पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा शनिबार एमालेले काठमाडौंसहित देशैभर प्रदर्शन गरेको छ । ओलीलाई बिहान ६ बजे भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ गरेलगत्तै सडकमा ओर्लिएको एमालेले सबैतिर प्रतिवादसहितको प्रदर्शन गरेको छ ।
ओलीलाई पक्राउ गरिएलगत्तै एमाले काठमाडौंले चावहिलमा बिहान ८ बजे नै प्रदर्शन सुरु गरेको थियो । वर्षाका बाबजुद पनि करिब एक घण्टा प्रदर्शन सकिएलगत्तै पार्टी कार्यालय च्यासलपरिसर र आसपास क्षेत्रमा भेला भएका एमाले कार्यकर्ताले आक्रामक प्रदर्शन गरेका थिए ।
कार्यालयपरिसरमा आक्रोशित बनेका एमाले कार्यकर्ताले युट्युबर सञ्चारकर्मीहरूलाई केहीबेर बाहिर निकालेका थिए । एकजना युट्युबर सञ्चारकर्मीले नेता लालबाबु पण्डितलाई सोधेको प्रश्नलाई लिएर आक्रोशित कार्यकर्ताले अपमानजनक व्यवहार गर्न थालेपछि केहीबेर सञ्चारकर्मी टोलीसँग झोक्काझोक्की पनि परेको थियो ।
त्यसको केहीबेरपछि एमालेका कार्यकर्ताहरूले च्यासलस्थित बागमती नदी करिडोर ठप्प पारेर सडकमा टायर बाली प्रदर्शन गरेका थिए । त्यसक्रममा केहीबेर प्रहरीसँग झडप भएको थियो । त्यस्तै, युवा–विद्यार्थीको टोलीले प्रदर्शनीमार्गको भृकुटीमण्डप सडक एक घण्टाभन्दा बढी समय अवरोध गरी प्रदर्शन गरेका थिए ।
शनिबार अपराह्न ३ बजे जनवर्गीय संगठनले माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रसम्म आक्रामक नारा लगाउँदै प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीहरूले केही निजी गाडीहरूमाथि तोडफोड गरेका थिए भने प्रदर्शनस्थलमा आफूहरूमाथि अपमान गर्न खोजिएको भन्दै एक युवामाथि कुटपिटसमेत गरेका थिए ।
एमाले कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत मागेका थिए । त्यस्तै, उनीहरूले २४ भदौमा भएको विध्वंशको बदला विध्वंशबाटै लिने चेतावनी दिँदै एक दर्जन स्थानमा टायर बाली प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरूले सडक डिभाइडर तोडफोड गरेका थिए ।
आन्दोलित एउटा समूह सडक विभाग हुँदै सिंहदरबार प्रवेश गर्न खोज्दा झडप भएपछि प्रहरीले केही थान अश्रुग्याससमेत प्रहार गरेको थियो । त्यस्तै, प्रदर्शनकारीलाई तितरवितर बनाउन लाठीचार्जसमेत भएको थियो । त्यसक्रममा एमाले कार्यकर्ता युवराज ओलीको टाउकोमा प्रहार भएको लाठीले घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएको राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बताए ।
यस्तै, एमालेले आइतबार पनि देशैभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार पार्टीका जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाउने र आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग संवाद र समन्वय गरी विरोधका थप कार्यक्रम तय गर्ने निर्णय भएको प्रचार संयोजक मीनबहादुर शाहीले बताए ।
सरकारले प्रतिशोध साधेर दमनकारी बाटोमा लागेको आरोप, नेपालगन्जमा गृहमन्त्री गुरुङको पुत्ला दहन
गत २३ र २४ भदौको जेन–जी आन्दोलन दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि एमाले नेता, कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । एमाले केन्द्रको सर्कुलरअनुसार देशका विभिन्न भागमा प्रदर्शन भएको छ । ओली र लेखक पक्राउविरुद्ध पोखरा, नेपालगन्ज, हेटौँडा, धनगढी, कञ्चनपुर, झापा, बुटवललगायतका स्थानमा प्रदर्शन भएको छ ।
ओलीको गिरफ्तारीविरुद्ध बुटवलमा प्रदर्शन भएको छ । बुटवलको मिलनचोकमा एमाले कार्यकर्ता ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका थिए । प्रदर्शनमा एमाले नेता कार्यकर्ता तथा जनसंगठनका कार्यकर्ताको सहभागिता थियो । एमालेको प्रदर्शनलाई लक्षित गर्दै मिलनचोक क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । ओली पक्राउको एमाले रुपन्देही जिल्ला कमिटीले विरोध गरेको छ । जिल्ला अध्यक्ष यज्ञ गैरेले विज्ञप्ति जारी गर्दै ओलीको गिरफ्तारीको निन्दा गरेका छन् ।
यस्तै, एमाले बाँकेले नेपालगन्जमा प्रदर्शनसहित गृहमन्त्री सुधन गुरुङको पुत्ला दहन गरेको छ । एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन बिपी चोकमा पुगेर गृहमन्त्री गुरुङको पुत्ला दहन गरिएको थियो । पुत्ला दहन र टायर बालेर प्रदर्शन गरेपछि बिपी चोक केहीबेर तनावग्रस्त बनेको थियो । पुत्ला दहनमा प्रहरीले अवरोध गर्न थालेपछि एमालेका नेता, कार्यकर्ता प्रतिकारमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले रोक्न खोजे पनि प्रतिकारमा उत्रिएका प्रदर्शनकारीले सफल हुन नदिएको एमाले बाँके अध्यक्ष निरक गुरुङले बताए । उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रतिकारमा उत्रिएको बताए । ‘शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेका थियौँ, प्रहरीले प्रदर्शन बिथोल्न खोज्दा स्थिति तनावग्रस्त बन्न पुग्यो,’ उनले भने । कोणसभामा एमालेको भ्रातृ संगठन युवा संघ, बाँके सचिव सुनील रसाइलीले गोली खान तयार रहेको चेतावनी दिए । प्रहरीतर्फ लक्षित गर्दै उनले भने, ‘हिम्मत छ भने लाठी होइन गोली ठोक्नुस् । हामी गोली खान तयार छौँ ।’
यसैगरी, ओलीको रिहाइको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । एमाले जिल्ला जनसंगठन समन्वय संयन्त्र, कास्कीको आयोजनामा गिरफ्तारीको विरोधमा जनप्रदर्शन गरिएको हो । एमाले जिल्ला पार्टी कार्यालयबाट निकालिएको प्रदर्शन कार्यक्रम पोखराको पृथ्वीचोकमा पुगेर सम्पन्न भएको थियो । ओली र लेखकको प्रतिशोधपूर्ण पूर्वाग्रही एवं गैरकानुनी गिरफ्तारी भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र सरकारविरुद्ध नाराबाजीसँगै कार्की आयोगको प्रतिवेदन मान्दैनौँ, पार्टी अध्यक्ष ओलीलाई विनासर्त तत्काल रिहाइ गरजस्ता नारा लगाइएको थियो । सहभागीहरूले पृथ्वीचोकमा कार्की आयोगको प्रतिवेदनसमेत जलाएका थिए ।
एमाले मकवानपुरले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउविरुद्ध शनिबार दिउँसो विरोध र्याली आयोजना गरेको छ । वर्तमान सरकारले प्रतिशोध साधेर ओली र लेखकलाई पक्राउ गरेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्ताहरूले उनीहरूको तत्काल रिहाइको माग गरेका छन् । प्रदर्शनकारीहरूले २३ र २४ भदौको ‘जेन–जी’ आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै पूर्वाग्रहपूर्ण ढंगले गिरफ्तारी गरिएको आरोप लगाए ।
सहभागीहरूले विनासर्त दुवै नेतालाई रिहा गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामासमेत माग गरेका थिए । र्यालीपछिको सभामा एमाले मकवानपुरका जिल्ला नेता राजेश नगरकोटीले ओली र लेखकको गिरफ्तारीलाई गैरकानुनी र प्रतिशोधपूर्ण कदम भएको बताए । उनले यस्तो कदमले कानुनी राज्यको उपहास गर्नुका साथै मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिए । नगरकोटीले राजनीतिक असहमतिलाई दमनमार्फत समाधान खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत हुने उल्लेख गर्दै विधि र प्रक्रियाअनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।
यस्तै, एमाले ताप्लेजुङले ओली र लेखकलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । जिल्ला कार्यालय ताप्लेजुङद्वारा जारी विज्ञप्तिमा सरकारको कदमलाई ‘प्रतिशोधपूर्ण, असंवैधानिक र लोकतन्त्रविरोधी’ कार्यको संज्ञा दिइएको छ । विज्ञप्तिमा जेन–जी आन्दोलनलाई आधार बनाएर गठित सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा एमाले नेतृत्वलाई लक्षित गरेको आरोप लगाइएको छ । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूले जारी गरेको विज्ञप्तिमा ओली पक्राउको घटनालाई कम्युनिष्ट आन्दोलनमाथिको आक्रमण र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरिएको छ । साथै, यस्ता गतिविधि बन्द नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
यसैगरी, एमाले धनकुटाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भन्दै आपत्ति जनाएको छ । एमाले धनकुटाका अध्यक्ष शिव आङला लिम्बूद्वारा शनिबार जारी विज्ञप्तिमा मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने काम भएको जनाइएको छ । २३ र २४ भदौको आन्दोलनलाई योजनाबद्ध र संगठित रूपमा हाइज्याक गरी सरकार र संसद् विघटन गरी गैरसंवैधानिक बाटोबाट बनेको सरकारले असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा अहिलेको सरकारले मुलुकको लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार र आक्रमण गर्न सुरु गरेको एमालेले आरोप लगाएको छ । पार्टीका अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्नु सिंगो कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमाथिको नांगो प्रहार र दमन सुरु गरेको जनाइएको छ ।
बुटवलमा विष्णु घिमिरे, बाँकेमा विश्वराज पछल्डङ्ग्या, हेटौँडामा पोष्टराज अधिकारी, कास्कीमा रोहितराज पराजुली, ताप्लेजुङमा केशवप्रसाद भट्टराई