मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

रविको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, सुनुवाइ पर्सिलाई सर्यो

रास्वपा सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेका रिटमा मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ नसकिएपछि चैत १२ गते बिहीबारलाई पेसी तोकिएको छ।

लामिछानेलगायत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाउँदा पीडितहरूले न्याय पाउने बाटो बन्द हुने भन्दै महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा तीन रिट परेका छन्।

नेताको घरमा जलेकाे पैसासहित सबै काण्डको छानबिन हुनुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरूको घरमा भेटिएको जलेको पैसाबारे छलफल हुनुपर्ने बताएका छन्। मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन्।

गिरिबन्धु, ललितानिवास, वाइडबडीजस्ता विभिन्न काण्डहरू सार्वजनिक खपतको विषय मात्रै बनेकोमा थापाले असन्तुष्टि राखे । यस्ता सबैखाले काण्डको कानुनसम्मत ढंगले अनुसन्धान गरेर दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने उनले प्रस्ट पारे।

विराटनगरका खोलामा दिसापिसाब फाल्ने तीन ट्यांकर नियन्त्रणमा

खोलामा शौचालयको दिसापिसाब फाल्ने तीनवटा ट्यांकरलाई विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो विराटनगर– ६ स्थित केसलिया खोलामाा शौचालयको फोहोर  फालिरहेको अवस्थामा महानगर प्रहरीले को.१त ३८८३, को.१त ९४०२ र को.२त ४३७० नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो। विराटनगर महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पक्राउ गरिएका ट्यांकरहरूलाई फोहोरमैला निर्देशिकाअनुसार कारबाही गरिनेछ।

यस्तो छ कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित कार्यतालिका

नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन्।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले कार्यतालिका प्रस्ताव गरेका हुन्।

रामेछापको दोरम्बामा जेठानले गरे मुक्का हानेर ज्वाइँको हत्या

एक–आपसमा घरायसी विवाद बढ्दै जाँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ४, गौश्वारामा जेठानले आफ्नै ज्वाइँलाई मुक्का प्रहार गरी हत्या गरेका छन् ।

घरायसी विवादका कारण अन्दाजी ६३ वर्षीय वीरबहादुर तामाङले उनका ज्वाइँ अन्दाजी ६० वर्षीय प्रेमबहादुर तामाङलाई मुक्का हानेर मगंलबार बिहान हत्या गरेका थिए । ससुराली घर आएका जेठानले आफ्नै ज्वाइँको हत्या गरेर फरार भएपछि पीडित परिवारका सदस्यले इलाका प्रहरी कार्यालय टोकरपुरमा खबर गरेका थिए । 

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेले अब तारेख लिन नपर्ने

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने अब कास्की जिल्ला अदालतमा तारेख लिन आउन नपर्ने भएको छ । 

कास्की जिल्ला अदालतको आदेशअनुसार २५ पुस ०८१ मा ६५ लाख धरौटी बुझाएर धरौटी तारेखमामा छुटेका लामिछानेले त्यसपछि व्यक्तिगत रूपमा अदालतमा नियमित तारेख धाइरहेका थिए। अदालतको मंगलबारको आदेशसँगै प्रत्येक महिनामा कम्तीमा एकपटक अदालतमा आफैँ उपस्थित हुनुपर्ने अवस्था रहेकोमा लामिछानेलाई अब त्यो भने नपर्ने भएको छ । 

बागलुङकाे ऐतिहासिक चैत्राष्टमी मेला सुरु

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला मंगलबारदेखि सुरु भएको छ। कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुरु मेला आगामी शनिबारसम्म सञ्चालन हुनेछ।

यस क्षेत्रको परम्परागत संस्कृति झल्कने मेलाको रूपमा रहेको चैत्राष्टमी मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए। पोखरेलले चैत्राष्टमी मेलाले स्थानीय उत्पादनको बजारीकरण र धार्मिक पर्यटक भित्र्याउन सघाएको बताए। उनले यस क्षेत्रको छुट्टै इतिहास बोकेको मेला भएको हुँदा परम्परा संस्कृतिलाई गुठी संस्थानले धान्दै आएका बताए।

लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना

बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न स्थानमा संयुक्त राष्ट्रसंघको सहयोगमा पर्यटक सूचना बोर्ड राखिएको छ। सूचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रूपमा उद्घाटन गरे।

लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरूलाई लुम्बिनीको इतिहास र महत्त्वबारे जानकारी दिने उद्देश्यले सूचना बोर्ड राखिएको विकास कोषले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ। बैठकमा आज मंगलबार  २८ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। बैठक भोलि बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

पार्टी सभापति गगनकुमार थापाले आफ्नो मन्तव्य राख्दै सुरु गरेको आजको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव राखेका थिए।

स्थानीयको पहलमा धादिङको पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल बन्दै

धादिङको नीलकण्ठ नगरपालिकाको पहरेभिर कोत्रेस्थित थोपल खोलामा स्थानीयवासीको पहलमा पुल निर्माण सुरु गरिएको छ। लामो समयदेखि पुल निर्माणको माग गरिए पनि सम्बन्धित निकायले नगरेपछि स्थानीयले आफैँ रकम संकलन गरी वडा नम्बर ३ र १२ जोड्ने पुल निर्माण थालेका हुन्।

नगरपालिकासहित अन्य सरोकारवाला निकायसँग पुल निर्माण गर्न पटक–पटक माग गरिए पनि अहिलेसम्म कुनै योजना परेको छैन। तर, आवतजावतमा अति नै समस्या भएपछि सहयोग जुटाएर पुल बनाउन थालेको स्थानीय विष्णु श्रेष्ठले बताए। ‘निर्माण भइरहेको पुलका लागि हाल जग तथा मेसिनरी पर्खाल लगाउने काम भइरहेको छ। दुवैतर्फ जग बसाल्ने, खोलाको बिच भागमा पिल्लर राख्ने र माथि फलामको पाता राख्ने तयारी गरिएको छ,’ उनले भने।

सुझावित समाचार