एमालेकी प्रदेश सांसद रेखा शर्मा पक्राउ

सोमबार, १५ चैत, २०८२
डिजिटल संस्करण

एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई घरेलु श्रमिक बनाएर राखेको र कुटपिट गरेको कसुरमा उनलाई प्रहरीले आइतबार बेलुका बालुवाटारस्थित घरबाटै पक्राउ गरेको हो । 

बालबालिकासम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। 

हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनीविरुद्ध महानगरले उजुरी दिएको थियो। तर, तत्कालीन सरकारको दबाबमा उनलाई मुद्दा नचलाउने उजुरी भएको थियो। 

के हो घटना ? 
बालुवाटारस्थित एक घरमा घरेलु कामदारको रूपमा बस्दै आएकी बालिकको उजुरीमा शर्मामाथि दुई वर्षअघि नै महानगरपालिकाले छानबिन गरेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले  १४ जेठ ०८१ मा उद्धार गरी सामाजिक संस्थामा पठायो। 

दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने र कुटपिटसमेत गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो ।  जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन् । सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउन ०८१ मा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले सरकारको दबाबमा अनुसन्धानमा चासो दिएन । त्यसको बालेनले फेसबुकमार्फत नै सरकारको चर्काे आलोचना गरेका थिए ।  

 उद्धारपछि बालिकाका बुबा छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दियो । सोहीअनुसार बालिका हाल महानगरको संरक्षणमा एक संस्थामा बसेर पढ्दै आएकी छिन् । 

 काठमाडौं महानगरपालिकाले परिवारबाहिर आफन्त तथा अन्य व्यक्तिको घरमा बसेका बालबालिकामाथि अध्ययन गर्दा बाल श्रमशोषणको घटना पत्ता लागेको हो । त्यसबेला अरूको घरमा बसेर सामुदायिक विद्यालयमा पढ्ने २५५ जना विद्यार्थीलाई फर्म भर्न लगाएर अध्ययन भएको थियो । जसमध्ये २९ जनाले आफूले गम्भीर प्रकृतिको हिंसा भोग्दै आएको बताएका थिए । तीमध्ये महानगरपालिकाले २० जनाको उद्धार गरिसकेको छ । नेता, प्रहरी, प्राध्यापकका घरबाट बालबालिकाको उद्धार भएको थियो । त्यसवेला अन्य व्यक्तिविरुद्ध पनि प्रहरीमा जाहेरी परेर कारबाही भएको थियो । तर, शर्मा भने पहुँचको आधारमा जोगिएकी थिइन्। अहिले रास्वपाको सरकार बनेलगत्तै पक्राउ परेकी हुन्। 
 

सुझावित समाचार