साताको बजार : सुन र सेयर वृद्धि, डलर कमजोर

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

यो साता नेपाली बजारमा सुनचाँदीकोको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ रहेकोमा साताभर उतारचढाव हुँदै शुक्रबारसम्म आइपुग्दा प्रतितोला दुई लाख ९४ हजार कायम भयो । शुक्रबारको भाउ आइतबारको तुलनामा प्रतितोलामा आठ हजार रुपैयाँ बढी हो ।

भूराजनीतिक तनाव बढ्दै जानु, इजरायल–अमेरिका र इरान युद्धले हर्मुज जलक्षेत्र प्रभावित रहनु, क्रुड आयलको भाउ उच्च रूपमा बढ्नु, डलर कमजोर बन्नु, मौद्रिक नीतिलाई सहज बनाउने उद्देश्यले फेडेरल बैंकले ब्याजदर कटौती गर्ने सम्भावनाले गर्दा सुनचाँदीको मूल्यमा उतारचढाव आएको विश्लेषकको भनाइ छ ।

यो साता चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला चार हजार सात सय २० रुपैयाँ कायम रहेकोमा उतारचढाव हुँदै शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रुपैयाँ कायम भएको छ । समग्रमा साताभर चाँदी तोलामा प्रतितोला एक सय १० रुपैयाँ बढेको हो ।

त्यसैगरी, साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक सय ६७.९८ अंकले घटेको छ । निर्वाचनयता वृद्धि भएको बजारमा नाफा बुक गर्ने लहरसँगै नयाँ सरकारको सेयर बजारमैत्री नीतिको पर्खाइका कारण सेयर बजारमा गिरावट आएको हो । 

गत साता बिहीबार २९५०.१६ विन्दुमा रहेको बजार परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा २७८२.१८ विन्दुमा पुगेको हो । सर्वाधिक सेयर कारोबार सोमबार १४ अर्ब ७८ करोड रुपैयाँको भएको थियो । सबैभन्दा कम कारोबार बिहीबार आठ अर्ब ६९ करोडमा सीमित भएको थियो । बजार पुँजीकरण ४७ खर्ब ३० अर्ब कायम भएको छ ।

एक डलरबराबर १४८.६७ रुपैयाँ 
नेपाली बजारमा अमेरिकी डलरको विनिमय दर साताभर स्थिरजस्तै देखिए पनि साताको अन्तिम दिन शुक्रबार भने उल्लेख्य रूपमा घटेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार यो साता डलर सुरुमा बढे पनि केही दिन स्थिर रहेर अन्तिम दिन घटेको हो ।

तथ्यांकअनुसार गत साता शुक्रबार अमेरिकी डलरको खरिद दर एक सय ५० रुपैयाँ सात पैसा र बिक्री दर एक सय ५० रुपैयाँ ६७ पैसा थियो । त्यसपछि शनिबारदेखि सोमबारसम्म डलरको मूल्य बढेर खरिद एक सय ५१ रुपैयाँ ४१ पैसा र बिक्री एक सय ५२ रुपैयाँ एक पैसा पुगेको थियो ।

मंगलबार, बुधबार र बिहीबार डलर सामान्य बढेर खरिद दर एक सय ५१ रुपैयाँ ४४ पैसा र बिक्री दर एक सय ५२ रुपैयाँ चार पैसा कायम रह्यो । तर, शुक्रबारमा भने डलरको मूल्य घटेर खरिद दर एक सय ४८ रुपैयाँ ६७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २७ पैसामा झरेको छ । डलरको विनिमय दर भारतीय रुपैयाँसँग जोडिएकाले भारतीय मुद्रा बलियो हुँदा नेपालमा डलर सस्तो हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा भारतीय रुपैयाँ बलियो भएकाले यस्तो उतारचढाव देखिने गर्छ । डलर घट्दा विदेशबाट सामान आयात गर्ने व्यवसायी, विदेशमा पढ्ने विद्यार्थी, विदेश भ्रमण गर्ने नेपालीलाई फाइदा हुने गर्छ । तर, रेमिट्यान्स पठाउने कामदार र निर्यातकर्तालाई भने घाटा हुन सक्छ ।
 

See More On

सुझावित समाचार