मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम चैत २२ गते आइतबारदेखि पुनः सुरु हुने भएको छ। गत मंसिर ६ देखि स्थगन गरिएको नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको प्रि–इनरोलमेन्ट प्रणालीमार्फत अनलाइन फर्म भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयहरूमा आवेदक स्वयं उपस्थित हुनुपर्नेछ।
साथै, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने (नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार सच्याउने, आदि), दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागिसमेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने आयोगले जनाएको छ।
