‘सम्झौतामा नआए तेहरानका विद्युतीय प्लान्ट ध्वस्त पार्छौँ’

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान र वासिंटनबिच चाँडै सम्झौता नभएमा इरानको विद्युत् उत्पादन गर्ने प्लान्ट र खार्ग टापुलाई ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ धम्की दिएका छन् । राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत सोमबारयस्तो चेतावनी दिएका हुन् । उनले तेल प्रवाह हुने अन्तर्राष्ट्रिय जलमार्ग हर्मुजलाई तत्काल खोल्न पनि इरानसँग माग गरेका छन् ।

ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिका इरानमा हाम्रो सैन्य अप्रेसन समाप्त गर्न नयाँ ढंगले गम्भीर छलफलमा छ । छलफलमा ठुलो प्रगति भएको छ । तर, यदि कुनै कारणले चाँडै सम्झौता भएन भने र हर्मुज जलमार्ग व्यापारका लागि तुरुन्तै खुला भएन भने हामी इरानमा सबै विद्युत् उत्पादन प्लान्ट, तेलका कुवा र खार्ग टापुलाई विस्फोट गरेर पूर्ण रूपमा ध्वस्त पारिदिन्छौँ, जुन हामीले जानाजानी अहिलेसम्म छोएका छैनौँ ।’

तेहरानले वासिंटनसँगको कुनै पनि आधिकारिक वार्तालाई अस्वीकार गरेको छ । यद्यपि, इरानको तस्निम समाचार एजेन्सीका अनुसार उसले अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको पन्ध्रबुँदे योजनाको जवाफ इस्लामाबादमार्फत पठाएको छ । अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको तेहरानले प्रस्ट पारेको छ ।

यसैबिच संयुक्त राज्य अमेरिका र इजरायलले सोमबार पनि इरानमाथि आक्रमण जारी राखेका छन् । जवाफमा इरानले खाडी अरब राज्यविरुद्धको आफ्नो अभियानको एक अंशको रूपमा कुवेतमा रहेको एक प्रमुख पानी र विद्युतीय प्लान्टमा आक्रमण गरेको छ । त्यस्तै,  उत्तरी इजरायलमा रहेको एक तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको छ ।  इरानले सम्मानको संकेतको रूपमा सोमबारदेखि २० वटा तेल ट्यांकरलाई हर्मुजबाट जान अनुमति दिएको दाबी गरेको छ ।

See More On

सुझावित समाचार