौता भएकोमा हालसम्म ९५ प्रतिशत काम भएको छ । पूर्वाधार कार्यालयले दुनिला–मणिलेख–सिद्धनाथ जेभीसँग ०८० असारमा यो चैतभित्र सक्ने गरी १४ करोड ६० लाखमा सम्झौता गरेको थियो ।
प्रदेश गौरवको योजनाअन्तर्गत अमरगढी खण्डमा साढे सात किमि सडक निर्माणले पनि गति लिन सकेको छैन । २९ महिनाभित्र कालोपत्रे गरिसक्ने कबोलसहित शनिदेव–साजेन्द्रेश्वर जेभीले ०८० असारमा २२ करोड ८३ लाखमा ठेक्का लिएकोमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत मात्र छ ।
अमरगडी–आलीताल–परशुराम खण्डको ४२ किमि कच्ची सडक राधाकृष्ण ब्रदर्स कन्स्ट्रक्सनले अपग्रेड गरिरहेको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख रावलले बताए । ३८ करोड ८७ लाख रुपैयाँ लागतको यो ठेक्काको म्याद आगामी असारमा सकिँदै छ भने भौतिक प्रगति ८५ प्रतिशत छ । प्रदेश गौरवका सडक भनिए पनि आवश्यकताअनुसार बजेट नआउने गरेको उनले बताए । ‘ठेक्का लागेको ठाउँमा चाहिनेजति बजेट आउँदैन । आएको बजेटमा पनि ठेकेदारले काम नगर्दा प्रदेश गौरवको योजना निर्माणमा ढिलाइ भएको हो,’ रावलले भने ।
डडेल्धुरामा प्रदेश गौरवको योजनाअन्तर्गत दैजी–लिप्ना खण्डको १७ किमि सडक कञ्चनपुरमा पर्छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार प्रदेश गौरवको योजना घोषणा हुनुअघि ०७४ मै ठेक्का लागेकोमध्ये नौ किमि कालोपत्रे भइसकेको छ भने ६ पटक म्याद थप गर्दा पनि चार किमि कालोपत्रे गर्न अझै बाँकी छ । निर्माण कम्पनी नागार्जुन कन्स्ट्रक्सनका सञ्चालकको मृत्यु भएपछि अलपत्र परेको यो खण्डमा ठेक्का तोड्ने कार्यालयको तयारी छ ।
कञ्चनपुरमा ४७ मध्ये १८ किमि मात्र कालोपत्रे
कञ्चनपुरमा बेलौरी–कलुवापुर–नाइल–बुडर सडकलाई ०७७ मा प्रदेश गौरव योजनामा अगाडि बढाएको थियो । भीमदत्त राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत हेरिएको करिब ४७ किमि दूरीको यो सडकमध्ये हालसम्म १८ किमि कालोपत्रे भएको छ । सात किमि सडक निर्माणाधीन छ भने बाँकी खण्ड निर्माणको ठेक्का नै लागेको छैन ।
बेलौरीदेखि कलुवापुर खण्डमा १८ किमि सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदम मडैले बताए । यही खण्डमा दुई र कलुवापुर–नाइल खण्डमा ६ किमि सडक कालोपत्रेको काम भइरहेको उनले बताए । ०७७ साउनमा सन्तोषी–थेगिम जेभीसँग ११ करोड ६३ लाखमा सम्झौता भएकोमा हालसम्म ६० प्रतिशत भौतिक प्रगति रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कैलालीको आयोजना होल्ड
६० किमि दूरीको भजनी–छोटी भन्सार–खिमडी–ठुलीगाड सडक आयोजना होल्ड भएको छ । भजनीदेखि बौनियासम्म यसअघि नै कालोपत्रे छ । बौनियादेखि उत्तर तीन किमि सडक गत वर्ष कालोपत्रे गरिएको छ । तर, त्यहाँबाट ठुलीगाडसम्म सेती लोकमार्गसमेत पर्ने भएकाले कैलालीमा प्रदेश गौरवको सडक योजना पुनर्विचार गर्नेबारे छलफल भइरहेको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख दीपक नेगीले बताए ।